पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ बजारमा पक्की नाली सहित सडक कालोपत्रे भएको छ। हिउँदमा धुलो र वर्षातमा हिलोका कारण सास्ती भोग्दै आएका दरबाङको भित्री चोकमा समेत कालोपत्रे भएसँगै चिटिक्क देखिएका छन् । संघीय सरकारको समपूरक अनुदानमा मालिका गाउँपालिकाको लागत साझेदारीमा दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउने कार्य अन्तिम चरणमा पुगेको छ।

एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा एक करोड २६ लाख ८२ हजार रुपैयाँमा सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो ।
दरबाङ बजारका मुख्य, सहायक र भित्री गल्लीमा कालोपत्रे र पक्की संरचना,सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ग्राभेल, बेस र सबबेस राखेर बिटुमिन र चिप्स बिछ्याएर काम भइरहेको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बेनीअनलाइनलाई बताउनुभयो । ‘बजारलाई सौन्दर्यकरण गर्ने कार्य अन्तिम चरणमा छ, सडकमा सुधार भएपछि स्थानीय र सर्वसाधारणलाई सहज भएको छ’ अध्यक्ष गर्बुजाले भन्नुभयो ।

दरवाङको तल्लो उपल्लो बजार क्षेत्र, हुलाकचोक र तल्लो बजार, धौलागिरि चोक र स्याउलीबजार लगायतका क्षेत्रमा कामा भइरहेको इन्जिनियर दिपक सापकोटाले बताउनुभयो । करिब एक किलोमिटर कालोपत्रे सहितको कार्य भइरहेको छ। सडक विस्तार र कालोपत्र भएपछि सवारीसाधन आवतजावत सहज हुने स्थानीय ब्यवसायी नारायण पौडेलले बताउनुभयो ।

पौडेलले भन्नुभयो ‘सडकको ट्याक खुलेको १८ वर्षपछि कालोपत्र भएको छ, हिलो र धुलोबाट मुक्ति मिलेको छ’ पौडेलले भन्नुभयो । दरवाङमा विसं २०६४ मा सडक पुगेको थियो । सडक पुगेको करिब १९ वर्षपछि कालोपत्र हुन लागेकोमा स्थानीयवासी उत्साही भएका छन् । गाउँपालिकाले सडक विस्तारका लागि मादपण्ड विपरितका घरको पेटी र टहरा हटाउन गरेको अनुरोधलाई स्थानीय बासिन्दाले स्वसफूर्त रूपमा भत्काए थिए।















