सातादेखि सञ्चालित कर सप्ताह सोमबार सम्पन्न भएको छ । कर सप्ताहको अबसरमा आन्तरिक राजश्व कार्यालय बागलुङले उत्कृष्ट करदाता सम्मान गरेको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा आन्तरिक राजस्व कार्यालय बागलुङ अन्तर्गतका करदाताहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडसहित तीन करदाता सम्मानित भएका हुन् ।
सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये बागलुङमा केन्द्रिय कार्यालय स्थापना भैई वित्तिय कारोवार शुभारम्भ गरेको ग्रिन डेभलपमेन्ट बैंक प्रथम भएको छ ।
बेनी नगरपालिका–८ स्थित घलेम्दी हाईड्रो लिमिटेड दोस्रो र पर्वतको कुश्मा नगरपालिका–५ र बागलुङ नगरपालिका–१४ मा रहेको दि क्लिफ प्रा.लि. तेस्रो भएका छन् ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले करदातालाई सम्मान गरे ।
ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी, घलेम्दी हाईड्रो लिमिटेडका शेयर होल्डर प्रतिश श्रेष्ठ र दि क्लिफ प्रा.लि.का डाइरेक्टर राजन जोशीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले कर तिर्नु कानूनी र जिम्मेवारी भएको बताए । साबिकको धौलागिरि क्षेत्र पर्यटन व्यवसाय र जलविद्युतमा उत्कृष्ट रहेको भन्दै ती क्षेत्रले रोजगारी बढाउने र कर राजश्वमा पनि योगदान गरेको बताए । कर प्रणालीलाई अझै सुदृढ गर्न समेत प्रभावकारी कार्यक्रम ल्याउन उनले आग्रह गरे ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, अधिकृत बिक्रेता संघ गण्डकी प्रदेश अध्यक्ष बद्री ढुङगाना, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि. पौडेल, सम्मानित ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि वहादुर वुढाथोकी र दि क्लिफ प्रा.लि.का डाइरेक्टर राजन जोसीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बागलुङका कर अधिकृत हिमाल शर्माले कार्यालयले गरेको वार्षिक प्रगतिबारे जानकारी गराएका थिए । आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालको अध्यक्षता कर अधिकृत राजनमणी शर्माको स्वागत र कर अधिकृत राजन सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।















