विपद्को जोखिम न्यूनीकरण, पूर्वतयारी तथा उद्धारसम्बन्धी ज्ञान र सीप विकास गर्ने उद्देश्यले बेनीमा सञ्चालित दुईदिने तालिम सम्पन्न भएको छ।
बेनी नगरपालिकाको सभाहलमा मंसिर ६ र ७ गते सञ्चालन भएको तालिममा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, विपद्का समयमा अपनाउनुपर्ने सावधानी तथा उद्धारका उपायबारे प्रशिक्षण दिइएको थियो।
संगम म्याग्दीको आयोजनामा, बेनी नगरपालिकाको समन्वय तथा व्यवस्थापन र गर्ल्स फर्स्ट फन्डको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

तालिममा सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वार्टर गलेश्वरका प्रमुख लोकेन्द्र सुब्बा र प्रशिक्षक नरेश लिम्बूले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले विपद्का बेला अपनाउनुपर्ने सावधानी, जोखिम व्यवस्थापन तथा उद्धारका प्रक्रियाबारे प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा संगम म्याग्दीका अध्यक्ष दीपक पौडेलको उपस्थिति रहेको थियो। तालिमको समापन बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको अध्यक्षतामा भएको थियो।
तालिमले विपद्को जोखिम पहिचान र न्यूनीकरण, पूर्वतयारी तथा विपद्का बेला प्रभावकारी रूपमा परिचालित भई उद्धार कार्यमा जुट्न सहभागीहरूको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।










