अविरल वर्षाका कारण गएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको सहयोग तथा श्री सशस्त्र प्रहरी बल नेपाल हे.क्वा.गुल्म गलेश्वर म्याग्दीको समन्वयमा राहत सामग्री हस्तान्तरण गरिएको हो। बाढी-पहिरोका कारण घरबारविहीन भई स्थानीय अस्थायी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका २० घरधुरीलाई दैनिक उपभोग्य राहत सामग्री उपलब्ध गराइएको सशस्त्र प्रहरीले जनाएको छ।

अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर २, ३, ४, ५, ६, ७ र ८ मा अविरल वर्षासँगै आएको बाढी र पहिरोले व्यापक क्षति पुर्याएको छ। पहिरोका कारण धेरैजसो गाउँघर तथा सडक पूर्वाधारहरू पूर्ण तथा आंशिक रूपमा ध्वस्त भएका छन्। सडक अवरुद्ध हुँदा आवतजावत ठप्प हुनुका साथै प्रभावित क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको छ।
आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रभावितहरूका लागि काठमाडौँबाट खाद्यान्न लगायतका राहत सामग्री म्याग्दी पठाएको थियो।

गाउँपालिकाका अध्यक्ष भारत कुमार पुन, उपाध्यक्ष दिवा कुमारी तिलिजा पुन, सशस्त्र प्रहरी बल नेपाल गलेश्वर गुल्मका गुल्मपति (स.प्र.ना.उ.) लुकेन्द्र सुब्बा र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेको रोहबरमा पीडितहरूलाई सामग्री हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष भारत कुमार पुनले संकटको घडीमा उद्धार र राहत सामग्री पुर्याएर विस्थापित परिवारलाई सहयोग गरेकोमा सशस्त्र प्रहरी बललाई धन्यवाद व्यक्त गर्नुभयो।

गलेश्वर गुल्मका गुल्मपति स.प्र.ना.उ. लुकेन्द्र सुब्बाले नागरिकको विपद् व्यवस्थापन र राहत तथा उद्धारमा सशस्त्र प्रहरी सधैँ अग्रपंक्तिमा खटिने बताउनुभयो। प्रधान कार्यालयको निर्देशन र सहयोगमा विस्थापितहरूलाई तत्कालका लागि राहत पुर्याइएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने उहाँले जानकारी दिनुभयो।











