म्याग्दीको सदरमुकाम बेनीबजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल र रिङरोड पुनर्निर्माणको काम तिब्र गतिमा गरिने भएको छ । गत महिनाको असोज ९ देखि १२ गतेसम्म परेको अबिरल बर्षासँगै कालिगण्डकी नदी कटानका कारण क्षतिग्रस्त बनाएको संरचना पुनर्निर्माणका लागि सर्वे तथा ठेक्का आह्वान एक महिना गर्ने तयारी भइरहेको छ ।

आगामी जेठ महिनाभित्र नै सम्पन्न गर्ने लक्ष्य रहेको सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय म्याग्दीले जनाएको छ । कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–८ स्थित गणेश टोल पछाडि निर्माण गरिएको करिब ८० मिटर लामो पक्की पर्खाल र वडा नं. ७ स्थित म्याग्दी जेसीजको कार्यालय अगाडि निर्माण गरिएको करिब १५ मिटर लामो पक्की पर्खाल कटान गरी क्षतिग्रस्त बनाएको संरचनालाई प्रारम्भीक अनुमानमा ५ करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।

शुक्रबार सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका प्राविधिकसहित जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी,प्रमुख जिल्ला अधिकारी गणेश गैरे, वडा नं ७ र ८ का वडा अध्यक्षद्धय रमेशकुमार श्रेष्ठ, उत्तम कर्माचार्यसहितको टोलीले कालीगण्डकी कटानबाट क्षतिग्रस्त रिङरोड तथा पक्की पर्खालको स्थलगत अवलोकन गर्नुभएको थियो । आयोजनाका इन्जिनियर नरजंग गुरुङले बाढीले भत्काएको पर्खाल पुननिर्माणका लागि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । आयोजनाले तत्कालै लगत स्टिमेट तयार पारी आवश्यक बजेट व्यवस्थापन सहित एकमहिना भित्रमा ठेक्का आह्वान गर्ने योजना रहेको बताउनुभयो ।
मनसुनजन्य विपपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण जलस्रोत तथा सिँचाई विभागमा यसअघि नै पठाएपनि अगुप र केही प्रक्रियागत तयारी गरी क्षतिको विवरण थप भएकाले पुनः बजेटका लागि विभागमा पठाउने तयारी भएको आयोजना प्रमुख प्रेमहरी पराजुलीको भनाई छ । आयोजनाको कार्यालय नै म्याग्दीमा आएकाले निर्माण कार्यलाई सहज भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीको भनाई छ । यसअघि यही स्थानमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना मार्फत कम्पोजिट प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनाले रिङरोड निर्माण गरेका थिए ।









