---Advertisement---

बेनीमा क्षयरोग अन्त्य समिति गठन, समुदायस्तरमा अभियान चलाइने

On: October 30, 2026 10:23 PM
Follow Us:

क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम अन्तर्गत म्याग्दीको बेनी नगरपालिकामा स्थानीय तहस्तरीय क्षयरोग अन्त्य समिति गठन भएको छ । शुक्रवार बेनी नगरपालिकाको सभाहलमा आयोजित समिति गठन तथा जनप्रतिनिधि र सरोकारवालालाई अभिमुखीकरण कार्यक्रमसहित समिति गठन गरिएको हो ।

बेनी नगरपालिकास्तरीय क्षयरोग अन्त्य समितिको संयोजकमा नगर प्रमुख सुरत केसी, सहसंयोजकमा उपप्रमुख ज्योति लामिछाने, सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद पोखरेल, प्रदेश अस्पताल बेनी म्याग्दीका निमित्त मेडिकल सुपरिनटेन्डेन्ट डाक्टर हेमन्त बाँस्तोला, वडा अध्यक्षहरु टेकबहादुर थापा, यामबहादुर क्षत्री, पदमबहादुर पुन, अणबहादुर खड्का (भगवान) र गोविन्द बानियाँ रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा कृष्णबहादुर बानियाँ, रमेशकुमार श्रेष्ठ, उत्तमकुमार कर्माचार्य, चक्रबहादुर केसी, मसविर रोका, शिक्षा अधिकृत कमलप्रसाद ढकाल, बेनी सामुदायिक माविका प्रधानाध्यापक भीमबहादुर घर्ती, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दीपक पौडेल, निजी स्वास्थ्य संस्थाबाट केशवराज ढकाल, घतान स्वास्थ्यचौकीका बिक्रम बुढाथोकी, भकिम्ली स्वास्थ्यचौकीका तारा बुढाथोकी, महिला स्वास्थ्य स्वयंसेविका रिता भण्डारी र सदस्य सचिवमा बेनपाको स्वास्थ्य शाखा प्रमुख लिलाकुमारी गौतम रहनुभएको छ ।

शुक्रवारै सम्पन्न क्षयरोग अन्त्य समितिको पहिलो वैठकले क्षयरोगमुक्त नेपाल अभियान अन्तर्गत बेनी नगरपालिका क्षेत्रमा सञ्चालन गरिने अभियानको कार्ययोजना स्वीकृत गरिएकाले अब क्रमशः समुदायस्तरमा पुगेर कार्यक्रमहरु सञ्चालन गरिने समितिका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख लिलाकुमारी गौतमले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले क्षयरोगमुक्त नेपाल अभियानको बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै नगर प्रमुख केसीले क्षयरोगमुक्त नेपाल अभियानलाई नगरपालिकाको सबै वडा र समुदायस्तरमा प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनुभयो । उहाँले नगरपालिकालाई क्षयरोगमुक्त बनाउने कार्यमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला, नागरिकलगायत सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश अस्पताल म्याग्दीका प्रमुख डा. बाँस्तोला, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दीपक पौडेल र नेपाल औषधी व्यवसायी संघ म्याग्दी अध्यक्ष शम्भुराज पाण्डेले मन्तव्य व्यक्त गर्दै सरकारी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख गौतमले बेनी नगरपालिकामा क्षयरोगको अवस्थाबारे आफ्नो प्रस्तुतीकरण गर्नुभएको कार्यक्रम बेनी नगरपालिकाका नगर प्रमुख केसीको अध्यक्षता, स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट खगराज निउरेको स्वागत र जनस्वास्थ्य अधिकृत बालकुमारी पुनको सञ्चालनमा सम्पन्न भएको थियो । गण्डकी प्रदेशको विभिन्न १३ वटा पालिकाहरुमा हाल क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम लागू भएर सञ्चालन भैरहेको छ ।

Leave a Comment