---Advertisement---

वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक गोलभेँडा खेती (फोटोफिचर)

On: November 24, 2026 8:03 AM
Follow Us:

म्याग्दी– वैदेशिक रोजगारीका लागि १२ वर्ष बहराईन बसेर फर्किनुभएका म्याग्दीको बेनी नगरपालिका ५ डडुवाका मोहन भण्डारीले व्यावसायिक रुपमा तरकारी खेती सुरु गर्नुभएको छ । विदेशमा बस्दा सिकेको ज्ञान, सिप र कमाएको पूँजीलाई गाउँ फर्किएपछि उहाँले व्यावसायिक खेतीमा लगाउनुभएको हो ।

स्वदेशमा केही पनि काम पाइएन भन्दै विदेशिने युवाहरुका लागि भने प्रेरणाको स्रोत बन्नुभएको छ, भण्डारी । १२ वर्ष वैदेशिक रोजगारीका लागि विदेशी भूमि बहराईनमा पसिना बगाएपछि गाउँ फर्किनुभएका भण्डारीले पछिल्लो समय आफ्नै करेसाबारी बनाएर टनेलमा व्यावसायिक गोलभेँडा खेती गरी आकर्षक आम्दानी गर्दै आइरहनुभएको छ । भण्डारीको फर्ममा सिर्जना र पूर्ण जातको गोलभेँडा उत्पादन भैरहेका छन् ।

वैदेशिक रोजगारीको बसाइपछि भण्डारी स्वदेश फर्किएर कृषि पेशामा जोडिनुभएको हो । ७ वर्षअघि सुरु गर्नुभएको व्यावसायिक तरकारी खेतीलाई क्रमशः विस्तार गर्दै उहाँले नौवटा प्लाष्टिक टनेलमा गोलभेँडा उत्पादन गरिरहनुभएको छ । पाँच रोपनी क्षेत्रफलमा फैलिएको उहाँको भण्डारी कृषि तथा पशुपन्छी फर्मका टनेलभित्र सिर्जना र पूर्ण जातका गोलभेँडा लटरम्मै फलेका छन् । यतिबेला उत्पादन भएका गोलभेँडा टिप्ने, काँटछाँट गर्ने र बजार पठाउने काममा उहाँलाई भ्याइनभ्याई छ ।

गोलभेँडासहित तरकारी खेतीको उत्पादनमा लाग्नुभएका भण्डारीलाई श्रीमती लालकुमारी भण्डारीका साथै स–परिवारले राम्रोसँग सघाइरहेका छन् । व्यावसायिक खेती सुरु गर्ने क्रममा तत्कालीन कृषि ज्ञान केन्द्र म्याग्दीबाट प्लास्टिक टनेल निर्माण र सिँचाइका लागि पोखरी बनाउन अनुदान सहयोग पाएपछि भण्डारीलाई खेती विस्तार गर्न सहज भएको थियो । टनेलभित्र गरिने खेतीमा प्रतिकूल मौसम तथा रोग किराको जोखिम कम हुने भएकाले उत्पादन पनि राम्रो भएको उहाँसँग अनुभव छ ।

डडुवामा उत्पादन भएको गोलभेँडा स्थानीय बजारमै खपत हुने गरेको छ भने म्याग्दीको बेनीबजार हुँदै मुस्ताङसम्म पुग्ने गर्दछ । हाल उहाँको फर्ममा उत्पादित गोलभेँडा प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्ममा बिक्री भैरहेको छ । भण्डारीसँगै डडुवा गाउँका १० देखि १५ घरपरिवार व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । गाउँका किसानले उत्पादन गरेका तरकारीले स्थानीय बजारमा स्थान पाउँदै गए पनि बाहिरी जिल्लाबाट आउने तरकारीका कारण आफ्नो उत्पादनले अपेक्षित मूल्य पाउन नसकेको भण्डारीको गुनासो छ ।

किसान भण्डारीले टनेल निर्माण गर्दा एउटालाई ८० देखि ९० हजार रुपैयाँसम्म लगानी गर्नुभएको छ । आधुनिक र व्यवस्थित टनेल निर्माण गरेर आफूले गोलभेँडा खेती गरेको बताउँदै उहाँले आगामी दिनमा पक्की टनेल बनाएर त्यसमा गोलभेँडा खेती विस्तार गर्ने योजना बनाएको जानकारी दिनुभयो । गोलभेँडासँगै उहाँले मौसम अनुसार टनेल तथा खुला जमिनमा भेडे खुर्सानी, काँक्रो, सिमी, साग, मुला, गाँजर, खुर्सानी, काउली, बन्दा र भन्टालगायत तरकारीको खेती समेत गर्दै आउनुभएको छ  । उहाँले फर्ममा बाख्रापालन र मौरीपालन व्यवसाय पनि थप्नुभएको छ ।

चैत र वैशाख महिनामा बिरुवा लगाएपछि अर्को वर्षको फागुनसम्म नै उत्पादन दिने भण्डारीले बताउनुभयो । सिर्जना र पूर्ण जातका गोलभेडा खेती गर्नुभएका उहाँले एउटै बोटबाट करिब १० केजीभन्दा बढी उत्पादन हुन्छ । स्थानीय तह र कृषि विकास कार्यालयले रोग किराको नियन्त्रण सम्बन्धी तालिमको व्यवस्था, कृषि औजार, प्रविधि र उत्पादनको मूल्य निर्धारण गरिदिनुपर्ने उहाँको माग छ । डडुवादेखि पुलाचौर हुँदै बेनी जोड्ने कच्ची सडकमा तरकारी ढुवानी गर्न समस्या भएको, प्राविधिक सहयोगको आवश्यकता रहेको, कृषि मजदुरको अभाव हुने र उत्पादनले उचित मूल्य नपाउने समस्या रहेको उहाँले जानकारी दिनुभयो ।

हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू व्यावसायिक कृषि, पशुपालन, फलफूल र तरकारी खेतीमा प्रतिबद्ध भएर लागेका छन् । गाउँमै बसेर व्यावसायिक खेतीमार्फत आम्दानी र रोजगारी सिर्जना गरिरहेका भण्डारी जस्ता किसानहरुलाई प्रोत्साहनका लागि आवश्यक तालिम, आधुनिक प्रविधि, बजार व्यवस्थापन र अनुदानमा राज्यबाट उचित सहयोग गनुपर्ने देखिन्छ । 

Leave a Comment