हरिकृष्ण गौतम
समाचारमा प्रकाशित तस्वीर पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिने बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो (रणवाङ–दरबाङ) खण्डको तोलाबाङ–दरबाङ सडकको हो। म्याग्दी नदीले बालौटेमा ८० देखि १०० मिटर सडक बगाएको छ भने बाढीपहिरोले सडक छियाछिया बनाएको छ। सडक अलपत्र पारेर सम्पर्कविहीन भएका ठेकेदार भने सात वर्ष बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्।
बेनी–दरवाङ सडकको मालिका गाउँपालिका-६,तोलाबाङदेखि दरवाङ जोड्ने सडक स्तरोन्नतिको काम रोकेर निर्माण कम्पनी सम्पर्कविहिन भएको महिनौं बितिसक्यो। अपुरो सडक पूर्णता दिन पटक–पटक ताकेता गर्दा समेत अटेरी गरेको ठेकेदार नआउने, ठेक्का तोडेर नयाँ प्रक्रियामा जान कानुनी झन्झट रहेको पूर्वाधार कार्यालय म्याग्दीको जवाफले पश्चिम म्याग्दीबासीले बर्षाको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् ।

गत असोज ८ देखि १२ गतेसम्मको अविरल बर्षाका कारण अलपत्र सडकखण्डको बालौटेमा बेसदेखि नै सडक बगाएपछि अहिले हलुका सवारीसाधन तल्लो दुखु हुदै दरबाङ आवतजावत गर्न बाध्य छन् ।साँधुरो सडकमा एकतर्फी सवारी सञ्चालन गर्दा लामो समयसम्म जाम हुने गरेको छ।

‘सडक अलपत्र छोडेर निर्माण कम्पनीलाई अब कानुनी प्रक्रियाबाटै हटाउनुपर्छ,फर्किएर काम गर्न नसक्ने भएपछि लिखित जानकारी दिनुहोस्, मैले सम्बन्धित निकायमा लेखेर पठाउँछु‘ प्रमुख जिल्ला अधिकारी गणेश गैरले पूर्वाधार कार्यालयलाई निर्देशन दिदैं भन्नुभयो।
जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिले ठेकेदार सम्पर्कविहिन हुने र सरकारी निकायले खोज्दा खोज्दै लामो समय वितेको भन्दै तिब्र गुनासो पोखेका छन् ।
सडकखण्डको अवरोध पन्छाउन निरन्तर सक्रिय पूर्व मन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले समेत सडकखण्डको जोखिम हटाउन ठेकेदार बाधक भएकाले अब तिब्र गतिमा प्रक्रिया अगाडी बढाउनुपर्ने बताउनुभयो ।

विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी बिरुवा–क्याराभान र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको छ । यस सडकका निर्माण ब्यवसायीले विगतमा लिखित तथा मौखिक प्रतिबद्धता जनाएपनि पटकपटका काम छोडेर भाग्ने र आर्थिक बर्षको अन्तिममा भूक्तानीका लागि केही काम गरेजस्तो गर्ने गरेका छन् ।

दरबाङका यूवाहरुले नै आन्दोलन गरेर दबाब दिएपनि हालसम्म काम नभएको पश्चिम म्याग्दी युथ क्लव दरबाङका अध्यक्ष नगेन्द्र मल्लले बताउनुभयो । ‘आन्दोलन गरी ज्ञापनपत्र बुझाउँदा पनि ठेकेदार फर्किएनन्, शक्तीशाली ठेकेदार भएकाले होला सरकारलाई पनि टेरेका छैनन्’ क्लव अध्यक्ष मल्लले भन्नुभयो । दरबाङका विभिन्न १७ संघसंस्थाले अब सडकको काम पूर्णता नभए दशैंलगत्तै थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मालिकाको केन्द्र दरवाङ जोड्ने सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित छ वर्षअघि आयोजना सुरु भएको थियो । गत अािर्थक बर्ष २०८२÷०८३ सालको चैत महिनासम्म ठेक्काको म्याद सकिएको छ । पूर्वाधार कार्यालय म्याग्दीका प्रमुख राजेश उलकले ५० प्रतिशत काम सम्पन्न भएका आयोजनालाई म्याद थप गर्ने निर्णय अनुसार अन्तिम अवसर दिने बताउनुभयो ।

‘काम सम्पन्न गर्न अन्तिम अवसर दिन्छौ, अटेर गरेमा थप कानुनी प्रक्रिया अगाडी बढ्छ’ प्रमुख उलकले भन्नुभयो । मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको बेनी–दरवाङ सडक विसं २०६३ मा मार्ग खुलेको थियो ।










