पदयात्रा पर्यटनका लागि प्रख्यात मानिने विश्वचर्चित अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत पर्ने म्याग्दीको घोरेपानी, पुनहिललगायत क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको छ । पर्यटकीय सिजन सुरु भएपछि तथा दसैँतिहार, छठपर्वलगायत चाडपर्वको विदामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
बाढीपहिरो र भूक्षयका कारण दसैँअघि सुनसान जस्तै बनेको म्याग्दीको घोरेपानी र पुनहिल क्षेत्रमा अहिले पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोरेपानी र पुनहिल क्षेत्रमा विदा मनाउन तथा घुमफिरका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढेको जनाइएको छ । इलाका प्रहरी कार्यालय घोरेपानीका अनुसार अहिले दैनिक करिब एकसय ५० जना विदेशी पर्यटक घोरेपानी पुग्ने गरेका छन् ।
विदेशीसँगै नेपाली पर्यटकको पनि आगमन बढेको छ । दैनिक करिब दुई सयजना नेपाली पर्यटक घोरेपानी र पुनहिल क्षेत्रमा पुग्ने गरेका छन् । म्याग्दीसहित पर्वत, बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायत देशका विभिन्न जिल्लाबाट पर्यटकहरू घुमफिरका लागि यहाँ आउने गरेका छन् । विदाको सदुपयोग गर्न, साथीभाइसँग घुमफिर गर्न र पर्यटन प्रवद्र्धनका लागि आफूहरू भ्रमणमा आएको पर्यटकहरू बताउँछन् ।

म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित भैरहेको घोरेपानी र पुनहिल क्षेत्र पदयात्रा तथा घुमफिरका लागि नेपाली र विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने गरेको छ । यहाँ चीन, अमेरिका, कोरिया, हङकङ, जर्मनी, बेलायत, अस्ट्रेलिया, मलेसिया, नेदरल्यान्ड, स्पेन, सिङ्गापुर, स्वीट्जरल्यान्ड र रुसलगायत विदेशी मुलुकबाट पर्यटकहरु आउने गरेका छन् । पछिल्लो चार महिनाको अवधिमा करिब ८ हजार जना विदेशी पर्यटकहरु घोरेपानी पुगेको प्रहरीले जनाएको छ । पानी पर्न रोकिएर मौसम सफा भएर खुलेपछि घोरेपानी र पुनहिलमा पर्यटकको आगमन बढेको घोरेपानीका पर्यटन व्यवसायी बलराम पुनले बताउनुभयो ।
समुद्री सतहदेखि २८ सय ७४ मिटरको उचाइमा घोरेपानी र ३२ सय १० मिटरको उचाइमा पुनहिल पर्दछ । सानाठूला गरी २५ वटा होटलहरु सञ्चालनमा रहेको घोरेपानीमा दैनिक १ हजार जना अटाउन सक्ने क्षमता रहेको छ । साँझ घोरेपानी पुगेर बास बसेका पर्यटकहरु बिहान सबेरै पुनहिल पुगेर रमाउँछन् । पुनहिलबाट बिहानको सूर्योदय, साँझको सूर्यास्तसँगै धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, बराहशिखर र माछापुच्छ्रेसहित दर्जनौँ हिमशृङ्खलाहरुको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
घोरेपानी र पुनहिलबाट नजिकै देखिने सेताम्मे हिमाल, लेकाली जडीबुटीले भरिएको वनजङ्गल, तरेली परेका डाँडापाखा, स्थानीयवासीको रहनसहन र अर्गानिक खानाका परिकारले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । कास्कीको नयाँपुल–उल्लेरी हुँदै पदयात्रा गरेर तथा म्याग्दीको बेनी–पोखरेबगर–घार–शिख हुँदै सडकमार्गबाट घोरेपानी र पुनहिल पुग्न सकिन्छ । यसैगरी पर्वतको कोखेडाँडा हुँदै म्याग्दीको महरेडाँडाबाट पनि पुनहिल र घोरेपानी पुगिन्छ । त्यस्तै म्याग्दीको पर्यटकीय क्षेत्र खोप्रालेक–स्वाँत–फुलबारी भएर पनि घोरेपानी जान सकिने स्थानीयको भनाइ छ ।
म्याग्दीको पर्यटकीयस्थल पुनहिलबाट धौलागिरि रेञ्जलाई पृष्ठभूमिमा पारेर सेल्फी लिँदै आन्तरिक पर्यटक ।










