Sunday, May 25, 2025
21.5 C
Beni
21.5 C
Beni
Sunday, May 25, 2025
Home Blog Page 261

म्याग्दीका १६ जना सहित गण्डकीका खेलाडीहरु पुरस्कृत हुँदै

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले जानकारी दिए ।

सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरी तीन विभिन्न राष्ट्रिय प्रतियोगितामा कुल १ सय ७५ जना खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको अधिकृत भुसालले जानकारी दिए। पुरस्कृत हुने मध्ये ४९ जना स्वर्ण पदक, रजततर्फ ८९ र कास्यतर्फ ३७ रना रहेका छन् ।

तीन विभिन्न प्रतियोगितामा टिम गेम्स र इन्डिभिजुल गेम्सतर्फ गरी गण्डकीले कुल १९ स्वर्ण, ३१ रजत र २९ काश्य पदक गरी कुल ७९ पदक जितेको परिषदले जनाएको छ । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा कास्की नं १ मा छ । कास्कीका कुल ५५ जना खेलाडी पुरस्कृत हुनेछन् ।

त्यसै गरी तनहुँ र नवलपुरका समान २२–२२ जना खेलाडी पुरस्कृत हुने छन् भने बाग्लुङ र स्याङजाका १८–१८ जना, म्याग्दीका १६, पर्वतका १०, लमजुङका ९ र गोरखाका ५ जना खेलाडी नगदसहित पुरस्कृत हुनेछन् ।यहि असार २९ गते पोखरामा आयोजना हुने एक कार्यक्रमका बीच खेलाडीहरुलाई सम्मान गर्न लागिएको परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिए । पोखरा रंगशालामा आयोजना हुने कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक सुरेन्द्रराज पाण्डेले नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको सदस्य सचिब शर्माले जानकारी दिए ।

बर्षाले जनता माविको चारकोठे भवन भत्कियो, स्थानीयको एक घरमा क्षती

अत्याधिक बर्षाले म्याग्दी रघुगंगा गाउँपालिका–४,दग्नामको जनता माविको चारकोठे भवन भत्किएको छ । लागातारको बर्षाले चार वटा कोठा पूर्णरुपमा क्षती भएको छ । भवन पर्खाल सहित भत्किदा विद्यालय संगै रहेको इन्द्रमान थजालीको घर पूर्ण रुपमा क्षती भएको छ । इन्द्रमानकी बुहारी अशु थजाली र नाती गेनीस थजाली सामान्य घाइते भएको जनता माविका शिक्षक गुन पु्नले बताए ।

उनका अनुसार कक्षा १ देखि ४ सम्म तत्काल अर्को संरचना बनाउनुपर्ने भएको छ । भत्किएको कक्षा कोठा आसपासमा जनप्रतिनिधि र स्थानीयबासीले पन्छाएका छन् । बिहानपख भवन भत्किएकाले मानवीय क्षती जोखिएपनि इन्द्रमानको घर पूर्णरुपमा क्षती भएको छ ।

यसैबीच रघुगंगा गाउँपालिका– ७ चिमखोलामा ५५ वर्षीय डिलबहादुर तिलिजाको दुई तले घर पहिरोको उच्च जोखिममा रहेकोले उहाँको पाँच जनाको परिवारलाई छिमेकीको घरमा राखिएको छ । ५६ वर्षीय लालबहादुर पाइजा, ५४ वर्षीय दिलबहादुर पुनको घर पनि उच्च जोखिममा रहेकोले पाँच पाँच जनाको परिवारलाई छिमेकीको घरमा आश्रयको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

५५ वर्षीय नरबहादुर गर्बुजाको १२ ओटा बाख्रा सहितको गोठ पहिरोले बगाएको इन्सपेक्टर रायमाझीले बताउनुभयो । त्यस्तै ६९ वर्षीय डेकबहादुर कराई पुनको पाँच ओटा माहुरीको घार सहित गोठ बगाएको छ । त्यस्तै ढिकी संग्राहलय रहेको दुई तले पक्की सामुदायीक भवन पहिरोले बगागएर पूर्ण क्षती भएको प्रहरीले जनाएको छ ।

मनसुनी वर्षा जारी: सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए ।

प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकहरूसँग आग्रह गरेको छ ।

अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन भनेको कार्कीले बताए ।

प्रहरीले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “मनसुन र अविरल वर्षाका कारण बाढी र पहिराले विभिन्न स्थानमा सडक अवरुद्ध रहेको र सम्बद्ध अन्य निकायको सहयोगमा प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेकाले लामो यात्रामा निस्किनुपूर्व नजिकका प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।”

प्रहरीले यसरी सम्पर्कका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

यता जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि तीन दिन देशभर मौसम बदली भई ठाउँठाउँमा वर्षा हुने सार्वजनिक सूचना जारी गरेकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । रासस

पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु

वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ।

बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो।

शर्मा घरमा एक्लै बस्दै आउनुभएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए।

आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए।

कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ ।

विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ सार्वजनिक भौकि संरचना र व्यक्तिका ५० घरमा क्षति पुगेको थियो ।

भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले कागखोलाको बाढी नियन्त्रणका लागि किनारामा पक्की पर्खाल निर्माण गरेको हो । कार्यालयका प्रमुख वरिष्ठ भू– तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले रु ३३ लाख ४० हजारको बजेटमा कागखोलाको किनारमा ५१ मिटर पक्की पर्खाल निर्माण भएको जानकारी दिए ।

“गण्डकी प्रदेश सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको कागबेनी नदी नियन्त्रण योजनाको प्राविधिक नापजाँच गर्दा रु एक लाख ६० हजार कम भुक्तानी भएको छ”, उनले भने, “१.८ मिटर फराकिलो जग भएको चार मिटर अग्लो पर्खालको माथिल्लो भाग ५५ सेन्टिमिटर चौडाइको छ ।”

सो पर्खालले कागबेनीको छोप्तेन गुम्बा र बस्तीमा बाढी नियन्त्रणका लागि सहयोग पुगेको उपभोक्ता समितिका अध्यक्ष ख्याम्चो गुरुङले बताए । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा रु एक करोड बढी आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउने प्रयास गरेका छन् ।

बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको छ । अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ । बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छन् । नदी नियन्त्रणका लागि थप पक्की पर्खाल निर्माण गर्न आवश्यक रहेको, प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए । रासस

पहिरोमा चार घर, सामुदायिक भवन र गोठ पुरिए

म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा बुधबार पहिरोले चार वटा घर, सामुदायिक भवन र गोठ भत्किएका छन् । पहिरोमा परी १२ वटा बाख्रा मरेका छन् भने १८ परिवार विस्थापित भएका छन् ।

अन्नपूर्ण गाउँपालिका(२ मान्द्रेढुङ्गाकी लालमाया विकको ढुङ्गा माटोले बनेको दुई तले घर पहिरोले पुरिएर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए।

उनका अनुसार सोही वडाको कटौजेमा छ र ठूलोबगरमा सात घरपरिवार पहिरोबाट विस्थापित भएका छन् । पहिरोको जोखिममा रहेका कटौजेका रनबहादुर गर्बुजा, भीमबहादुर राम्जाली, तारा पुजा, कमलबहादुर शेरपुञ्जा, रनबहादुर गर्बुजा र निमबहादुर राम्जालीको घरका सामग्री र परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

ठूलोबगरका टेकबहादुर फगामी, मिथुन गर्बुजा, बेलबहादुर कार्की, थमबहादुर कार्की, ममता राम्जाली, मनकुमारी पुर्जा र वुद्धिबहादुर पुनको घर पनि पहिरोको जोखिममा परेको वडाध्यक्ष फगामीले बताए । जनप्रतिनिधि, प्रहरी, युवा क्लब, आमा समूहको टोलीले आज दिनभर जोखिममा परेका घरका सामान सुरक्षित ठाउँमा सारेर बसोबासको व्यवस्था मिलाएका थिए ।

त्यसैगरी रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका डेकबहादुर पराई पुनको घर पनि पहिरोले पुरेको छ । चिमखोला गाउँका नर्सिङ गर्बुजाको गोठ पहिरोले पुर्दा १२ वटा बाख्रा मरेका छन् । पहिरोले वडा नं ४ को सामुदायिक भवन र ढिकीजाँतो घर पूर्ण रुपमा क्षति पुगेको छ ।

पहिरोले लिबहादुर पुन, दिलबहादुर तिलिजा, लालबहादुर पाइजाको घर जोखिममा परेको छ । नरबहादुर तिलिजा र दिलबहादुर तिलिजाको शौचालय पहिरोले बगाएको छ । जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीले जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँमा सारेर बसोबासको व्यवस्था मिलाएको वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले बताए।

भिरालो जमिनमा गुजमुज्ज घर रहेको चिमखोला गाउँको छेउबाट खसेको पहिरोले चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध बनाएको छ । सडक अवरुद्ध हुँदा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको छ ।

मलम्पारमा चिरपट प्रहार गरी सहोदर दाईको हत्या

म्याग्दीको धवलागिरी गाउँपालिका-५ मलम्पारमा एकजनाको हत्या भएको छ । घरायसी विवादमा झगडा हुदाँ ३९ बर्षिय सोमबहादुर छन्त्यालले ४२ बर्षिय धनबहादुर छन्त्याललाई चिरपट प्रहार गरी हत्या गरेका हुन् । अभियुक्त सोमबहादुरले एक्कासी चिरपट प्रहार गर्दा धनबहादुरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक राजन रायमाझीले बताए ।

उनका अनुसार मंगलबार घटेको घटनाको जानकारी पाएलगत्तै बुधबार विहान इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा टोली खटिएको थियो । हत्यामा संलग्न मृतक धनबहादुरका सहोदर भाइ हुन् । घटनाको प्रारम्भीक अनुसन्धानमा पारिवारिक विवादमा उक्त घटना घटेको बताइएपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

क्यान्सर पीडित कुमार कामीको उपचारमा सहयोगको याचना

म्याग्दीको बेनी नगरपालिका-१०,पात्लेखेतका घाँटीका क्यान्सर भएका कुमार कामीको आर्थिक अभावमा उपचारमा समस्या भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारार्थ कामीको आर्थिक अभावका कारण थप उपचार हुन सकेको छैन ।

घाँटीमा एक्कासी समस्या देखिएपछि छट्पटाइरहेका कामीको आर्थिक अवस्था अत्यन्न न्युन छ । क्यान्सरको उपचारका लागि धेरै खर्च हुने भएकाले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई सहयोगको अनुरोध गरिएको छ ।

पीडित कामीको ओमकुमारी शान्ति कोषले ६ हजार ५ सय रुपैयाँ हस्तान्तरण गदैं अभियानमा सहयोग गरेको छ । कोषका कार्यालय प्रमुख डकबहादुर रोकाले हस्तान्तरणा गरेका थिए । गरिबीको कारण उपचार गर्न सक्ने अवस्था नरहेको भन्दै जीवन बचाइदिन पीडित परिकार सदस्यले याचना गरेका छन् ।

ललिता शेर्बुजाले अन्नपूर्ण प्रथम जाने पदमार्गमा बनाइन दुई शौचालय

लोकप्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ को प्रतिस्पर्धामा रहेकी म्याग्दीकी ललिता शेर्बुजाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा जाने पर्यटकलाई लक्षित गरी पुरुष र महिलाले प्रयोग गर्ने दुई कोठे शौचालय निर्माण गरेकी छन् ।

‘स्वच्छ अनि स्वस्थ म्याग्दी’ भन्ने अभियानमार्फत मौरिस हर्गोज पदमार्गमा पर्ने सन्धीखर्कमा ब्यवस्थित शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ । निर्माणकर्ता शेर्बुजाले पर्यटन अभियान्ता नारच्याङका तेज गुरुङलाई हस्तान्तरण गरेकी हुन् ।

पदमार्गमा आवतजावत गर्ने पर्वतारोही, आन्तरिक तथा बाह्य पर्यटक, मजदुरलाई शौचालयको अभाव महसुस गरेपछि बेसक्याम्प सम्मको यात्रा तय गरी फर्किने क्रममा शेर्बुजाले शौचालय बनाउने प्रतिबद्धता जनाएकी थिइन् ।

म्याग्दी जिल्लाको रहनसहन, कला, भाषा र संस्कृतिको संरक्षण र पर्यटन क्षेत्रको प्रर्बधनका लागि अभियानमा जुटेकी शेर्बुजाले पदमार्गमा पर्ने सुन्दर र दुर्गम क्षेत्र सन्धिखर्कमा सरसफाइको उचित सुविधा नहुँदा ठूलो चुनौती रहेको अवस्थामा आफ्नो सक्रियतामा शौचालय बनाएको बताइन् । ‘यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद, यस क्षेत्रमा आवश्यक पूर्वाधार बनाउन भविस्यमा पनि थप पहल गर्नेछु’शेर्बुजाले भनिन् ।

उनले पदमार्ग क्षेत्रका बासिन्दाहरूको जीवनस्तर सुधारसँगै स्वास्थ्य र सरसफाईको क्षेत्रमा समेत ध्यान दिनुपर्ने बताइन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि ४३ किलोमिटर दुरीमा पर्ने आधार शिविर जान वडा नम्बर ४ को हुमखोलादेखि २१ किलोमिटर पैदलयात्रा गर्नुपर्छ । उक्त पदैलयात्रा, बेसक्याम्प आसपासमा शौचालय नहुदाँ पर्यटकलाई समस्या हुने गरेको छ ।

उनले केही दिन अगाडी एक टेलिभिजन अन्तरवार्तामा म्याग्दी सुन्दर ठाउँ भएकाले पर्यटन क्षेत्रबाट सम्रग देशको अर्थतन्त्रमा धान्न सक्ने बताएकी थिइन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि ४३ किलोमिटर दुरीमा पर्ने आधार शिविर जान वडा नम्बर ४ को हुमखोलादेखि २१ किलोमिटर पैदलयात्रा गर्नुपर्छ । उक्त पदैलयात्रा, बेसक्याम्प आसपासमा शौचालय नहुदाँ पर्यटकलाई समस्या हुने गरेको छ ।

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो पटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि.)को आधार शिविर अहिले आन्तरिक पर्यटकको समेत रोजाईमा परेको छ ।

सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रच्ने मौरिस हर्जोग र उनको टोलीले हिँडेको पूरानो मार्ग पछ्याउँदै फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको आधारक्षेत्रमा शालिक समेत बनाएको छ।

यसैबीच मिस नेपालको आयोजक संस्था हिडन ट्रेजर नेपालले मिस नेपाल २०२४ का लागि शेर्बुजाले दमदार प्रस्तुती दिइरहेकी छन् । मिस नेपाल २०२४ मा उत्कृष्ट २६ भित्र परेकी अस्ट्रेलियाबाट नेपाल फर्केकी हुन् । उनका हालसम्मका प्रस्तुती निकै उत्कृष्ट छ।

डेंगु संक्रमणबाट म्याग्दीमा एक जनाको मृत्यु

म्याग्दीमा एक पुरुषको डेंगु संक्रमणबाट मृत्यु भएको छ । डेंगु संक्रमणबाट एक जनाको मृत्यु हुनेमा बेनी नगरपालिका-४ सिंगाका ६४ बर्षिय पुरुष रहेका छन् ।

एक्कासि ज्वरो आएपछि गत असार १६ गते बेनी अस्पतालमा भर्ना भएको अवस्था झनै जटिल भएपछि आइसियूमा राखेर थप उपचार गर्नुपर्ने भएपछि असार १७ गते पोखरा रिफर गरिएको थियो । बेनी अस्पतालले दिएको जानकारी अनुसार बृद्धको उपचारका क्रममा मृत्यु भएको हो । यसबर्ष डेंगुको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो।

बेनी अस्पतालकी मेडिकल सुपरिटेन्डन डा.अञ्जु थापाका अनुसार अस्पतालमा भएको साधनसा्रेतबाट उपचार असम्भव भएपछि पोखरा रिफर गरिएको थियो । डेंगुबाट गर्भवती, बालबालिका, बृद्धबृद्धामा संक्रमण भएमा जटिल समस्या देखिन सक्ने भएकाले सर्तकता अपनाउनुपर्ने डा. थापाको भनाई छ ।

लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी’ र ’एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको वासस्थान हटाउने अभियान सञ्चालन हुन नसक्दा डेंगु संक्रमणको जोखिम बढेको छ । कडा ज्वरो आउने, आँखाका गेडी राता हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तस्राव हुने, जोर्नी, मांसपेसी दुख्ने, नाक तथा गिँजाबाट रगत बग्नेजस्ता लक्षण भएमा तत्काल स्वास्थ्य संस्थाका चेकजाँच गर्नुपर्ने डा. थापाको भनाई छ ।

एउटै मानिसमा डेंगु दोहोरिएमा र समयमै उपचार नभएमा आन्तरिक रक्तस्रावले पनि बिरामीको मृत्यु हुन सक्ने जोखिम समेत हुन्छ ।म्याग्दी गण्डकी प्रदेशमा डेंगुको उच्च जोखिममा छ ।