म्याग्दीको सदरमुकाम बेनीस्थित न्यूरोडमा रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बेनी शाखाले बेनी नगरपालिका-५, पुलाचौरस्थित पौलस्त्य माध्यमिक विद्यालयका एक सय विद्यार्थीलाई न्यानो जुत्ता वितरण गरेको छ ।
जाडोयाममा विद्यार्थीलाई सहज हुने तथा अतिरिक्त क्रियाकलाप र खेलकुद गतिविधिमा समेत उपयोगी हुने उद्देश्यले बैंकले ४८ हजार रुपैयाँ बराबरका जुत्ता वितरण गरेको हो ।
मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धक रेशम आचार्य र कर्जा अधिकृत आनन्द पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष रिमा खत्री र प्रधानाध्यापक प्रेम बानियाँलाई जुत्ता हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक आचार्यले वित्तीय कारोबारसँगै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै जुत्ता सहयोग गरिएको उहाँले बताउनुभयो ।
‘हामीले हरेक वर्ष विभिन्न कार्यक्रममार्फत समुदायसँग जोडिने गरेका छौँ । यस विद्यालयका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको आवश्यकताअनुसार सहयोग गरेका हौँ,’ उहाँले भन्नुभयो ।
विद्यालयका प्रधानाध्यापक प्रेम बानियाँले जाडोयाममा न्यानो जुत्ता पाएपछि विद्यार्थी खुसी भएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका तथा दलित समुदायका कतिपय बालबालिकालाई लत्ताकपडा र जुत्ताजस्ता आधारभूत सामग्री जुटाउनसमेत कठिन हुने भएकाले बैंकको सहयोगले विद्यार्थीलाई पठनपाठनमा सहज हुने उहाँले बताउनुभयो ।

विद्यालयलाई सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिँदै अभिभावकले समेत बैंकको सामाजिक कार्यको प्रशंसा गरेका थिए । सोही अवसरमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।
यसैबीच, बैंकले यसअघि जिल्लाका विभिन्न स्थानमा समेत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । रघुगंगा गाउँपालिका–२, राखु भगवतीस्थित स्वास्थ्य चौकीलाई नवजात शिशुको शरीरको तापक्रम सन्तुलित राख्ने बेबी वार्मर, बिरामीका लागि बेड, औषधि तथा उपकरण राख्ने मेडिसिन ट्रली र स्वच्छ खानेपानीका लागि तीन सय मिटर पाइप गरी करिब एक लाख ७० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको थियो ।
त्यस्तै, बेनी नगरपालिका–४, सिंगास्थित धौलागिरि माध्यमिक विद्यालयको बहिरा स्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई वार्षिकोत्सवका अवसरमा ३० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री, खेलकुद तथा आवासीय सामग्री प्रदान गरेको थियो । बैंकले मंगला गाउँपालिका–२, कोत्रबाङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ ।
वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले जिल्लामा विभिन्न सहयोग तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।










