---Advertisement---

बाढीपहिरोपछि म्याग्दीका सबै प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु

On: October 25, 2026 8:43 PM
Follow Us:

गत महिनाको बाढीपहिरोले क्षति पुर्‍याएका विद्युत् संरचनाको मर्मतपछि म्याग्दीका सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको छ। सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा शनिबारदेखि विद्युत् आपूर्ति सुरु भएसँगै जिल्लाका सबै प्रभावित बस्तीमा बिजुली बलेको हो।

नेपाल विद्युत् प्राधिकरणका बेनी र तातोपानी वितरण केन्द्रले क्षतिग्रस्त प्रसारण तथा वितरण लाइन मर्मत र वैकल्पिक संरचनामार्फत विद्युत् सेवा सञ्चालनमा ल्याएका हुन्।

प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार पाउद्वार, गिवाङ र किन्दु क्षेत्रमा विद्युत् सेवा सञ्चालन गर्न कर्मचारी तथा मजदुरलाई दसैँको समयमा समेत परिचालन गरिएको थियो।

‘पाउद्वार, गिवाङ र किन्दु क्षेत्रमा चाडपर्वको समयमा पनि कर्मचारी र मजदुरलाई रातिसम्म परिचालन गरेर काम गर्‍यौँ,कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत् आपूर्ति गराएका छौँ। दोस्रो चरणमा थप मर्मत गरेर विद्युत् आपूर्तिलाई नियमित र व्यवस्थित बनाउने प्रयासमा छौँ’गामीले भने

क्षतिग्रस्त संरचनाबाट करिब एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको गामीले जानकारी दिए।

अन्नपूर्ण गाउँपालिकाका राम्चे र हिस्तानमा यसअघि महभीरतर्फबाट विद्युत् आपूर्ति हुँदै आएकोमा अहिले पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटतर्फबाट विद्युत् सञ्चालन गरिएको छ। पाउद्वारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गराइएको छ।

बेनी वितरण केन्द्रअन्तर्गत मिलनचोक सबस्टेसनबाट म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिकाका मल्लाज र वारीबेनीलगायत क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ। यस केन्द्रअन्तर्गत २४ हजार ४९० ग्राहक छन्। तातोपानी वितरण केन्द्रले अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर १ देखि ४ सम्म र मुस्ताङ जिल्लामा विद्युत् सेवा उपलब्ध गराउँदै आएको छ।

विद्युत् सेवा पुनः सञ्चालन भएपछि बाढीपहिरो प्रभावित ग्रामीण क्षेत्रको जनजीवन सहज हुन थालेको छ। बाढीपहिरोले प्राधिकरणका ३३/११ केभीका प्रसारण तथा वितरण लाइनका करिब २५० पोल र तिनमा तानिएका तारमा क्षति पुर्‍याएको थियो।

Leave a Comment