---Advertisement---

रचनात्मक कार्यक्रमसहित सशस्त्र प्रहरी बल म्याग्दीको आठौँ स्थापना दिवस

On: October 26, 2026 5:19 PM
Follow Us:

सशस्त्र प्रहरी बल, नेपाल गुल्म म्याग्दीले विभिन्न रचनात्मक कार्यक्रमसहित आफ्नो आठौं स्थापना दिवस भव्यताका साथ मनाएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कडेरको प्रमुख आतिथ्यतामा उक्त विशेष समारोह सम्पन्न भएको हो।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कडेरले राष्ट्र र नागरिकको सेवामा सशस्त्र प्रहरी बलले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले सीमा सुरक्षा, शान्ति-सुव्यवस्था कायम गर्ने कार्यका साथै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी सदैव अग्रपंक्तिमा खटिने गरेको बताउँदै आगामी दिनमा थप व्यावसायिक र जनउत्तरदायी भएर काम गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा गुल्मपति तथा सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाले गुल्म स्थापना भएदेखि हालसम्म म्याग्दी जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र विपद् उद्धारमा गुल्मले खेल्दै आएको भूमिका बारे प्रकाश पार्नुभएको थियो। गुल्मपति सुब्बाले आफ्नो मन्तव्यका क्रममा भन्नुभयो, “सशस्त्र प्रहरी बल सधैँ नागरिकको सुखदुःखको साथी बनेर उभिएको छ।

जस्तोसुकै प्राकृतिक विपत्ति वा आपतकालीन अवस्थामा पनि म्याग्दीवासीको जीउधनको सुरक्षाका लागि हाम्रा जनशक्ति उच्च मनोबलका साथ तत्पर छन्।” कार्यक्रममा उत्कृष्ट कार्य गर्ने र बिभिन्न बिधाका खेलमा बिजय हुने सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो भने विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत राखिएको थियो। । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका नेता, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Comment