बेनी नगरपालिका–५, पुलाचौरस्थित जनकल्याण माध्यमिक विद्यालयले नेपालमै पहिलोपटक दावी गरिएको आगामी माघ २८ र २९ गते दुईदिने ‘सरस्वती महोत्सव’ आयोजना गर्ने भएको छ । वि.सं. २०१४ सालमा स्थापित यस विद्यालयलाई शैक्षिक, भौतिक र व्यवस्थापकीय रूपमा नेपालकै नमुना विद्यालय बनाउने दीर्घकालीन लक्ष्यसहित गैर सरकारी संस्था संगम म्याग्दीसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको हो ।

सरस्वती महोत्सव मूल समारोह समितिका सदस्य सचिव गजिन्द्र श्रेष्ठका अनुसार परम्परागत सरस्वती पूजाभन्दा फरक ढङ्गले ज्ञान, सिर्जना र सामूहिक सपनाको उत्सवका रूपमा यो कार्यक्रम मनाउन लागिएको छ । महोत्सवमार्फत विद्यालयको आगामी पाँचवर्षे रूपान्तरणकारी योजना निर्माणको आधार तयार पारिनेछ ।

विद्यालयको विकास एकल प्रयासबाट मात्र सम्भव नहुने भएकाले विद्यार्थी, अभिभावक, शिक्षक, पूर्वविद्यार्थी, जनप्रतिनिधि र राष्ट्रिय–अन्तर्राष्ट्रिय शुभेच्छुकहरूको साझा सहभागिता जुटाउन लागिएको आयोजकले जनाएको छ ।महोत्सवका मुख्य आकर्षणहरूमा ‘सामूहिक सपना निर्माण’ र ‘विचार दान अभियान’ रहेका छन् ।
यसअन्तर्गत सरोकारवालाहरूबाट विद्यालय सुधारका लागि नयाँ सोच, सिर्जनात्मक उपाय र सुझावहरू सङ्कलन गरी अभिलेखीकरण गरिनेछ । यस्तै, विद्यार्थीहरूलाई महोत्सवको केन्द्रमा राख्दै उनीहरूका भविष्यका सपना र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर दिइनेछ । कार्यक्रममा अभिभावक तथा समुदायबाट शैक्षिक गुणस्तर र अनुशासनप्रतिको प्रतिबद्धता लिइनेछ भने पूर्वविद्यार्थीहरूलाई आफ्नो सीप, अनुभव र सञ्जालमार्फत विद्यालयसँग जोडिन आह्वान गरिनेछ ।
“मेरो विद्यालय, मेरो सपना, मेरो योगदान; सामूहिक प्रयासबाट समृद्ध शैक्षिक संस्थाको निर्माण” भन्ने मूल सन्देशका साथ आयोजना हुन लागेको यस महोत्सवलाई भव्य बनाउन १०१ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमितिहरू गठन गरिएका छन् । सङ्गम म्याग्दीको सहयोगमा जनकल्याण माविले आयोजना गर्न लागेको यो रूपान्तरण योजना तर्जुमा कार्यक्रम नेपालकै पहिलो नवीन अभ्यास भएको विद्यालयको दाबी छ । महोत्सवमा उपस्थित भई ’विचार दान’ गर्न विद्यालयले सम्पूर्ण शिक्षाप्रेमी र आम समुदायलाई हार्दिक आग्रह गरेको छ ।











