ध्रुवसागर शर्मा
उत्तरतर्फ टलक्क टल्किएका हिमाल, पूर्वमा बागलुङको पञ्चकोट र चारैतिर फैलिएका हरिया डाँडाकाँडाले म्याग्दीको ज्यामरुककोटलाई प्रकृतिको अनुपम उपहार बनाएका छन्। शरद ऋतुको सफा आकाश, पहेँलपुर धानका फाँट र धान भित्र्याउन व्यस्त किसानले गाउँको वातावरणलाई आकर्षक बनाएका छन्। तर प्रकृतिको यही सुन्दरता र कृषिकर्मको चटारोबीच विगतका दसैँमा देखिने उल्लास भने क्रमशः हराउँदै गएको छ।
केही वर्षअघिसम्म बेनी नगरपालिका–२ अन्तर्गत ज्यामरुककोटका भकुण्डे, सानालेख, गौश्वारा र फापरखेतलगायत बस्तीमा दसैँ नजिकिँदै गर्दा लिङ्गे पिङ बनाउने, चचहुई खेल्ने र घरआँगन सजाउने चहलपहल सुरु हुन्थ्यो। गाउँका युवा भेला भएर बाँस काट्ने, पिङका लागि लठ्ठा तयार पार्ने र बाटाघाटा सफा गर्ने काममा जुट्थे। अहिले भने दसैँ नजिकिँदै जाँदा पनि गाउँमा न पिङ बनाउने चटारो छ, न त सामूहिक रूपमा रमाइलो गर्ने युवाको बाक्लो उपस्थिति।
गाउँका अधिकांश युवा वैदेशिक रोजगारी, उच्च शिक्षा र अन्य अवसरको खोजीमा बाहिरिएपछि परम्परागत चाडपर्वको रौनक घट्दै गएको स्थानीय बताउँछन्। विद्यालय जाने उमेरका बालबालिका र पाका पुस्ताका नागरिक गाउँमा रहे पनि पहिलेको जस्तो सामूहिक सहभागिता र उत्साह भेटिन छाडेको छ।
बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार पछिल्ला चार वर्षयता वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जाने युवाको संख्या निरन्तर बढिरहेको छ। एक वर्षमा औसत ५० देखि ८० जनासम्म युवा रोजगारीका लागि विदेशिने गरेका छन् भने अध्ययनका लागि बाहिरिनेको संख्या पनि उल्लेख्य छ। आन्तरिक बसाइँसराइका कारण गाउँका बस्तीसमेत पातलिँदै गएका छन्। पछिल्लो डेढ वर्षमा मात्रै २४ परिवारले बसाइँसराइ गरेको तथ्यले गाउँको जनसांख्यिक अवस्थामा आइरहेको परिवर्तनलाई देखाउँछ।
खेतमा धान भित्र्याउने चटारो, मनमा पुराना दसैँको सम्झना
असोजको घमाइलो मौसममा किसानलाई धान भित्र्याउने हतारो छ। असोजको अन्तिम सातामा पर्ने पानी र हावाहुरीले पाकेको धानमा क्षति पुर्याउने हो कि भन्ने चिन्ता किसानमा देखिन्छ। कात्तिक लागेपछि मौसम थप सफा हुने आशामा किसान अहिले खेतबारीको काममा केन्द्रित छन्।
सानालेखका नारायण शर्माका लागि यस वर्षको दसैँको व्यस्तता पहिलेभन्दा फरक छ। पहिले दसैँको रमाइलोमा रमाउने गाउँले अहिले खेतीपाती र अन्य जिम्मेवारीमा व्यस्त छन्। काम, अध्ययन र रोजगारीका लागि गाउँबाहिर रहेका आफन्त दसैँमा घर फर्कने क्रम रहे पनि लामो समय गाउँमा बस्न नसक्दा चाडपर्वको पुरानो रौनक फर्किन सकेको छैन।
शर्माका अनुसार पहिले दसैँ आउनुअघि नै घर लिपपोत गर्ने, आँगन सफा गर्ने, बाटाघाटा मर्मत गर्ने र गाउँमा पिङ बनाउने काम सुरु हुन्थ्यो। रातो माटो र सेतो कमेरोले घर सजाउने चलन थियो। गाउँका युवा, वृद्धवृद्धा र बालबालिका मिलेर पिङ बनाउँथे र दसैँभरि त्यसमा रमाउँथे। अहिले भने गाउँमा मानिसको संख्या घट्दै जाँदा यस्ता सामूहिक गतिविधि पनि कमजोर हुँदै गएका छन्।
युवा पलायनसँगै हराउँदै लिङ्गे पिङको संस्कृति
गाउँमा लिङ्गे पिङ बनाउनु सामूहिक श्रम र सहकार्यको उदाहरण थियो। पिङका लागि बाबियो काटेर ल्याउने, बलियो लठ्ठो तयार पार्ने, बाँस गाड्ने र पिङ कस्ने काममा गाउँका धेरै मानिस जुट्नुपर्थ्यो। स्थानीयको अनुभवमा एउटा पिङ तयार गर्न सामान्यतया आठदेखि १० जनासम्म आवश्यक पर्थ्यो।
पिङ बनाउने काममा मात्र होइन, त्यसमा मच्चिएर खेल्ने र दोहोरी गाउँदै रमाइलो गर्ने परम्परामा पनि गाउँलेको सहभागिता हुन्थ्यो। किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म पिङमा रमाउँथे। तर रोजगारी र व्यवसायका कारण युवा गाउँबाहिर जान थालेपछि पिङ बनाउने जनशक्तिको अभाव बढेको छ।
बाल्धराका क्षेत्रबहादुर कटुवालका अनुसार प्रविधिको विकास र घरघरमा मनोरञ्जनका अन्य साधन उपलब्ध हुन थालेपछि परम्परागत खेलप्रतिको आकर्षण पनि घटेको छ। गाउँमा युवा नहुँदा पिङ बनाउने काम कठिन बनेको छ भने गाउँमा रहेका युवासमेत आफ्नै काममा व्यस्त हुने गरेका छन्।
५२ वर्षीय टेकबहादुर क्षेत्रीका अनुसार पहिले गाउँका युवाले लिङ्गे पिङ निर्माण गरेर दसैँमा रमाइलो गर्ने चलन थियो। अहिले गाउँमा युवा कम छन् भने पाका पुस्तामा पनि पहिलेको जस्तो जाँगर छैन। त्यसैले दसैँको अभिन्न हिस्सा मानिने पिङ संस्कृति बिस्तारै ओझेलमा पर्दै गएको छ।
फेरिँदै गाउँको स्वरूप, हराउँदै परम्परागत जीवनशैली
युवा पलायन, प्रविधिको विस्तार र बसाइँसराइले गाउँको सामाजिक तथा सांस्कृतिक जीवनमा व्यापक परिवर्तन ल्याएको छ। पहिले रातो माटो र कमेरोले लिपपोत गरिएका घरको ठाउँ अहिले सिमेन्टका आधुनिक संरचनाले लिन थालेका छन्। घर सजाउने परम्परागत शैली र सामूहिक रूपमा सरसफाइ गर्ने चलन पनि घट्दै गएको छ।
पहिले दसैँ आउनुअघि घर लिपपोत गर्ने, नयाँ लुगा सिलाउने र चाडपर्वका लागि आवश्यक सामग्री जुटाउने काम विशेष तयारीका रूपमा गरिन्थ्यो। अहिले बजारमा आवश्यक सामग्री सहजै उपलब्ध हुने भएकाले दसैँको तयारीसमेत पहिलेको जस्तो सामूहिक र उत्साहपूर्ण हुन छाडेको स्थानीयको अनुभव छ।
दसैँलाई नयाँ लुगा लगाउने, मीठो खाने र आफन्तसँग भेटघाट गर्ने पर्वका रूपमा मात्र बुझ्ने प्रवृत्ति बढ्दै गएको छ। तर चाडपर्वको मौलिकता त्यससँग जोडिएका संस्कार, परम्परा, सामूहिक श्रम र आपसी सद्भावमा निहित हुन्छ। यी पक्ष कमजोर हुँदै जाँदा गाउँको परम्परागत जीवनशैली पनि परिवर्तन हुँदै गएको छ।
कमजोर बन्दै नातासम्बन्धको आत्मीयता
दसैँ धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको पर्व हो। यसले परिवार, आफन्त र समुदायलाई एकै ठाउँमा जोड्ने अवसर प्रदान गर्छ। वर्षभरि टाढा रहेका आफन्त भेटिने, सुखदुःख साटासाट गर्ने र पारिवारिक सम्बन्ध नवीकरण गर्ने अवसरका रूपमा पनि दसैँको विशेष महत्व छ।
तर पछिल्लो समय मोबाइल फोन र इन्टरनेटको बढ्दो प्रयोगले प्रत्यक्ष भेटघाटको आवश्यकता कम हुँदै गएको छ। बालबालिका र किशोरकिशोरीसमेत गाउँका परम्परागत खेलभन्दा मोबाइलमा खेलिने खेलप्रति बढी आकर्षित हुन थालेका छन्। यातायातको सुविधा विस्तारसँगै पैदल हिँडेर माइती, मावली र ससुराली जाने पुरानो चलन पनि घट्दै गएको छ। गाउँका गोरेटो बाटामा पहिलेझैँ चहलपहल देखिन छाडेको छ।
बेनी नगरपालिका–२ बगरफाँटका ९० वर्षीय वेदप्रसाद उपाध्यायका अनुसार पहिले दसैँमा गाउँका आफन्त एकै ठाउँमा भेला भएर दुःखसुख साट्ने, रमाइलो गर्ने र आपसी सम्बन्धलाई थप बलियो बनाउने चलन थियो। अहिले सुविधा सम्पन्न ठाउँमा बसाइँ सर्ने क्रम बढेसँगै परिवार र आफन्तबीचको भौतिक दूरी मात्र होइन, भावनात्मक दूरीसमेत बढ्दै गएको उहाँको अनुभव छ।
उपाध्यायका भनाइमा अहिलेको दसैँमा पहिलेको जस्तो आत्मीयता र सामूहिकता कम देखिन्छ। कतिपय ठाउँमा चाडपर्वका बेला मदिरा र मासुको उपभोगलाई बढी महत्व दिन थालिएको उहाँको भनाइ छ। यसले दसैँसँग जोडिएको मौलिकता, पारिवारिक आत्मीयता र सामाजिक सद्भाव कमजोर बनाउने चिन्ता बढाएको छ।
आधुनिकतासँगै परम्परा जोगाउने चुनौती
गाउँमा सडक, सञ्चार र यातायातको सुविधा विस्तार हुनु विकासको सकारात्मक पक्ष हो। शिक्षा, रोजगारी र आर्थिक अवसरको खोजीमा युवा बाहिरिनु पनि स्वाभाविक प्रक्रिया हो। तर विकास र आधुनिकताको यात्रामा समाजका मौलिक परम्परा, सांस्कृतिक पहिचान र सामूहिक जीवनशैलीलाई बिर्सन नहुने स्थानीयको धारणा छ।
दसैँको वास्तविक रौनक नयाँ लुगा, मीठा परिकार र औपचारिक भेटघाटमा मात्र सीमित छैन। यो पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका संस्कार, परम्परा, आपसी सहयोग र आत्मीय सम्बन्धको उत्सव पनि हो। गाउँमा लिङ्गे पिङ बनाउने, घरआँगन सजाउने, आफन्तसँग भेटघाट गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलनलाई नयाँ पुस्तासम्म पुर्याउन सके मात्र चाडपर्वको मौलिकता जोगाउन सकिन्छ।
गाउँबाट युवा बाहिरिँदै जाँदा र आधुनिक जीवनशैलीको प्रभाव बढ्दै जाँदा दसैँको स्वरूप फेरिनु स्वाभाविक देखिए पनि त्यसको आत्मा नै हराउँदै जानु चिन्ताको विषय बनेको छ। सुविधा र समृद्धिको खोजीसँगै आफ्नो गाउँ, संस्कृति र परम्परासँगको सम्बन्धलाई पनि जीवन्त राख्न सके मात्र भावी पुस्ताले दसैँको वास्तविक महत्व बुझ्न सक्नेछन्।
ज्यामरुककोटका सुनसान हुँदै गएका गोरेटो, नबनाइएका लिङ्गे पिङ र पुरानो शैलीमा नलिपिएका घरले अहिले एउटा प्रश्न उठाइरहेका छन्—विकाससँगै गाउँको जीवन सहज बनाउँदै गर्दा हामीले आफ्ना चाडपर्वको मौलिकता पनि जोगाउन सकिरहेका छौँ त? यसको उत्तर खोज्नु गाउँ, समाज र नयाँ पुस्ता सबैको साझा जिम्मेवारी बनेको छ।











