म्याग्दीसहित देशैभरका कोतघरहरुमा शनिबार फूलपाती भित्राइएको छ । बडादसैँको सातौ दिन देशैभरका कोतघर तथा पुजा कोठामा वैदिक विधिपूर्वक पुजाआजा गरी फूलपाती भित्राइएको हो। घटस्थापनादेखि पूजाआजा गरिएको दसैँघर अथवा पुजाकोठामा शुभ साइतको प्रतिकको रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत मिसाएर फूलपाती भित्र्याइने गरिन्छ। म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी कोतघरमा पनि धार्मिक विधि र परम्पराअनुसार पुजाआजा गरेर फूलपाती भित्र्याइएको बेनी कोतभण्डार व्यवस्थापन समितिले जनाएको छ।

बेनीस्थित कोतघरमा बेनी शिवालय मन्दिर तथा नेपाली सेनाको अर्थुङ्गेमा रहेको गुरु गोरख गुल्म, जिल्ला प्रहरी कार्यालयका प्रहरी, शसस्त्र प्रहरी बल गलेश्वरसहितको टोलीले ल्याएको फूलपातीलाई बजार परिक्रमा गराई कोतघरमा विधिपूर्वक भित्र्याइयो छ। कोत मन्दिरबाट सुरु भएको पञ्चे बाजासहितको ¥यालीले बेनीबजारको परिक्रमा गरी सङ्गमचोकमा पुगेर पुजाआजा गरी फुर्से र बोकाको बली दिई बेनीको कोतघरमा फुलपाती भित्र्याइएको थियो। हिन्दुधर्म, संस्कृति र परम्पराअनुसार पुजाआजा गरी फूलपाती भित्र्याइएको जनाइएको छ।

फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाले सलामी अर्पण गरेका थिएभने विधि र प्रक्रियाअनुसार पुजाआजा गरेर प्रसादसहित फूलपाती भित्र्याइएको अवलोकन गर्न आएकालाई टिका लगाइएको थियो । उक्त अवसरमा लक्ष्मीनारायण मन्दिर विकास समितिबाट भजनकिर्तन र नेपाल भाषा मंकाः खल अन्तर्गतको युवा संस्था ल्यामु पुचका कलाकारहरुले मालश्री धुन प्रस्तुत गरेका थिए। कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, निवर्तमान प्रमुख जिल्ला अधिकारी गणेश गैरे,बेनपाको प्रवक्ता रमेशकुमार श्रेष्ठ, बेनपा–८, बेनीका वडाध्यक्ष उत्तमकुमार कर्माचार्यलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारणको उपस्थिीति रहेको थियो ।

कोतभण्डार टोलवासीले कोतको लिपपोत र सङ्गमचोकवासीले फूलपाती बढाईँको लिपपोत र सरसफाइ समेत गरेका थिए। यसैगरी म्याग्दी जिल्लाको विभिन्न गाउँगाउँमा रहेका कोत घरहरुमा पनि फूलपाती भित्र्याइएको छ। बेनी नगरपालिका अन्तर्गत घतान कोत, पुलाचौर कोत, चिप्लेटीको निशानकोत, गाजनेको डढेकोत, ज्यामरुककोत तथा ताकमको ताकम कोत लगायतका दुर्गा भगवतीको मठमन्दिरमा धार्मिक विधिअनुसार पुजाअर्चना गरी फूलपाती भित्र्याइएको स्थानीयले जनाएका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको ठाउँमा भित्र्याउने प्रचलन छ। नौ पातमा क्रमशः ब्रम्हायणी, रक्तदन्तीका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गर्ने गरिन्छ।

आजको दिनमा किसानहरुले खेतबारीमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्दछन्। यस्तै, फुलपातीको दिन विशेष गरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको पूजा गर्ने प्रचलन समेत रहेको छ।











