दसैँको फूलपातीका दिन बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । दसैँको पहिलो दिन घटस्थापनामा मालढुङ्गाको पुल बन्द हुँदा सुनसान रहेको मन्दिरमा पुल सञ्चालनमा आएसँगै भक्तजनको चहलपहल बढेको हो ।
घटस्थापनाको भोलिपल्ट असोज २६ गते पुल सञ्चालनमा आएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दै गएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताउनुभयो । शनिबार फूलपातीका दिन दसैँ सुरु भएयताकै बढी दर्शनार्थी आएको उहाँले जानकारी दिनुभयो ।
यस वर्षको दसैँमा मन्दिरमा पाँच लाख भक्तजन आउने अनुमान गरिएको छ । सुरुमा बाढीपहिरोका कारण आवागमन प्रभावित हुँदा दर्शनार्थीको सङ्ख्या अपेक्षाकृत कम रहे पनि पुल सञ्चालनमा आएपछि चहलपहल बढेको समितिले जनाएको छ ।
प्रसिद्ध शक्तिपीठका रूपमा रहेको कालिका भगवती मन्दिरमा दसैँ र चैतेदसैँका अवसरमा भक्तजनको भीड लाग्ने गर्छ । चितवन, बुटवल, स्याङ्जा, पोखरालगायतका स्थान तथा छिमेकी जिल्लाबाट दर्शनार्थी आउने गरेको गुठीका अध्यक्ष खड्काले बताउनुभयो ।
धार्मिक आस्था र ऐतिहासिक महत्त्व बोकेको कालिका भगवती मन्दिरमा दसैँ र चैतेदसैँका अवसरमा विशेष चहलपहल हुने गर्छ । मन्दिरको इतिहास तत्कालीन पर्वत र पाल्पा राज्यका राजपरिवारसँग जोडिएको छ । मन्दिरको स्थापना विसं १५९१ मा भएको मानिन्छ ।















