म्याग्दी उद्योग वाणिज्य संघको पहलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पीडित परिवारलाई ६ लाख रुपैयाँ बराबरको राहत साम्रागी सहयोग गरिएको छ। गत असोज ८ गतेदेखि १२ गतेसम्म परेको अबिरल बर्षाबाट विस्थापित परिवारलाई लक्षित गरी गाउँपालिकामार्फत चामल, खाद्यान्न, सोलार प्यानल र त्रिपाललगायत सामग्री उपलब्ध गराइएको हो ।

बाढीपहिरोपीडितका लागि २५ किलोका ४० बोरा चामल, ४० पोका राहत प्याकेट, ४० कार्टुन चाउचाउ, दुई कार्टुन सनफ्लावर तेल, ३० सेट सोलार प्यानल र ३६ थान त्रिपाल सहयोग गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा राहत सामग्री नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका श्रेष्ठको नेतृत्वमा गाउँपालिका अध्यक्ष भारतकुमार पुनलाई हस्तान्तरण गरिएको महासचिव नारायण जिसीले जानकारी दिनुभयो । अन्य राहत साम्रागी जिल्लाका विभिन्न स्थानमा वितरण गर्ने कार्यक्रम रहेको छ ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, म्याग्दी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उत्तमकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लिलाराम गौतम र संघको अन्नपूर्ण बजार इकाइकी अध्यक्ष सुनिता गिरीसहित स्थानीय ब्यवसायीको उपस्थिति रहेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गाउँपालिकामा ५४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १२९ घरमा आंशिक क्षति पुगेको छ । गाउँपालिकाले राहत संकलन तथा पुर्नबासको अभियान समेत सञ्चालन गरेको छ।









