---Advertisement---

तारानाथ-धनेश्वरी स्मृति प्रतिष्ठानद्वारा पत्रकार, साहित्यकार र आठ विद्यार्थी पुरस्कृत

On: November 23, 2026 9:15 PM
Follow Us:

तारानाथ–धनेश्वरी स्मृति प्रतिष्ठानले म्याग्दीका एक पत्रकार, एक साहित्यकार र आठ जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । प्रतिष्ठानले सोमबार बेनी नगरपालिका–५, पुलाचौरमा आयोजना गरेको कार्यक्रममा साहित्यतर्फ म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक रेखाकौशल रेग्मी र पत्रकारितातर्फ नेपाल टेलिभिजनका प्रताप बानियालाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।

प्रतिष्ठानले २०८१ र २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने जनकल्याण माध्यमिक विद्यालयका छ जना र शालग्राम गण्डकी संस्कृत वेदविद्याश्रमका दुई जना विद्यार्थीलाई पनि पुरस्कृत गरेको छ ।

कोषका सचिव माधवप्रसाद रेग्मीका अनुसार दुवै वर्ष जनकल्याण माविका तीन–तीन जना विद्यार्थीलाई जनही १५ हजार रुपैयाँ र वेदविद्याश्रमका एक–एक जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको हो ।

२०८१ सालको एसईईमा जनकल्याण माविबाट खसआर्यतर्फ गरिमा हमाल, जनजातितर्फ दीपिका श्रेष्ठ र दलिततर्फ दिपेन्द्र छिनेल परियार पुरस्कृत भएका छन् । शालग्राम गण्डकी वेदविद्याश्रमबाट आलोक शर्मा पुरस्कृत भएका छन् ।

त्यसैगरी २०८२ सालको एसईईमा जनकल्याण माविबाट आयुष्मा सुवेदी, प्रशान्त श्रेष्ठ र अञ्जुली दर्जी तथा वेदविद्याश्रमबाट भुवन गौतम पुरस्कृत भएका छन् ।

पुरस्कार बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँ, प्रतिष्ठानका सचिव माधवप्रसाद रेग्मी र सदस्य खड्गेश्वरी सुवेदीलगायतले वितरण गर्नुभएको थियो ।

यसै अवसरमा ‘धनेश्वरी–तारानाथ स्मृति अक्षयकोष शैक्षिक उन्नयन र सामाजिक सेवाको प्रेरणास्रोत’ विषयक निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो । प्रतियोगितामा जनकल्याण माविकी कक्षा १० की निस्मा बानियाँ प्रथम, कक्षा ९ का भूपेन्द्र किसान द्वितीय र कक्षा ६ की कृष्मा हमाल तृतीय भएका छन् ।

प्रतिष्ठानले जनकल्याण माविका कक्षा १० मा अध्ययनरत २६ जना विद्यार्थीलाई छ महिनासम्म आवश्यक पर्ने स्टेशनरी सामग्रीसमेत वितरण गरेको छ ।

जनकल्याण माध्यमिक विद्यालयका संस्थापक तारानाथ र उहाँकी श्रीमती धनेश्वरीको स्मृतिमा छोरा, बुहारी र नातिनातिनाले २०७७ सालमा १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । शिक्षा, पत्रकारिता, साहित्य र सङ्गीत क्षेत्रलाई समेटेर स्थापना गरिएको कोषमार्फत प्रतिभा सम्मान, शैक्षिक प्रोत्साहन र सामाजिक सेवाका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

कार्यक्रममा जनकल्याण माविका प्रधानाध्यापक गजेन्द्र श्रेष्ठ, साहित्यकार अजयमिलन श्रेष्ठ, बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरी र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Comment