Saturday, June 28, 2025
25.5 C
Beni
25.5 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 1150

मध्यरातमा कुकुर रुँदा जोगियो घिमिरे दम्पत्तीको ज्यान

बेनी नगरपालिका-२,आम्बोटका लालबहादुर र लालकुमारी घिमिरे मस्त निन्द्रामा थिए । महाशिवरात्रीको दिनभरी पुजाआजा र घरायसी काममा ब्यस्त भएकाले लालबहादुरका दम्पत्ती थकित थिए ।अन्य दिनको तुलनामा छिट्टै खानपिन गरी सुतेका घिमिरे दम्पत्ती राती करिब साढे १० बजे कुकुर लगातार कुकुर रुन थालेपछि मिठो निन्द्राबाट झसंङ्ग आत्तिँदै ब्युझिँए।

लामो समय सम्म पनि रुवाई नरोकिएपछि अनिष्टको संकेत हुन्छ भन्दै ओछ्यानबाट बाहिर निस्किन खोज्दा घरमा आगो लागेको थियो । कुकुर नजिकै आगोको मुस्लो आएको देखेपछि घिमिरे दम्पत्ती आत्तिदै बाहिर निस्किए । पशुचौपायाको गोठ हुदैं आगाको मुस्लो घरतर्फ आइरहेको अवस्थामा कुकुरले संकेत दिएपछि घिमिरे दम्पत्तीको ज्यान जोगिएको हो ।

‘कुकुरले हाम्रो ज्यान जोगायो, केही मिनेट मात्रै ढिलो भएको भए खरानी परिन्थ्यो’ लालबहादुर घिमिरेले भने । उनले विद्युत सर्ट र घरायसी असावधानीबाट नभई कसैले महाशिवरात्रीमा आवतजावत गर्दा आगो लगाइदिएको हुनसक्ने बताए । कुकुर रोएर अनिष्ट नभई कुनै कारणले रोएको हुन्छ भन्ने प्रमाणित भएको समेत उनले बताए ।

कुकुरको संकेतले बाहिर निस्किएपछि लालबहादुरले हल्ला–खल्ला गरेलगत्तै हरिलाल घिमिरे सहित छिमेकीले आगो निभाउन सफल भए । बागलुङमा सफल पोलिक्लिनिक सञ्चालन गरिरहेका छोरा दिपेन्द्र घिमिरेलाई तत्कालै फोन गरेपछि उनले म्याग्दी प्रहरीलाई घटनाका बारेमा जानकारी गराए । लालकुमारी महाशिवरात्री मनाउन दुई दिन अगाडी मात्रै बागलुङबाट घर गएकी थिईन् । आगोले गोठ र आसपामा क्षती पुगेपनि कुकुरको कारण आमाबुबाको ज्यान बचेको भन्दै पशुचौपायाप्रतिको मायाँ ह्वात्तै बढेको बताए । उनले आगोलागी भएको स्थानमा पातहरू संकलन गरी लगाइएको बताए ।

यता घरमा एक्कासी आगोलागी भएको खवर आएपछि प्रहरी निरिक्षक रविन्द्र श्रेष्ठको नेतृत्वमा घटनास्थलमा पुगेर अनुसन्धान गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । ‘घटनाको अनुसन्धान भइरहेको छ,‘पीडित पक्षले निवेदन समेत दिनुभएको छ’ प्रनाउ राईले भने । आगोबाट घरधनीलाई जोगाउन सफल भएको भन्दै कुकुरको प्रशंसा भैरहेकोछ ।
आगोलागीबाट नष्ट भएको घर नजिकैको गोठ र कुकुर । तस्वीर सौजन्य दिपेन्द्र घिमिरे

एमालेको बराङ्जाबाट सुरू गर्यो वडास्तरीय अगुवा कार्यकर्ता भेला

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा शनिबार मंगला गाउँपालिका–३ र ४ बराङ्जामा वडास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

सर्वोच्च अदालतले यसअघि एमाले र माओवादीबीच भएको एकतालाई भङ्ग गरी दुवैलाई व्युँताइदिएपछि पहिलो कार्यक्रम एमाले म्याग्दीले बराङ्जामा गरेको हो ।  अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कार्यालय सदस्य नवराज शर्माले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले भएको बताए ।

उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देश विकास र जनताका लागि जनमुखी काम गरिरहेको बताउँदै भारतले मिचेको भू–भाग समेटेर नयाँ नक्सा जारी गर्ने, विप्लपसँग वार्ता गरी शान्तिको बाटोमा ल्याउने र कोभिड नियन्त्रणमा उल्लेख्य काम गरेको बताएका छन् ।

एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले देश विकास र नेपाली जनताको जनजीविकाको सवालमा काम गर्ने केपी ओली नेतृत्वको सरकार भएको बताउँदै नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले रहेको ठोकुवा गरे । उनले देश विकास र समृद्धिका लागि एमालेमा लाग्नुको विकल्प नभएको स्पष्ट पारेका छन् ।

भेलामा एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख सुरत केसी, सचिवालय सदस्य प्रमोद श्रेष्ठ, युवा संघका केन्द्रीय उपाध्यक्ष सन्तोष रावल, भुमि आयोगका जिल्ला सदस्य पुष्कर विक, एमाले मंगला गाउँपालिका अध्यक्ष प्रेमप्रसाद रेग्मी र मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले मन्तव्य राखेका थिए ।

भेला नेकपा एमाले मंगला–३, बराङ्जा वडा कमिटीका अध्यक्ष कुलबहादुर थापाको अध्यक्षता, वडा अध्यक्ष कविन्द्र रोकाको स्वागत र मंगला–४, बराङ्जाका वडा कमिटी अध्यक्ष कलाधर कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

बेनी सामुदायिकमा शैक्षिक भ्रमण गर्नेको ओइरो

बेनी सामुदायिक माविमा शनिबार तनहुँ दमौलीस्थित सत्यवती माविको टोलीले अवलोकन गरेको छ । जिल्लामा रहेका निजी विद्यालयहरूसँग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको विद्यालयबाट राम्रा अभ्यास सिको गर्ने उद्देश्यले आएको टोलीले विब्यस, अभिभावकको नियमित अनुगमन, शिक्षकको सामुहिक सहकार्य,प्रयाप्त भौतिक पूर्वाधार, लोभलाग्दो शैक्षिक प्रगति, विद्यार्थीमैत्री संरचना लगाएत लोभलाग्दो प्रगति देखेर दंग परे ।

सत्यवतीका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलको नेतृत्वमा आएको ६२ जनाको शिक्षकलाई विद्यालयमा स्वागतसँगै शैक्षिक अभ्यास र शिक्षकको सामुहिक सहकार्यको नमुना समेत प्रस्तुत गरिएको थियो । अवलोकन भ्रमणको क्रममा विद्यालयमा अभिभावक र शिक्षकको नियमित सहकार्यले शैक्षिक नतिजामा सुधारका अभ्यास उत्कृष्ट लागेको प्रअ पौडेलले बताए ।

‘शिक्षकको मात्रै प्रयासले विद्यालयको प्रगति हुदैन्,‘अभिभावकको निगरानीले पनि ठूलो भूमिका खेल्छ’ प्रअ पौडेलले भने । उनले सानो ठाउँ भएपनि पूर्वाधार सहित विद्यार्थीको आर्कषण देखेको बताए । उनले आफ्नो विद्यालयका राम्रा अभ्यासलाई समेत जानकारी गराएका थिए भने नयाँ अभ्यासलाई विद्यालयमा लागु गर्ने बताए ।

सत्यवती मावि समेत देशभरका उत्कृष्ट नमुना सामुदायिक विद्यालय भित्र पर्छ । भ्रमणको क्रममा बेनी सामुदायिका प्रअ दिपक श्रेष्ठले सामुदायिक विद्यालयबिचको सहकार्यलाई बलियो बनाउनुपर्नेे बताए । उनले छिमेकी जिल्लाबाट समेत विद्यार्थी आउने भएकाले यातायात सहित अन्य सुविधाहरू थप्ने तयारीमा रहेको बताए ।

उनले विद्यार्थीको चाप अनुसारको पुर्वाधार नहुदाँ प्रवेश परीक्षा लिनुपर्ने बाध्यता रहेको बताए । नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि हालसम्म देशभरबाट १ सय २३ विद्यालयले भ्रमण गरेका छन् । सर्वोत्कृष्ट भएपछि बालमन्दिर मावि नदीपुर पोखराको टोली पहिलो भ्रमणमा आएको थियो ।

२०११ सालबाट अस्थाई रुपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो ।२०६३ साल देखी माध्यामिक तहको परिक्षामा सहभागिता जनाएको विद्यालयले हरेक बर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

जिल्लामा शैक्षिक भ्रमणमा आउनेलाई जिल्लाका पर्यटकीयस्थलका बारेमा समेत जानकारी गराउने गरिएको छ । यता भ्रमणमा आउने अधिकांस विद्यालयले एक रात बेनीमा विताउने भएकाले होटल ब्यवसायी समेत उत्साहित हुने गरेका छन् । शैक्षिक भ्रमणले आर्थिक कारोबारमा समेत सघाइरहेको ब्यवसायीको भनाई छ ।

मानवीय दोहनले कालीगण्डकी नदी सङ्कटमा

आध्यात्मिक र वातावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालीगण्डकी नदी मानवीय दोहनका कारण सङ्कटमा पर्दै जान थालेको छ । हिन्दूधर्मावलम्बीले भगवान् विष्णुको अंश मानेर पुज्ने शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीमा लामो समयदेखि अवैधरुपमा दोहन हुँदै आए पनि सम्बन्धित निकाय भने मौन छन् ।

अवैधरुपमा नदीको उत्खनन गरी नदीजन्य वस्तुको चोरी निकासी हुने क्रम बढ्दै गएपछि कालीगण्डकीबाट बहुमूल्य शिला शालिग्राम लोप हुँदै गएको छ भने कालीगण्डकीको अस्तित्वसमेत सङ्कटमा परेको छ । नदीजन्य पदार्थको अवैध उत्खननले कालीगण्डकी सभ्यतामै समस्या र सङ्कट पर्न थालेको र बहुमूल्य शिला शालिग्रामसमेत लोप हुँदै गएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष पं भीमनाथ पौडेलले बताउनुभयो ।

प्रदेश सरकारले नदीजन्य वस्तु निकाल्नका लागि मापदण्ड बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । व्यवसायीले आफू खुशी ढुङ्गा, गिट्टी बालुवा निकाली रहेका छन् । हेभी इक्वीपमेन्ट (डोजर, स्काभेटर) प्रयोग गरेर नदीमा वर्षौंदेखि रहेका ठूला ढुङ्गा निकाल्दा नदीले धार परिवर्तन गरी नदी किनारका बस्तीमा जोखिम बढेको छ । यसले गर्दा सबैभन्दा बढी असर म्याग्दीको सदरमुकाम बेनी र कालीगण्डकी करिडोरअन्तर्गतको बेनी जोमसोम सडकलाई परेको छ ।

नदीजन्य पदार्थ उत्खनन तथा निकासीका लागि सरकारले मापदण्ड बनाएर सोही अनुसार निर्देशित गरे पनि व्यवसायीले दिउँसोको समयमै ठूला मेशिन लगाएर दोहन गरिरहेका पर्वत बगरका इन्द्रबहादुर बरुवालले बताउनुभयो ।

जमिनमा एकपटक बसिसकेको ढुङ्गालाई बगिरहेको नदीको बीचबाट निकालेर भारी मेशिन (स्काभेटर)को प्रयोग गरी छियाछिया पारिएको छ । नदी कटान तीव्ररुपमा भइरहेको अवस्थामा नदी उत्खनन र नदीजन्य वस्तुको चोरी निकासी गर्न सजिलो हुने गरी स्काभेटर र टिपर पु¥याउन सडकसमेत बनाइएको छ । कुनै निकायसँग सम्झौता पनि नगरी र नदी उत्खननको मापदण्डविपरीत नदीको दोहन भइरहेको छ भने सदरमुकामको कालीपुल क्षेत्र थप जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् ।

उच्च जोखिमयुक्त सदरमुकामको सूचीमा राखिएको म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा नदी नियन्त्रणको बहानामा नदीको तीव्र बेगलाई रोक्न सक्ने ढुङ्गा निकाल्दासमेत जनप्रतिनिधि र सरोकारवाला निकाय मौन बसेपछि हरेक वर्ष नदीको अस्तित्व सङ्कटमा पर्नुको साथै सौन्दर्यसमेत गुम्दै गएको छ ।

व्यवसायीले रातको समयमा समेत नदी उत्खनन गर्दै आएका छन् । म्याग्दी, बागलुङ र पर्वत जिल्लाको विभिन्न स्थानमा अहिले दोहन भइरहेको छ । अवैधरुपमा भएको दोहनले नदीको धार परिवर्तन गरेर बस्तीतिर जाने सम्भावना देखिन्छ । मापदण्ड मिचेर नदी दोहन गर्दा म्यागदीको धार्मिकस्थल गलेश्वरधामदेखि सदरमुकाम बेनीबजार र बागलुङकोे माझी बस्ती, मालढुङ्गा तथा कालाखोला बगर क्षेत्रका घरसमेत उच्च जोखिममा पर्न थालेका छन् ।

जिल्लामै मृगौला डायलाइसीस सेवाले बिरामी लाभान्वित

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा म्याग्दीको बेनी अस्पतालमै निःशुल्क मृगौलाको डायलाइसीस सेवाले बिरामीलाई सहज भएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा गएको साउन महिनादेखि म्याग्दीमा मृगौला डायलाइसीस सेवा सञ्चालनपछि सर्वसाधारण लाभान्वित भएका हुन् । सामाजिक विकास मन्त्रालयको पहलमा प्रदेश सरकारको सहयोगबाट म्याग्दीको बेनी अस्पतालमा निःशुल्क मृगौलाको डायलाइसीस गर्ने सेवाबाट मृगौलापीडित बिरामीलाई राहत मिलेको छ ।

जिल्लामै मृगौला डायलाइसीसको उपचार सेवा पाउँदा गाउँमै रोग लुकाएर बस्न बाध्य बिरामी तथा जिल्ला बाहिर उपचार गर्न जानुपर्ने बाध्यताको अन्त्य भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले चारवटा डायलाइसीस मेसिन उपलब्ध गराएको छ भने प्रवासी म्याग्देलीहरुले पनि मृगौला डायलाइसीस गर्न दुईवटा मेसिन सहयोग गरेका छन् ।

अहिले मृगौला डायलाइसीसका लागि चारवटा मेसिन सञ्चालन गरिएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र अस्पतालको समितिमार्फत झण्डै एक करोड रुपैयाँको लागतमा जिल्लामै निःशुल्क डायलाइसीस सेवा सञ्चालन गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

म्याग्दी जिल्लाका अधिकांश नागरिकहरुमा मृगौलाको समस्या देखिएपछि सामाजिक विकास मन्त्रालयको पहलमा जिल्लामै मृगौला डायलाइसीस सेवाको सुरुवात गरिएको जनाइएको छ । अहिले बेनी अस्पतालमा ९ जनाले मृगौला डायलाइसीसको नियमित सेवा लिइरहेका छन्भने ५० जना बिरामीहरु सेवा लिन पालो पर्खिरहेका छन् ।

यसैगरी ३० जना मृगौलापीडित बिरामीहरु सम्पर्कमा आएको बेनी अस्पतालले जनाएको छ । मृगौला डायलाइसीस सेवा सञ्चालनपछि हालसम्म १२ जनाले सेवा लिइसकेका छन् ।

विद्युत नभएको अवस्थामा मृगौला डायलाइसीस गर्नका लागि १० केभिए क्षमताको जेनेरेटर जडान गरी तयारी अवस्थामा राखिएको छ । मृगौलापीडित बिरामीहरुलाई डायलाइसीस सेवा प्रदान गर्न २ जना डाक्टरसहित तालिम प्राप्त ६ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।

अहिले नियमित ३ जना बिरामीहरुको मृगौला डायलाइसीस भैरहेको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर अमृत अधिकारीले जानकारी दिनुभयो । बेनी अस्पतालमा मृगौलाको डायलाइसीस सेवा सुरु भएसँगै म्याग्दीसहित मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणहरु लाभान्वित भएका छन् ।

यसअघि डायलाइसीस सेवाका लागि बागलु«ङ, पोखरा, काठमाडौं र चितवन जानुपर्ने बाध्यता थियो । जिल्लामै डायलाइसीसको सेवा लिन पाउँदा जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनुका साथै समय र पैसाको समेत बचत भएको बिरामीहरु बताउँछन् ।

डायलाइसीस सेवासहित प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट बेनी अस्पतालमा अक्सिजन प्लान्ट तथा आईसीयु स्थापना र सञ्चालन, फोहोर व्यवस्थापन, सवारीसाधन खरिद, स्टोर भवन लगायतमा सहयोग भएको छ । २०७२ सालमा १५ शैयाबाट ५० शैया क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालमा हाल ५० शैयाको भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

दाउरा काट्ने क्रममा घाईते हिँदीकी नरमतीको उपचारमा आर्थिक अभाव

दाउरा काट्ने क्रममा गम्भीर घाइते भएकी म्याग्दीको मंगला गाउँपालिका-२, हिँदीकी एक महिलाको उपचारमा आर्थिक समस्या भएको छ । घरमा दाउरा काट्ने क्रममा देब्रे खुट्टामा गम्भीर चोट लागेर हाल काठमाण्डौको नेशनल ट्रमा सेन्टरमा उपचारर्थ ४९ बर्षिय नरमती पूर्जालाई थप उपचार र औषधी खरिदका लागि आर्थिक समस्या भएको हो ।

गाउँकै विपन्न परिवारकी पूर्जाको खुट्टाको शल्यक्रिया गरिएपनि लामो समयसम्म अस्पतालमै बस्नुपर्ने र नियमित चेकजाँचका लागि सहयोग आवश्यक रहेको बिरामीका आफन्त देबी पुर्जाले बताईन् । उनले हाल बिरामीको स्थानीयको सहयोगमा उपचार भइरहेको बताईन्। उनको उपचारमा अहिलेसम्म ऋण गरेर एक खर्च भएको छ ।

८ जनाको परिवार रहेकोमा नियमित आम्दानी, खेतीपाती समेत प्रसस्त नभएकाले सहयोग बिना उपचार सम्भव नभएको भन्दै स्थानीयले समेत सहयोगको अपिल गरेका छन् । पूर्जाको उपचारमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको छ ।

कोषका सहसचिव सन्दिप खत्रीको संयोजकत्वमा समिति बनाइएको छ भने उक्त अभियानमा कोषका पदाधिकारीले ब्यक्तिगत रुपमा २० हजार संकलन गरेका छन् भने संस्थाले अन्तिममा सहयोग उपलब्ध गराउने कोषका कार्यालय प्रमुख डकबहादुर रोकाले बताए ।

अन्नपूर्ण कोभिड अस्पताल प्रमुख डा. पन्थीलाई ‘सशक्त नारी सम्मान’

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर लक्ष्मी पन्थी ‘सशक्त नारी सम्मान’बाट पुरस्कृत हुनुभएको छ । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा उहाँलाई बुधबार मेन्टर एण्ड मस्कट इण्डियन फिल्म फेडेरेशन (एमएमआईएफएफ)ले भारतको राजधानी नयाँदिल्लीमा सम्मान गरेको हो ।

कोभिड अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. पन्थीलाई सामाजिक डाक्टरको रुपमा छनोट गरी सम्मान गरिएको एमएमआईएफएफले जनाएको छ । ‘यु क्यान सेभ फाइप लाइभ्स अर्थात् तपाइँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ’ भन्ने अभियानमार्फत मानव सेवा गरेकोमा उहाँलाई सम्मान गरिएको हो ।

अभियानबाट दुर्गम तथा विकट क्षेत्रका सर्वसाधारण नागरिकहरुको स्वास्थ्य सुधारमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी अन्तर्राष्ट्रिय नारी दिवस–२०२१ को अवसरमा सशक्त नारी सम्मानबाट सम्मान गरिएको डा. पन्थीले बताउनुभयो ।

डा. पन्थीले पुरस्कारदाताहरुबीच पुरस्कार पाउने अवसर दोस्रोपटक भएको बताउँदै पुरस्कारसहित आफ्नो सामाजिक कार्यका लागि ठूलो सम्मान देखाउनुभएकोमा सम्मान गर्ने संस्थालाई धन्यवाद दिनुभएको छ ।

उहाँले सम्मानबाट समाज सेवाप्रतिको भावनालाई जीवित राख्ने भन्दै आगामी दिनमा थप सेवाहरु दिन प्रोत्साहन मिलेको अनुभव सुनाउनुभयो । आफू पुरस्कृत हुन पाएकोमा गौरवान्वित भएको बताउँदै डा. पन्थीले आफूलाई भविष्यमा थप जिम्मेवार र सशक्त बनाउँदै लैजाने पनि बताउनुभएको छ ।

डा.पन्थीले ग्रामीण भेगका नागरिकको स्वास्थ्यमा सुधार ल्याउन जनचेतनामूलक कार्यक्रमहरु गर्दै आउनुभएको छ भने दुर्गममै बसेर बिरामीको उपचार गरिरहनुभएको छ ।

उहाँले कोभिड–१९ संक्रमणको रोकथाम तथा न्युनीकरणसहित अन्नपूर्णमा बृहत तथा निःशुल्क स्वास्थ्य शिविर, तपाइँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ अभियान सञ्चालन, संक्रमित तथा बिरामीको घर भेटघाट र उपचार, विद्यालय तहमा स्वास्थ्य शिक्षा जस्ता जनस्वास्थ्यका अभियानहरु सञ्चालन गर्दै आउनुभएको छ ।

म्याग्दीका नहकुल सुबेदी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशमा म्याग्दीका नहकुल सुवेदी सिफारिस हुनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका सुवेदीलाई न्याय परिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । उच्च अदालत सुर्खेतमा कार्यरत सुबेदी न्यायालयको क्षेत्रमा सबैभन्दा माथिल्लो तहमा पुग्ने एक मात्रै म्याग्देली हुनुन्छ ।

यस अगाडी न्याय परिषद्का सचिब, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारको समेत जिम्मेबारी सम्हाल्नुभएको थियो । सुवेदीले सर्वोच्च अदालभित्र सह–रजिष्टारका रुपमा समेत लामो समय काम गर्नुभएको थियो । यसैबीच जिल्ला अदालत म्याग्दीमा न्यायाधीश माधवेन्द्र रेग्मीलाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ ।

कांग्रेस म्याग्दीका पूर्व सभापति स्वर्गीय खड्काको अस्तु कालिगण्डकीमा सेलाइयो

नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको अस्तु शुक्रबार कालिगण्डकी नदीमा सेलाइएको छ । पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सभापति खमबहादुर गर्बुजा, संविधानसभाका सदस्य रेशमबहादुर बानियाँ सहित जिल्लाका नेता तथा कार्यकर्ताका साथै छिमेकी र आफन्तको समेत उपस्थितिमा कालिगण्डकी नदीमा स्वर्गीय खड्काको अस्तु सेलाइएको हो ।

बेनी नगरपालिका-८ संगमचोक निवासी खड्काको ८० वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा मंगलवार विहान निधन भएको थियो । खड्काको मंगलबार नै काठमाडौं स्थित पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको थियो । अकस्मात बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौ लगिएको थियो।

खड्कालाई मुटु सम्बन्धी समस्या थियो। यसैबीच स्वर्गीय खड्काको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउदै कार्यालय बन्द गरिएको थियो भने आगामी आइतबार पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितीमा बेनीमा श्रद्धाञ्जलिसभाको आयोजनाको कार्यक्रम तय गरिएको छ । स्पष्ट बक्ता, अध्ययनशिल र सरल स्वभावका खड्का स्वाभीमानी र निष्ठावान नेताको रुपमा म्याग्दीमा चिनिन्छन्।

 

बेनी अस्पतालमा पाइपलाइनबाट बिरामीको बेडमै अक्सिजन

बेनी अस्पतालमा बिरामीको बेड नजिकै अक्सिजन पोर्ट जडान गरिएको छ । अस्पताल परिसरमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट पाइपलाइनको सहायतामा बेड मै अक्सिजन पुग्छ । बिरामीलाई आवश्यकता परेको बेलामा पाइपबाट आइरहेको अक्सिजनको प्रयोग गर्न सकिन्छ ।

गण्डकी प्रदेश सरकार, सांसद विकास कोष र बेनी अस्पतालबाट कुल १ करोड २० लाखको लागतमा जडान गरिएको उक्त प्लान्टबाट अक्सिजन उत्पादन सुरू गरिएपछि अस्पतालमा सिलिण्डर खोज्ने समस्याको अन्त्य भएको छ । अस्पताल भित्रका ३० बेडमा पाइपलाइनबाटै अक्सिजन आपूर्ती गर्ने गरिएको अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘जटिल अवस्थाका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा सिलिन्डर बोकेर बेडमा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ,‘केही संरचना र उपकरण अझै थप्ने तयारीमा छौ’अध्यक्ष कटुवालले भने । उनका अनुसार विगतमा अक्सिजन भर्नकै लागि सिलिण्डर लिएर पोखरा लैजानुपर्ने बाध्यता थियो ।

प्लान्टका लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट कुल ८५ लाख, सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको १४ लाख रूपैयाँ, बेनी अस्पतालले उपकरण तथा भवनमा १० लाख रुपैयाँ खर्च गरिएको छ।

अक्सिजनको अत्यधिक खपत हुने आइसियू, इर्मेजेन्सी, नियमित बिरामीलाई भर्ना हुने बेडहरूमा सहज सेवा प्रदान भएपछि बिरामी समेत उत्साहित भएका छन् । अक्सिजन उत्पादन केन्द्रको बिहिबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुनले उद्घाटन गदैं प्रदेशभित्रका सरकारी अस्पतालमा आधुनिक उपकरण र प्रयाप्त जनशक्तीको ब्यवस्था गरिने बताईन् ।

‘जटिल रोगको उपचारलाई जिल्लामै सम्भव हुने गरी पूर्वाधार विस्तार गछौं,‘दुईबर्ष यता अस्पतालमा धेरै परिवर्तन भएको छ’ मन्त्री पुनले भनिन् । पाइपलाइनसँगै ठूला–साना अक्सिजनको सिलिण्डर समेत प्रयाप्त श्वासप्रश्वास, आइसीयुमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट डा. जितेन्द्र कँडेलले बताए ।‘घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीलाई पनि सहज हुन्छ,‘खर्च र समयको बचत भएको छ’ प्रमुख डा. कँडेलले भने । प्लान्टबाट उत्पादित अक्सिजनमा शुद्धता प्राप्त हुने उनको भनाई छ । हावालाई प्रशोधन गरेर अक्सिजनलाई चारवटा सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । मेसिनसँगै सिधै बेडमा जान आवश्यक पर्ने १२ ठूलो सिलिन्डर र आकस्मिक प्रयोगका लागि २ वटा र १० वटा मौज्जातमा रहेको अस्पतालले जनाएको छ ।

विगतमा अक्सिजनको अभावले धेरै बिरामीलाई हेलिकप्टर र सवारीसाधनको प्रयोग गरी पोखरासम्म लैजानुपर्ने बाध्यता रहेको थियो । विसं २०७२ मा ५० शैया क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालमा मिर्गौलाका बिरामीका लागि नियमित डायलासिस सेवा, भेन्टिलेटिर सहितको सघन उपचार कक्ष, उपचारमा प्रयोग हुने औजार, शवराख्ने मर्चरी प्लान्ट, फोहोर व्यवस्थापन लगायतका संरचना थप गरिएको छ ।