शरीरको वजन बढिरहेको तथा उच्चरक्तचाप र मधुेमह जस्ता रोग छन् र नियन्त्रणमा छैनन् भने त्यसले मिर्गौला बिगार्नसक्ने खतरा देखिएको छ । प्रायः मानिसको आफ्नै गल्तीको कारण मिर्गौला बिग्रने क्रम बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । बिहीबार विश्व मिर्गौला दिवसका अवसरमा उनीहरूले यस्तो बताएका हुन् ।
चिकित्सकका अनुसार आरमदायी जीवनशैली र अस्वस्थ खानाका कारण तौल बढ्नु, शरीरमा कल्स्ट्रोल बढ्नु, उच्च रक्तचाप र मधुमेहका रोगी बर्सेनि बढिरहेका छन् । मधुमेह तथा उच्च रक्तचापको कारणले पछि गएर मिर्गौला फेल हुन्छ । त्यसैगरी नेपालीहरूले भान्छामा नुन तथा चिल्लो पदार्थको बढी प्रयोग गर्ने कारणले पनि पछिल्लो समय मिर्गौला फेल हुँदै गएको छ । पर्याप्त पानी नपिउनाले पनि मिर्गौला फेल हुन्छ ।
पछिल्लो समय कुनै समस्या भयोे कि नजिकको औषधि पसलबाट आफूखुसी पेनकिलर (नदुख्ने औषधि) किनेर खाने पवृत्तिले पनि मिर्गौला बिग्रिँंदै गएको पाएको छ । ‘मुख्य कुरा नदुख्ने औषधि जथाभावी प्रयोग भएको देखिन्छ,’ शिक्षण अस्पताल महारागन्जका मिर्गौला रोग विशेषज्ञ डा. महेश सिग्देलले भने । सिग्देलका अनुसार अहिलेको समयमा मानिसको अस्वस्थ जीवनशैलीले मिर्गौला बिग्रिने दर बढ्दै गएको हो । विशेष गरी आरामदायी जीवनशैलीले बढाएका उच्चरक्तचाप, मोटोपना, मधुमेह, युरिक एसिड जस्ता रोगले मिर्गौला तीब्र रुपमा बिग्रिँदै गएको छ । उच्च क्यालोरी भएका खाना खाने र व्यायम नगर्ने, दैनिक खानामा नुन र तेलको अत्यधिक प्रयोग गर्ने गर्ला उच्च रक्तचाप, मधुमेह जस्ता रोग बढेको र यी रोगहरूले कालान्तरमा मिर्गौलालाई असर गर्ने चिकित्सकाको भनाइ छ ।
नेपालीहरूको औसत आयु बढेर ७० पुगेको छ । यो अवधिमा उच्चरक्तचाप तथा मधुमेह जस्ता रोगहरू बढ्दै जाँदा मिर्गौला पनि बिगारेको देखिन्छ । ‘पहिला उच्च रक्तचाप र मधुमेह भएमा अकालमै मृत्यु हुन्थ्यो, उच्च रक्तचाप र मधुमेहका बिरामी बढी उमेरसम्म बाँच्छन् र यो समूहमा मिर्गौला बिग्रिने दर पनि बढी छ,’ उनले भने । पछिल्लो समयमा तरकारीमा अत्यधिक मात्रामा बिषादी प्रयोग हुँदा पनि मिर्गौला बिगार्नमा सहयोग भइरहेको छ । डा. सिग्देलका अनुसार नेपालमा गलत जीवनशैलीकै कारण प्रति वर्ष औसत ३ हजार जनाको मिर्गौला फेल भइरहेको छ । ती सबै मिर्गौला प्रत्यारोपण गनुपर्ने अवस्थाका छन् ।
चिकित्सकका अनुसार उचाइ अनुसारको तौल कायम राखेमा मधुमेह तथा उच्चरक्तचाप जस्ता रोगहरू लाग्दैनन् र मिर्गौला फेल हुन पाउँदैन । यसको लागि हरेक व्यक्तिले जस्तो कि ५ फिट उचाइ भएको तौल ५० केजी हुनुपर्छ । साढे ५ फिट उचाइ भएमा ५५ केजीभन्दा बढी हुनु हुँदैन । स्वस्थ जीवनको लागि हरेक हप्तामा १ सय ५० मिनेट हिँडडुल गरेकै हुनु पर्ने, दैनिक भोजनमा पर्याप्त मात्रामा सागपात, फलफूल र पानीको पर्याप्त प्रयोग गर्ने, शरीरलाई आवश्यकताभन्दा बढी क्यालोरीयुक्त खाना नखाने जस्ता जीवनशैली अपनाएमा मिर्गौला जोगाउन सकिन्छ । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।
खेमराज गौतम/बागलुङ मानिसले हरेक कुरालाई गहिराइमा पुगेर यसको अर्थ र महत्व बुझ्न सक्यो भने जीवनमा नाम मात्रै होइन, दाम कमाउन पनि कठीन छैन । जीवनमा कलाले रंग मात्र भर्दैन, प्राण पनि थप्छ । बागलुङ नगरपालिका–२ श्रीनगर टोल निवासी सुवासचन्द्र लामिछाने जो जीवन मात्रै बाँचिरहेका छैनन्, उनका सुन्दर कलाहरुमा कालान्तर सम्म जीवन्त बाँचिरहनेछन् । चित्रकला र मूर्तिकलामा अब्बल लामिछाने कलामा व्यावसायिकता समेत अँगाल्ने कम पात्र मध्येमा पर्नुहुन्छ ।
ढुंगाको आकर्षक मूर्ति र शिलालेख लेखनमा साविक पश्चिमाञ्चल क्षेत्रमा लामिछानेको पृथक परिचय छ । उहाँले तयार गरेको मूर्ति नपुगेको नेपालका कमै स्थान भएको बताउनुहुन्छ । उहाँ मात्रै हैन, लामिछानेका सहोदर दाजुभाइ पनि मूर्तिकला व्यवसायमा सक्रिय हुनुहुन्छ । सुवासचन्द्र सानै उमेरमा चित्रकलामा पोख्त हुनुहुन्थ्यो । उहाँ अहिले ४६ वर्षको हुनुभयो । पुख्यौली घर कुस्मा नगरपालिका–१० गहतेपखरा हो ।
त्यही गाउँबाट एसएलसी उत्तिर्ण गर्नुभएका लामिछाने अहिले धौलागिरीमा सफल व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । बागलुङ नगरपालिका २ श्रीनगर टोल, क्याम्पसरोडमा बस्दै र व्यवसाय गर्दै आउनुभएका लामिछाने दाजुभाई मूर्तिकला र शिलालेखको काममा सदैव भ्याई नभ्याई हुन्छ । अहिले आफूलाई सफल व्यवसायी मात्रै होइन, आफ्नो अन्र्तनिहित क्षमता चित्रकलालाई मूर्तिकला सम्म जीवन्त तुल्याउन सकेकोमा खुसी हुनुहुन्छ । व्यवसायीको मात्रै हैन, पुख्यौली चित्रकलामा पोख्त लामिछाने कक्षा २ मा अध्ययन गर्दा धौलागिरी अञ्चलमानै चित्रकलामा प्रथम भएको बताउँनुहुन्छ ।
उहाँ विद्यालयमा अध्ययनरत छँदा धेरै स्थानमा आयोजना गरेको चित्रकला प्रतियोगितामा प्रथम भएको बताउँनु हुन्छ । “सानै उमेरबाट चित्रकलामा बढी जोड थियो, धेरै पटक चित्रकला प्रतियोगितामा भाग लिए, अधिकांशमा प्रथम भए, विद्यालयका गुरुहरुले समेत चित्रकलाबाट आफूहरु प्रभावित बनेको बताउनु हुन्थ्यो” लामिछानेले भन्नुभयो “कुनै बेला यसलाई व्यावसायिक बनिएला भन्ने लागेकै थिएन, धेरैको प्रेरणा, चित्रकलाको ज्ञान र अथक मेहनतका कारण यसलाई निरन्तरता दिन सकेको छु, नयाँ र फरक पेशा भए पनि प्यासनका साथ लागे सफल हुन्छ भन्ने उदाहरण पनि हो ।”
अहिले लामिछानेका चारै भाइ मूर्तिकलामा हुनुमा पनि जेठा सुवासचन्द्रकै मुख्य हात छ । अहिले सुवासचन्द्रका दुई भाइले सुवास ब्रदर मूर्ति उद्योग तथा मार्वल आर्ट सञ्चालनमा ल्याउनुभएको छ भने लेखनाथ लामिछानेको श्रीनगर टोलमै अर्को मुर्ति उद्योग सञ्चालनमा छ । यस्तै, अर्का भाई विपिन लामिछानेले म्याग्दीमा मूर्ति उद्योग सञ्चालनमा ल्याउनुभएको छ ।
“कागजमा कोरेको चित्रलाई कमलो ढुङ्गामा उतार्न मन लाग्यो, सरस्वतीको मूर्ति छिनो र घनको सहायताले बनाए, त्यसपछि ढुङ्गामा समेत मूर्ति बनाउन सकिने रहेछ भन्ने लाग्यो” लामिछानेले स्मरण गर्दै भन्नुभयो “२०४६ साल साउन १३ गतेदेखि ढुङ्गा कुँदेर मूर्ति निर्माण गर्न थालेको हँु, अहिले विद्युतीय औजारले केही सहजता बनाएको छ ।”
तर,त्यतिबेला पनि लामिछानेले मूर्ति बनाउने काम व्यावसायिक बन्ला भन्ने सोच थिएन । उहाँले शुरुमा मूर्तिकलालाई व्यावसायिक बनाउने गण्डकी प्रदेशमै आफू पहिलो भएको समेत बताउनुहुन्छ । उहाँले २०५२ सालबाट व्यावसायिक रुपमा मूर्ति बनाउने काम कुस्मा बजारबाट गर्नुभएको हो । एसएलसी पास गरे पछि व्यावसायिक बन्नुभएका लामिछाने पहिलो पटक पञ्चदेवीको मूर्ति बनाएर बिक्री गर्नुभएको थियो ।
उहाँले घन र फलासीले कुँदेर बनाएको उक्त मूर्तिलाई ५ सयका दरले बिक्री गर्नुभएको थियो । उहाँले हिन्दु धर्मका धेरै भगवानहरुको मूर्ति कुद्न सक्नुहुन्छ । सँगै बौद्धको मूर्ति समेत बनाउँदै आउनुभएका लामिछानेले मुर्तिको माग धान्नै धौ–धौ भएको बताउनुभयो । धौलागिरीका चार जिल्लामा शिला र मूर्ति बिक्री गर्दै आउनुभएको छ भने पोखरा, काठमाण्डौं, चितवन लगायतका स्थानबाट मूर्तिको माग भइरहेको उहाँको भनाई छ ।
देश धर्म निरपेक्षतामा गइसके पछि झनै आफ्नो धर्म, संस्कृति तथा मठमन्दिर निर्माणमा तिब्रता दिइएको उहाँको भनाई छ । “पहिला हाम्रो धर्म संस्कृति हिन्दु हो भन्ने थियो तर अहिले नयाँ बाहिरी धर्म संस्कृति भित्रिए पछि झनै हिन्दुका मूर्तिहरुको माग बढिरहेको, धर्म संस्कृति प्रति चासो देखिएको मैले महुशुस गरेको छु,” उहाँले भन्नुभयो, “मठ मन्दिर बनाउने शिला लेख्ने कार्य निकै बढेको र आफ्ना बाउबाजेले निर्माण गरेको मठमन्दिरमा मूर्ति राख्ने परम्परा समेत बढेको छ ।”
आफूलाई धेरैले भगवान बनाउने मान्छे भन्ने गरेको उहाँको भनाई छ । आफूले केबल ढुंगामा कला भरेको तर त्यस्तो मान्छे नभएको लामिछानेको स्पष्टोक्ति छ । “भगवान ढुङ्गामा हुन्छ, परापूर्वकालदेखि मानिसले ढुङ्गालाई पुज्ने गरेका छन्,” लामिछानेले भन्नुभयो “ढुङ्गा आफैमा देउता हो, पहिचान गर्ने क्षमता फरक होला, मैले ढुङ्गा देख्दा साथ भगवान सम्झन्छु त्यही भगवान ढुङ्गा कुँदेर निकाल्छु, ढुङ्गामा भगवानको बाँस हुन्छ, कालीगड एउटा माध्यम मात्रै हो, मैले ढुङ्गा भित्रको भगवानलाई आकार मात्रै दिएको हो ।”
युवाहरु नेपालमा सम्भावना नभएको भन्दै विदेश गएको प्रति अचम्म मान्दै उहाँले फरक र नयाँ सोचका साथ पेशा व्यवसाय गर्न सके व्यावसायिक रुपमा सफल हुन सक्ने बताउनुभयो । लामिछानेले आफूले प्रत्येक ढुङ्गामा लाख–लाख देख्ने गरेको रोचक अनुभव समेत सुनाउनुभयो ।
उहाँले भगवान बनाउन नसक्ने भगवानको स्वरुपलार्ई बाहिर ल्याउने प्रयास गर्नुनै मूर्तिकारको मुख्य काम भएको बताउनुभयो । पहिला ठूलो शिला पुज्ने गरिन्थ्यो अहिले कालिगडले शिलालाई आकारमा मात्रै ढालेको उहाँको तर्क छ । मूर्ति उद्योगमा प्रायशः शिवलिङ्ग, शिव भगवान, विष्णु, नाग देवता, सरस्वती, देवी, पार्वती र नारी स्वरुपका मूर्ति बनाउने गरेको उहाँले बताउनुभयो ।
मूर्तिकलामा प्रविधिले निकै सहयोग गरेको लामिछाने बताउनुहुन्छ । “मूर्तिकला मेहेनत धेरै लाग्ने काम हो, यो व्यवसायी मात्रै नभएर एउटा कलाकारिता पनि हो” उहाँले भन्नुभयो, “पहिला महिनौ लाग्ने मूर्तिलाई अहिले एक हप्तामै तयार गर्न सकिन्छ, यसमा विद्युतिय औजारको सहयोग ठूलो छ ।” २०६० सालदेखि विद्युतिय औजारको प्रयोग गर्दै आएको उल्लेख गर्दै उहाँले २०६० सालबाटै शिला लेख्ने कार्यको शुरुवात गरेको बताउनुभयो ।
ढुङ्गामा कोरेर भावना, संस्कृति तथा दर्शन निकाल्न सक्ने भन्दै अधिकांश ढुङ्गाले संस्कृति देखाउने बताउनुभयो । अलि कडा र नटुक्रिने ढुङ्गाबाट राम्रो मूर्ति बन्ने र ढुङ्गा खोज्न विभिन्न जिल्ला भौतारिने गरेको उहाँको भनाई छ । एउटै ढुङ्गालाई उद्योग सम्म ल्याउन ५० हजार देखि एक लाख समेत खर्च हुने गरेको उहाँले बताउनुभयो ।
कुनै पनि विषय, क्षेत्रको काममा नयाँ र फरक हिसावले सोच, सोध र खोज गर्न सके युवाहरु विदेश पलायन हुन नपर्ने सुवासका कान्छा भाइ मूर्तिकार सुदिप लामिछानेले बताउनुहुन्छ । उहाँले दाइको मेहेनत र लगाव देखेर आफू पनि मूर्तिकलामा अग्रसर भएको बताउनुभयो । २२ वर्षिय सुदिप ल्याव टेक्निसियन अध्ययन गर्दा गर्दै दाइहरुको कर्म देखेर मूर्तिकलामा लागेको बताउनुहुन्छ । अबका दिनमा पनि आफू मूर्तिकलामै लागिरहने उहाको संकल्प छ ।
यसरी २८ वर्र्षदेखि चित्रकलालाई मूर्तिकलामा रुपान्तरण गर्नुभएका सुवासचन्द्र लामिछाने आफू उक्त व्यवसायबाट निकै सन्तुष्ट बनेको बताउनुभयो । उहाँले मूर्तिकला व्यवसायबाटै केही सम्पति जोडेको बताउनुभयो । “यो धूलो मैलोमा खेल्ने पेशा हो, कतिले आफैलाई आएर साहु जी खोई भन्दा अचम्म लाग्छ” उहाँले पृथक स्मरणीय घटना सुनाउँदै भन्नुभयो, “अहिले कूर्चीमा बसेर खाने जागिर चाहिएको छ, मैले आफू जस्तै मेहेनत गर्ने कामदार समेत पाउन सकेको छैन ।” व्यावसायिक ढंगले सोच्न सके पैसा नेपालमै भएको र युवाहरुलाई स्वदेशमै नयाँ ढंगले पेशा व्यवसाय अघि बढाउन आग्रह गर्नुहुन्छ । Source: aadarshasanchar.com
सामाजिक तथा मावनीय सेवामा सक्रिय लायन्स क्लव अफ बेनी पिस सिटीले बेनी अस्पतालमा औषधी विक्री कक्ष भवन निर्माण गरिदिएको छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामीलाई औषधी खरिदमा सहज हुने गरी आकस्मिक कक्ष, ओपिडी र नियमित विरामीको उपचारमा सहज हुने ठाउँमा भवन बनाउन क्लवले३ लाख ५१ हजार खर्चिएको क्लबका खम थापाले बताउनुभयो।
औषधी विक्री कक्षको बिहिबार गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको छ । यसअगाडी अस्पतालको स्वामित्वमा सञ्चालनमा रहेको औषध्री कक्ष बिरामीलाई अपायक भएकाले क्लवको खर्चमा बनाइएको कक्षले सहज भएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी, प्रहरी नायव उपरिक्षक श्यामकुमार राई, पुर्व अध्यक्ष लोकेश पुनमगर लगायतको उपस्थिती रहेको थियो । भवनको शिलन्यास संस्थापक अध्यक्ष शाक्यले गर्नुभएको थियो ।क्लवले यसअगाडी विपन्नको घर बनाउने, बृहत्त स्वास्थ्य शिविर, कोरोना भाइरस बिरुद्धको अभियान, गरिब विपन्नको उपचार र शिक्षा दिक्षामा समेत सहयोग गरेको छ।
म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुलको पेट्रोल पम्प नजिक कालिगण्डकी नदीमा जमिनमा एकपटक बसिसकेको ढुङ्गा एक्साभेटर प्रयोग गरेर टुक्राटुक्रा बनाइदै । पोखराको रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले तटबन्धनका लागि अन्यत्रबाट ढुङ्गा ल्याएर काम गर्नुपर्नेमा ठेकेदारलाई नदीको ढुङ्गा निकाल्न अनुमति दिएको छ भने स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय मौन बसेका छन् ।
विगतमा नदीबाट ढुङ्गा निकाल्दा म्याग्दी उद्योग वाणिज्य संघदेखि म्याग्दी जेसीजसम्म नदी कटान गरेसँगै अहिले दोभिल्लाबाट ढुङ्गा ल्याएर कटान रोक्ने काम भइरहेको छ । नदीभित्र जमेको ढुङ्गाले बर्खाको समयमा पानीको बाहब रोक्दा जोखिम कम हुने प्राविधिक पक्षको भनाई छ ।
महाशिवरात्रीको अवसर पारेर म्याग्दीका एक ८१ वर्षिय साहित्यकारका दुई वटा कृति एकैदिन विमोचन गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका भवेन्द्रविक्रम शाहले लेख्नुभएको ‘मेरो वंश परिचय र आत्मकथा’ तथा ‘संक्षिप्त केही पौराणिक नाटक’ पुस्तकको बगरफाँट स्थिति शिवालय मन्दिरमा जेष्ठनागरिकद्धय ८५ वर्षि खड्गवहादुर थापा र ८४ वर्षिय विष्णुवम मल्लले संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।
लेखक शाहका तीनभाइ छोराहरु चिरञ्जीवी शाह,जीवन प्रदीप शाह र सुधिर शाह प्रकाशक रहेको १९९ पृष्ठको ‘मेरो वंश परिचय र आत्मकथा’ नामक पुस्तकमा शाह वंशको परिचयका साथै लेखक शाहले आफ्नो जीवनमा भोगेका,देखेका र अनुभूति गरेका सामाजिक,राजनीतिक,आर्थिक,सांस्कृतिक र साहित्यिक विषयहरुमा अति रोचक र सरल रुपमा व्याख्या गर्नुभएको छ । पुस्तकमा ५० वटा शीर्षकका विभिन्न पाठहरु समेटिएका छन् ।
त्यसैगरी छोरी सुधा शाह खाँड प्रकाशक रहनुभएको ‘संक्षिप्त पौराणिक नाटक’ नामक पुस्तकमा पाँचवटा पौराणिक नाटकहरु संग्रहित छन् । पौराणिक कथालाई विषयवस्तु बनाएर वर्तमान समयको विम्व उतारिएका ती नाटकहरुमा सामाजिक न्याय र नैतिक मूल्य मान्यताहरुलाई प्राथमिकतामा राखिएको छ ।
विमोचन कार्यक्रममा बोल्दै पत्रकार धु्रबसागर शर्माले साहित्यकार शाह यस क्षेत्रका जीउँदो इतिहाँस भएकोले उहाँका अनुभव र विचारहरुले नयाँपुस्तालाई ऊर्जा र प्रेरणा दिने बताउनुभयो ।
त्यसैगरी नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मीनवहादुर कार्कीले साहित्यकार शाहबाट समाजले धेरै कुरा सिक्नु पर्ने बताउँदै ८१ वर्षको बुढ्यौली उमेरमा पनि यति गहकिला कृतिहरु दिएर शाहले ठूलो गुण लगाउनुभएको बताउनुभयो । कार्यक्रममा शिवालय मन्दिरमा आएका भक्तजन,स्थानीय बुद्धिजीवि र शाहका परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।
एकपटक हुने सामान्य चेकजाँचले पनि एकजना आमाको अकालमा मृत्यु हुनबाट जोगिने भएकाले स्त्रीरोगको परीक्षणलाई जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताएकी छन् । गण्डकी प्रदेश सरकारको समन्वय एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीले आयोजना गरेको स्त्री रोगसम्बन्धी शिविरको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री पुनले भनिन्, ‘आमा बचाउनका लागि हामीले कार्यक्रम गर्नुपर्छ, किनभने आमा नहुँदा घर परिवार भताभुङ्ग हुन्छन्, बालबालिका टुहुरा हुन्छन् । त्यसैले हाम्रो सानो प्रयासले एकजना आमालाई जोगाउँदै गर्दा सिङ्गो परिवार जोगिन्छ । हुन त क्यान्सर लागेका बिरामीलाई राज्यले एकलाख दिन्छ तर पनि क्यान्सर लागेर मृत्यु हुनुभन्दा पनि स्वस्थ रहन आवश्यक रहेको मन्त्री पुनले बताइन् ।
महिलाहरुले आफूलाई परेका समस्याका बारेमा भन्नका लागि लाज लाग्ने भन्ने डरकै कारण पाठेघर तथा पाठेघरको मुखको क्यान्सर हुँदा आर्थिक अनि पारिवारीक पनि समस्या हुने भएकाले सुरुमै उपचार र त्यसको निदानका लागि प्रयास गर्नुपर्ने मन्त्री पुनको घारणा थियो । बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलले नेपालमा पाठेघरमा मुखको क्यान्सर निकै ठूलो समस्याको रुपमा रहेकोले यस्ता शिविरहरुले त्यसलाई कम गर्दै लैजाने बताए ।
बेनी अस्पताल परिसरमा आयोजित शिविरमा म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र जिफन्टका केन्द्रीय सदस्य बलादेवी राईले मन्तव्य राखेका थिए ।कुल २ सय ६५ जनाले पाठेघरमा मुखको क्यान्सरको परीक्षण गराएको निःशुल्क शिविरमा ८ जनाले थप उपचार गर्नुपर्ने देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।
नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बिहिबारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको छ । देशभरबाट आएका मगर विद्यार्थीहरुको राष्ट्रिय भेलामा सहभागी विद्यार्थीले राज्यका हरेक निकायमा मगर समुदायको संख्या र पहुँचका लागि निरन्तर खवरदारी गर्नुपर्ने बताएका थिए ।
भेलाको गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गदैं हरेक राजनीतिक आन्दोलनमा मगर समुदायको योगदान उच्च रहेको बताईन् । मगर विद्यार्थी संघकी पूर्व केन्द्रिय अध्यक्ष एवम् गलकोट नगरपालिककी उपमेयर रेनुका काउचा मगरले आफ्नो अधिकारका लागि मगर समुदायले निरन्तर खवरदारी गर्ने बताईन् ।
राष्ट्रिय मगर संघका सल्लाहकार गौबहादुर आले, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा, नेकपा माओवादी केन्द्रका नेता शेरबहादुर केसी, जिसस प्रमुख देबेन्द्रबहादुर केसी, मगर अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधिले राज्यको हरेक क्षेत्रमा मगर समुदायको योगदान रहेको बताएका थिए ।
भेला उद्घाटन अगाडी सदरमुकाम बेनीमा बृहत ¥यालीमा मगर भेषभुषा पदर्शनी संगै मौलिक पुख्र्यौली नृत्य समेत देखाईएको छ ।¥यालीमा सहभागीहरुले मगर एकता र मगर समुदायको हक, हित र अधिकारको पक्षमा नारा समेत लगाएका थिए ।
भेलामा मातृभाषामा पठनपाठन, निशूल्क उच्च शिक्षाको व्यवहारिक कार्यान्वयन, स्वायत्त विश्व विद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार र रोजगारमुलक शिक्षा, लोक सेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने लगायतका विषयमा छलफल गरिने मगर विद्यार्थी संघका अध्यक्ष विष्णु थापा मगरले बताए ।
भेलामा देशभरबाट चारसय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ । भेलामा प्रदेश समितिका २८ जना, जिल्ला समितिबाट १ सय ३२ जना, विश्वविद्यालयको तर्फबाट १४ जना प्रतिनिधि संगै स्वयमसेवकहरुको समेत उपस्थिती छ । ¥यालीमा सहभागीहरुलाई बेनीका विभिन्न सामाजिक संघ संस्थाहरुले चोक चोकमा स्वागत गरेका थिए ।
म्याग्दीको सदरमु्काम बेनीमा आयोजित नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेलामा मगर समुदायको भेषभुषा सहित काँधमा हलो र जुवा लिएर निस्किएका बालक । म्याग्दीको मुख्य पहिचान भनेकै मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाच, थाली नाच सहित भेषभुषालाई लिने गरिन्छ । तस्वीर बेनीअनलाइन
म्याग्दीको सदरमु्काम बेनीमा आयोजित नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेलामा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिलाई स्वागत गदैं । भेलामा प्रदेश समितिका २८ जना, जिल्ला समितिबाट १ सय ३२ जना, विश्वविद्यालयको तर्फबाट १४ जना प्रतिनिधि संगै स्वयमसेवकहरुको समेत उपस्थिती छ । बेनीमा विभिन्न सामाजिक संघ संस्थाहरुले चोक चोकमा स्वागत गरिएको थियो । तस्वीर बेनीअनलाइन
महाशिवरात्रि पर्वका अवसरमा म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरधाम मन्दिरमा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ । कोरोनाको जोखिमले करिब एकबर्षसम्म सुनसान रहेको मन्दिरमा भक्तनहरूको घुइँचो लागेको छ ।
जिल्लाभित्रका साथै पर्वत, बागलुङ्ग लगाएत देशका विभिन्न जिल्लाबाट समेत भक्तजनहरु दर्शनका लागि आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताए । उनका अनुसार विहानको तुलनामा दिउँसो भक्तजनको भिड देखिएको छ । मन्दिरको बाहिरी तथा मुख्य मन्दिरसम्म लाइनमा बसेर पूजाआजा गर्ने ब्यवस्था मिलाइएको छ ।
कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिवरात्रीको दिनलाई पुराणमा उल्लेख गरिएको छ । शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ ।
भक्तजनले आजको दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गर्छन् । यसैबीच सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा रहेको शिवलाय सहित जिल्लाभरका मन्दिरमा समेत भक्तजनको भिड लागेको छ। कोरोना महामारीका कारण यसपालि मन्दिर प्रवेशमा मास्क अनिवार्य गरिएको छ ।
प्रहरीले प्रवेशद्धारमै मास्क सहित आवश्यक सतर्कताका लागि अनुरोध गरेको छ । गलेश्वर बजारभित्र सवारीसाधन प्रवेशमा रोक लगाइएको छ भने मन्दिरको माथिल्लो क्षेत्रमा समेत सडक विस्तारको काम भइरहेकाले शसस्त्र प्रहरी गरी वरपरका क्षेत्रसम्म सवारी साधन र सर्वसाधारणलाई बस्न कडाइ गरिएको छ ।