म्याग्दीको सदरमुकाम बेनी बजार अन्यत्र सार्ने प्रस्ताव आफूले नराखेको विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा हिजो शुक्रबार बिहान भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पुनले प्रस्ताव गरेको भन्ने भन्ने विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि शनिबार सामाजिक सञ्जालबाटै मन्त्री पुनले छलफल भएपनि आफुँले कुनै प्रस्ताव नगरेको स्पष्ट पार्नुभएको छ ।
मन्त्री पुनले आफ्नो फेसबुकबाट बेनी बजारलाई प्राकृतिक विपद्बाट कसरी जोगाउने भन्ने विषयमा भएको छलफललाई तोडमोड गरी सदरमुकाम सार्न लागिएको भन्दै भ्रम फैलाइएको बताउनुभयो । बेनीमा भएको संयुक्त छलफलका क्रममा बेनी बजारको वर्तमान अवस्था र सुरक्षाबारे बेनी नगरपालिकाका प्रमुखको प्रश्नमा आफुँले राय राखेको भएपनि बैठकको एजेन्डामा उक्त प्रस्ताव नभएको बताउनुभयो ।
मन्त्री पुनले नगर प्रमुख केसीको जिज्ञासाको जवाफमा बजारको तल्लो भागमा कालीगण्डकी र म्याग्दी नदीको कटान तथा माथिल्लो भागमा पहिरोको जोखिम रहेको विषयमा संरक्षणका लागि बजेट आएको र सामाजिक सञ्जालमा आफ्नै गाउँका विद्यालयका प्रधानाध्यापकले लेखेको मल्लाजसम्बन्धि प्रशंस उठाउनुभएको थियो ।
‘मैले सदरमुकाम सार्नुपर्छ भनेर कुनै प्रस्ताव राखेको छैन,’ उनले स्पष्ट पार्दै भन्नुभएको थियो । ‘बजारलाई प्राकृतिक प्रकोपबाट कसरी जोगाउने भन्ने चिन्ता र चर्चा हुनु स्वाभाविक हो। तर, यसलाई सदरमुकाम नै सार्न लागियो भनेर भ्रम फैलाउनु गलत हो’मन्त्री पुनले भन्नुभयो।
यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–८ गणेशटाल क्षेत्रमा निर्माण भएको पक्की तटबन्ध भत्काएको र बेनीको कुनातर्फ रहेको भिरालो पाखामा जमिन चर्किएर पहिरो खस्न थालेको अवस्थासहित बेनी नगरपाकिलाभित्र भुर्गवबिद्ध सहितको टोलीले गरेको निरीक्षणका बारेमा नगर प्रमुख सुरत केसीले आफ्नो धारण राख्नुभएको थियो ।
बैठकमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारी, जिल्ला समन्वय समिति कार्यबाहक प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गणेश गैरेसहित म्याग्दीमा क्रियाशील राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधि र कार्यालय प्रमुखले भएका गतिविधि र भावी योजनाका विषयमा आफ्ना सुझाव प्रस्तुत समेत गरिएको थियो ।











