---Advertisement---

प्रतिवर्ष एघार लाख टन माटो क्षय

On: October 30, 2026 11:40 AM
Follow Us:

मुस्ताङमा प्रतिवर्ष ११ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । हिमाली भूगोल, भिरालो जमिन, कमजोर भौगर्भिक बनोट र जलवायु परिवर्तनले भारी वर्षा हुँदा बाढीपहिरोले बर्सेनि ११ लाख ४६ हजार ५७.७ टन माटो बगाउने गरेको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले गरेको अध्ययन अनुसार मुस्ताङमा तीव्र भूक्षयका कारण कालीगण्डकी नदीको सतह जोखिम तहमा पुगेको छ । वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्र एक दशकअघिसम्म कालीगण्डकी नदीमा प्रतिवर्ष एक फिट नदीजन्य वस्तु थुप्रिने गरेकोमा पछिल्लो अध्ययनमा वर्षमै २.५ मिटर सतह उकासिने गरेको बताउनुहुन्छ । 

अधिकृत मिश्रले भन्नुभयो, “हरेक वर्ष नदीको सतह उकासिएको छ; मानवीय त्रुटि र जलवायु परिवर्तनले विनाश निम्त्याएको छ ।” मुस्ताङसमेत कार्यक्षेत्र रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख मिश्रले कमजोर माटो भएकाले रुख कटान गर्दा प्रतिवर्ष प्रतिवर्ग किलोमिटर पाँच हजारदेखि १० हजार टन, वनक्षेत्रबाट प्राकृतिक रूपमा १०–१२ टन र खेतीपाती हुने जमिनबाट प्रतिहेक्टर एक सय टनसम्म्म माटो बगेर नदीमा मिसिने गरेको औँल्याउनुहुन्छ । 

उहाँले भन्नुभयो, “अधिक मनसुनी वर्षाका कारण सहायक नदीमा आउने बाढीको चाप कालीगण्डकी परेको छ; गेगरसहितको बाढीको वेग मानवनिर्मित संरचनाले ठेग्न सक्दैन ।” मुस्ताङमा वार्षिक अधिकतम ६६५ मिलिमिटरसम्म वर्षा हुने, भूकम्पीय कम्पन्न तथा भौगर्भिक हलचलका साथै जमिन प्राकृतिक रूपमा खिइँदै गएकाले सडक विस्तार तथा मानवीय क्रियाकलापमा परिवर्तन गर्नुपर्ने मिश्रको सुझाव छ । 

भूक्षयले जमिनको उर्वराशक्ति घटाउनुका साथै नदी तथा खोलामा गेग्य्रान थुप्रिने गरेकाले तत्काल बस्तीनजिक पुगेको गेग्य्रानलाई हटाएर सतहमा निगरानी गर्नुपर्ने अध्ययनले सुझाएको छ । करिब तीन हजार ५७३ वर्ग किलोमिटरमा रहेको मुस्ताङ समुद्री सतहबाट दुई हजार १० मिटरदेखि आठ हजार १६७ मिटरसम्मको उचाइमा फैलिएको छ । 

तिब्बतसँग सिमाना जोडिएको ल्होमन्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको तटीय क्षेत्रमा थुप्रिएको नदीजन्य वस्तुका कारण बर्खामा उर्लिएर आउने कालीगण्डकीले बस्ती क्षेत्रसमेत कटान गर्ने गरेको छ । छिमेकी जिल्ला म्याग्दी, पर्वत, बागलुङ हुँदै बग्ने कालीगण्डकीले ती क्षेत्रमा जोखिम बढ्दै गएको छ ।

गएको असोज ९ देखि १२ गतेसम्मको वर्षामा मुस्ताङमा कालीगण्डकी नदीमा आएको बाढीको असर म्याग्दी र पर्वतसम्म परेको थियो । घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले कालीगण्डकी र सहायक नदीका कारण धेरै जिल्ला प्रभावित हुने भएकाले गेग्यानको उचित व्यवस्थापना गर्नुपर्नेमा जोड दिनुहुन्छ । गण्डकी प्रदेशका पाँच जिल्ला मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र स्याङ्जा कार्यक्षेत्र रहेको कार्यालयको तथ्याङ्कमा पाँच जिल्लामा वार्षिक दुई करोड १० लाख ३४ हजार सात सय दुई टनभन्दा बढी माटो भूक्षय हुने गरेको देखिन्छ ।    

Leave a Comment