बिहानको उज्यालोसँगै बेनी नगरपालिका-७ मंगलाघाटस्थित बंगुर फार्ममा भेटिने धवलागिरी गाउँपालिका–३,मुनाका युवा मेघबहादुर शेरपुञ्जाले एक बर्षदेखिको मेहनत गरेर हुर्काएको बिक्रीयोग्य बंगुरलाई बजारमा पठाएका छन् । उनको फर्ममा करिब ९० भन्दा बढी बंगुर छन् । मासुका लागि तयार भएका १० वटा बंगुरलाई आफ्नै पसलमा लगेर बिक्री गर्न छुट्टै खोरमा राखेका छन् ।डेढ देखि दुई सय किलोभन्दा बढीका बंगुरलाई हुर्काउन शेरपुञ्जाले दिनरात मेहनत गरेका छन् ।उनको खोरमा हाइग्रेड,ल्यान्डरेस र डिउरोक उन्नत जातका बंगुर पालेका छन् ।
एउटा बंगुरको पाठालाई ९ हजारसम्म पर्छ भने प्रतिकिलो मासुको मूल्य ७ सय रुपैयाँमा पसलबाट बिक्री गर्ने गरेको शेरपुञ्जाले बताए।‘बंगुरको मासु खपतका लागि पसल सुरु गरेको छु, पहिलो दिन राम्रो बिक्री गरेको छु,ग्राहकलाई गुणस्तरीय मासु बिक्री गरी मन जित्नेछु’यूवा ब्यवसायी शेरपुञ्जाले भने ।उनले बंगुर बस्ने खोर नियमित सरसफाई, पाठापाठीलाई बजारबाट खरिद गरी दाना खुवाएर हुर्काउने गरेको बताए ।

‘हाम्रै गाउँठाउँमा कृषि र पशुपालनको अथाह सम्भावना छ, तर किसानलाई सबैभन्दा ठूलो समस्या बजारीकरणको छ’ मेघबहादुरले भने । उनले राज्यका निकायले उत्पादनलाई बजारसम्म पु¥याउने ठोस नीति र प्रोत्साहन ल्याउन सकेमा युवा विदेशिन बाध्य भएका यूवा रोकिने र विदेशबाट फर्किएकाहरू समेत बेरोजगार बस्न नपर्ने बताए ।

सात वर्षको सिकाइ, आफ्नै ठाउँमा लगानी
करिब ७ वर्ष ‘स्याङ्जा एग्रो रिसर्च एण्ड भेटेरिनरी सेन्टर’मा काम गरेका मेघबहादुरले अरूको फर्ममा पसिना बगाउँदा सिकेको प्राविधिक ज्ञान, रोगको पहिचान र व्यवस्थापनको सीपलाई अहिले आफ्नै फार्ममा प्रयोग गरेका छन् । परिवार र आफन्तको साथ पाएपछि करिब ३५ लाख रुपैयाँको लगानीमा ‘मुनाल कृषि तथा पशुपंक्षी फर्म’ दर्ता गरी व्यावसायिक बंगुरपालनको जग बसालेको उनले बताए ।

वर्षदिनमै फस्टाएको व्यवसाय र आफ्नै मासु पसल
एक वर्ष दिनरातको कठोर मेहनत र निरन्तरको खटाइबाट उनलाई मीठो प्रतिफल दिन थालेको छ । एक वर्षको अवधिमा फर्ममा साना–ठूला गरी करिब ९५ वटा बंगुर हुर्किरहेका छन् । उत्पादन गरेपछि बजार नपाउने समस्या समाधान गर्न उत्पादनदेखि उपभोक्तासम्म आफैं सक्रिय छन् । अब उनले फर्मबाट पाठापाठी र माउ बिक्री गर्नुका साथै स्वस्थ र ताजा मासु सिधै ग्राहकको भान्सामा पु¥याउन उनले बेनपा–७ इन्द्रेणीटोलमा ‘मुना बंगुर मासु पसल’ समेत सञ्चालनमा ल्याएका छन् ।

बेनी बजारमा बसोबास गर्ने गाउँले र स्थानीय ग्राहकहरू उनकै पसलमा पुगेर मासु खरिद गरी ब्यवसायको सफलताको शुभकामना दिने गरेका छन् । उनले ग्राहकलाई स्वस्थ र गुणस्तरीय मासु खुवाएर मन जित्नु नै मेरो पहिलो धर्म भएकाले सोही अनुसार काम गरेको बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, म्याग्दीका अनुसार जिल्लामा बंगुपालन ब्यवसायीलाई विभिन्न रोगबाट जोगिने गरी खोपसहित सचेतनामुलक अभियान, अनुदानसहितका कार्यहरुबाट प्रोत्साहन गर्ने गरिएको जनाएको छ ।













