Saturday, May 24, 2025
25.3 C
Beni
25.3 C
Beni
Saturday, May 24, 2025
Home Blog Page 266

म्याग्दीमा यार्साको चोरी निकासी, एकजना ब्यापारीले मात्रै लिए अनुमति

0

म्याग्दीको हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सा प्रशस्त पाईने भएपनि बैधानिक रुपमा न्युन मात्रामा निकासी भएको छ । डिभिजन बन कार्यालय म्याग्दीबाट यार्सागुम्बा सङ्कलन र निकासीका लागि राजस्व तिरेर सङ्कलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्नुपर्ने भएपनि म्याग्दीमा यसबर्ष जम्मा ५ सय ग्रामको संकलन पूर्जीबाट १० हजार ५ सय राजश्व संकलन भएको छ ।

म्याग्दीमा हरेक बर्ष करिब १० केजीभन्दा बढी यार्सा संकलन हुने भएपनि सबैजसो अवैध बाटोबाट निकासी हुने गरेको छ । चालु आर्थिक वर्षमा आधा किलो यार्सागुम्बा सङ्कलनका लागि मात्रै पुर्जी लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले बताए ।

‘एकजनाले मात्रै संकलन पूर्जी लैजानुभएको छ,संकलनपूर्जी नलगि छुट पुर्जी पाईदैन’ सूचना अधिकारी खत्रीले भने । म्याग्दीको गूर्जा, मुदी, लुलाङ, मल्कबाङ, कुईनेमंगले, चिमखोला, दाना लगायत हिमाली क्षेत्रमा यार्सा संकलन हुने गरेको छ ।

एकदशक अगाडीसम्म म्याग्दीमा सरकारी निकायबाटै अनुमति लिएर संकलन र छुट पुर्जी बनाई २३ किलोसम्म यार्सा निर्यात हुने गरेको थियो ।

स्थानीय तह र डिभिजन बन कार्यालय लगायत सरकारी संयन्त्रको कमजोरीका कारण संकलन पुर्जि लिनेको संख्या र परिमाणममै भारी गिरावट आएको देखिन्छ । एउटा यार्साको बुटीलाई दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री हुन्छ ।

यार्सा सङ्कलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् भने सर्वसाधारण समेत जंगलमै बसेर संकलन गर्छन् । विशेष गरी वैशाखको मध्यदेखि जेठको अन्त्यसम्ममा हिमालको फेदीसम्म पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा सङ्कलन गर्ने गर्छन्।

जिल्लामा सबैभन्दा धेरै धवलागिरि गाउँपालिका–१गुर्जा,चुरेन र पुथा हिमालको बुकी र रघुगंगा गाउँपालिका–७,चिमखोलाको हिमाली क्षेत्रमा यार्सा पाइन्छ । ब्यापारी ओमप्रकाश घर्तीले मात्रै अनुमति लिएका छन् । अन्य ब्यापारीले सरकारी निकायलाई नै छलेर अबैधमाध्यमबाट चोरी निकासी गरेका छन् ।

सर्वसाधारणबाट व्यवसायीहरुले प्रतिकिलो पाँचदेखि ६ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन्। हालको बजारमूल्य प्रतिकिलो ८ देखि ११ लाखसम्म रहेको छ । स्थानीय दुःख गरेर टिपेको यार्सा अनेक झन्झट व्यहोर्नुभन्दा नेपाली बजार र विदेशमा समेत अन्य जिल्लाको सँग मिसाएर बिक्री गर्ने गरिएकाले बुकीबाटै यार्साको अवैध निकासी हुने गरेको छ ।

निराशाजनक नतिजा, जिम्मेवार को ?

0

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा म्याग्दीको नतिजालाई विश्लेषण गर्ने हो भने निकै निराश हुनुपर्ने देखिन्छ । जिल्लाभित्रका १२ विद्यालयमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । त्यसैगरी साधारणधार तर्फ १ जना मात्रै विद्यार्थी उत्र्तिणा गर्ने विद्यालयको संख्या एघार रहेको छ । संस्थागत र सामुदायिक गरी ७५ विद्यालयमा बेनीको लिटल गार्डेन एकेडेमी, बावियाचौरको डनिङ बोर्डिङका विद्यार्थीले सतप्रतिशत ग्रेड प्राप्त गरेका छन् भने ७३ विद्यालयका विद्यार्थीले कुनै न कुनै विषयमा ननग्रेड (एनजी) को सूचीमा छन् ।

यसपटकको यो नजिता हेर्दा सन्तोष लिने ठाउँ छैन । ११ सय ४६ विद्यार्थी ‘नन् ग्रेडेड’मा परे । यीमध्ये विद्यार्थी दुई वटासम्म विषय लागेका ३१ प्रतिशत रहेका छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याउन नसकेका ३२ प्रतिशत छन् । म्याग्दीमा परीक्षामा सहभागि भएकामध्ये ६२.२६ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएको नतिजाले देखाउँछ । एसईईमा सहभागी भएका विद्यार्थीमध्ये ३७.७४ प्रतिशत विद्यार्थीमात्रै कक्षा ११ का लागि योग्य भएको सार्वजनिक नतिजाले देखाएको छ ।

म्याग्दीमा सरकारी लगानीको अभावमा समुदायले समेत सहयोग गरी चलेका हिमाञ्चल मावि, पाउद्धार मावि,किसानी चन्द्राकुन्ता मावि, गौबमबस्त मावि, लमसुङ मावि, निस्कोट मावि, जनता माविको नतिजा निल हुदाँ अभिभावक, विद्याथी मात्रै होइन विद्यालयको शैक्षिक गतिविधिमै प्रश्न पनि उब्जिएको छ।

अहिले विद्यार्थी फेल भएको होइन, शिक्षकको पढाउने क्षमता, पठन पद्धति र संरचनागत कमीकमजोरी,सामुदायिक विद्यालयमा मागअनुसार दरबन्दी नहुनुले गुणस्तर कमजोर बनिरहेको छ। शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री र उत्पादनमुखी बनाउने तर्फ तीनै तहको सरकार असफल भएको हो । अहिले च्याट जीपीटी, एआईको समयमा जुन प्रकारको प्रश्न सोधिएको र प्रश्न सोधिन्छ, यो एकदमै पुरातन छ । कक्षाकोठाको सिकाइ पनि रचनात्मक हुन सकेको छैन ।

शिक्षकले पनि परीक्षा कसरी लिइन्छ भनेर पढाउनुपर्छ । परीक्षा, विद्यार्थीको वास्तविक प्रतिभाको जाँच गर्ने रचनात्मक तरिका छैन । नतिजा कमजोर हुनमा अन्य तत्व पनि कमजोर देखिन्छ । नतिजा कक्षा एसईईको मात्र बिग्रिएको होइन। कक्षा ८ को पनि बिग्रिएको स्थानीय तहको तथ्याङ्कले देखाउँछ ।

सामुदायिक विद्यालयको नतिजा खस्कनुमा राजनीतिक दलहरूले विद्यालयलाई भर्तीकेन्द्र बनाउनु पनि हो । नीजि स्रोतबाट राखिएका शिक्षकहरूमा क्षमता भन्दा पहुँचले बढी काम गरेको छ । यो समस्या आधारभुत तहमा डरलाग्दो छ । यो कार्य जारी रहेसम्म शिक्षा क्षेत्रमा सुधार हुँदैन, शिक्षा क्षेत्रलाई भर्तीकेन्द्र बनाउन जुन दिनसम्म रोकिँदैन, त्यो दिनसम्म शिक्षा यस्तै हुन्छ ।

म्याग्दीका स्थानीय सरकारले सामुदायिक विद्यालयको स्तर बढेको भनेर जुन प्रकारको प्रचार गरिरहेको छ, त्यो भ्रम मात्रै रहेछ भन्ने सार्वजनिक भएको परिणामले देखाउँछ। त्यसैले अब शुन्य नतिजा ल्याउने विद्यालयलाई तत्कालै शैक्षिक क्यालेन्डर बनाउने र सबै सामुदायिक विद्यालयमा आन्तरिक परीक्षा, अतिरिक्त कक्षालाई परीक्षा केन्द्रित नभई नियमित सञ्चालन गर्ने गरी बहस गर्नुपर्छ । परीक्षा सुधार गर्ने शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्दछ ।

शिक्षकले पढाए नपढाएको अनुगमन गर्नुपर्दछ । फेल हुनुमा विद्यार्थी दोषी छैनन् । शिक्षकको भूमिका अहम् रहन्छ । निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई पनि तिनले गरेको योगदानका लागि राज्यले प्रोत्साहन दिनुपर्छ । शिक्षकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ । यसपटक एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई तथा पुरक परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई शुभकामना । बेनी साप्ताहिक पत्रिकाबाट साभार

विद्यार्थीलाई उद्यमशील बनाउन म्याग्दी क्याम्पसमा तालिम, परियोजना छनौट भए ४० लाखसम्म पाउने

0

विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले विद्यार्थीलाई उद्यमी बनाउन उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगले उद्यमशिलतासहायता परियोजना अन्तर्गत १४ सय क्याम्पसमा प्रतिस्पर्धा गरेको परियोजनाका लागि नेपालभरका १८ वटा क्याम्पसमा छनौट भएको म्याग्दी बहुमुखीमा उद्यमशील बन्नका लागि छनौट भएका विद्यार्थीले उद्यमशिलता सम्बन्धि सैद्धान्तिक र ब्यवहारिक ज्ञान लिइरहेका छन् ।

४० घण्टाको पाठ्यक्रममा आधारित उद्यमी बन्न आवश्यक पर्ने ज्ञान, सीप र उत्प्रेरणा सम्बन्धि स्थानीय तथा राष्ट्रियस्तरका सफल उद्यमी, विषय विज्ञहरूले सहजीकरण गरिरहेको क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताए ।

‘रोजगारी सिर्जना गर्न उद्यमशीलता तालिम सञ्चालन गरिएको हो, यूवापुस्तालाई स्वदेशमै उद्यमी बन्ने वातावरण बनाउन तालिमले सघाउने छ’ प्रमुख सुबेदीले भने। तालिममा सैद्धान्तिक ज्ञानसँगै अवलोकन भ्रमणमार्फत थप सिक्ने अवसर समेत मिलेको क्याम्पस प्रमुख सुबेदीको भनाई छ।

तालिममा सहभागीले उद्यमशीलताको तालिम लिइसकेपछि सबै प्रक्रिया पूरा गरेका विद्यार्थीले तयार गरेको परियोजना क्याम्पस, म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिकाको प्रतिनिधिले छनौट गरी राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि साउन १४ गते भित्र विश्वविद्यालय अनुदान आयोगमा पठाइने छ । आयोगले स्वीकृत गरेपछि मात्र तोकिएको अनुदान किस्ताबन्दीमा व्यवसायको प्रगतिअनुसार प्राप्त गर्नसक्ने छन् ।

उक्त प्रतिस्पर्धामा छनौट भएमा विद्यार्थीले न्यूनतम पाँच लाखदेखि ४० लाखसम्म प्राप्त गर्नेछन् भने देश तथा विदेशमा गएर उद्यमशीलतासम्बन्धी तालिम लिने अवसर पनि प्राप्त गर्ने सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले बताए । छनौट भएकाले यो रकम बिनाब्याज प्रयोग गर्न पाइने छ भने उद्यमशीलताबाट आम्दानी गरेपछि उद्यमीले फिर्ता गर्नुपर्ने प्रावधान छ।

परियोजनालाई प्रभावकारी बनाउन पूर्व क्याम्पस प्रमुख एवम् सह प्राध्यापक रामजीप्रसाद सुबेदीको संयोजकत्वमा सहायक क्याम्पस प्रमुख सुबेदी, उपप्राध्यापक तारानाथ शर्मा सदस्य रहेको समिति समेत गठन गरिएको छ । समितिले सैद्धान्तिक ज्ञानसँगै उद्योग, कलकारखाना, उत्पादनशिल क्षेत्रको स्थलगत अध्ययन तथा सफल उद्यमीहरूसँग समेत भेटघाटको वातावरण बनाउने गरेको छ ।

तालिममा सहभागि बेनी नगरपालिका वडा नं ५ डडुवाकी सुजना खत्री, बेनपा–३ भकिम्लीका रिज हुमेनले व्यवसायिक योजना, व्यवसाय सञ्चालनका अवसर र चुनौती, लागत र लाभ विश्लेषण, बैकिंङ सुविधाको उपयोग, ऋण लगानी र सफल उद्यमी तरिका लगायतका विषयहरुका साथै सफल उद्यमीसँग प्रत्यक्ष भेटघाट हुने अवसर मिलेको बताए । तालिममा क्याम्पसका पूर्व विद्यार्थी तथा अभिभावकसँगै उद्यमशिलतामा सक्रिय रहेका विद्यार्थी गरी २२ जनाको सहभागिता रहेको छ ।

 

 

शिक्षकले बुझ्ने गरी नपढाउँदा एसइई नतिजा खस्कियो: ओली

0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरूमा विद्यार्थीले बुझ्ने गरी ज्ञान प्रदान गर्ने सीप नहुँदा एसइईको नतिजा खस्किएको बताएका छन्।एमालेको भातृ संगठन अनेरास्वीयु रुपन्देहीले एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयको सम्मानमा आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकले बुझ्ने गरी नपढाएकै कारण धेरै विद्यार्थीले फेल भएको टिप्पणी गरे।

सुधारका लागि क्षमतावान् शिक्षकको आवश्यकता रहेको बताउँदै उनले भने ‘नलेज ट्रान्सफर गर्न सक्ने क्षमता भएका शिक्षकको आवश्यकता छ।’ २०८० को एसइई परीक्षामा जिल्लाबाट उत्कृष्ट नतिजा ४ जिपिए ल्याएका दुई जना सहित ३.६ जिपिए ल्याएका १ हजार २८ जना विद्यार्थीहरूलाई सम्मान गर्न ओली बिहीबार बुटवल आएका थिए।

उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको भेलामा बोल्दै ओलीले ननग्रेडमा परेका विद्यार्थीहरूलाई पुरक परीक्षामा पास गराउन तयारी स्वरुप निःशुल्क अनलाइन कक्षा संचालन गर्ने घोषणा पनि गरे। निःशुल्क अनलाइन कक्षाका लागि ओलीले आफ्नो फेसबुक पेजमा जोडिन विद्यार्थीहरूलाई आग्रह गरे।

अधिकतम प्रयास र इमानदारिताले जुनसुकै परिस्थितिमा पनि सफलता प्राप्त गर्न सकिने भन्दै उनले पुरक परीक्षामा सफलता हात पार्ने गरी अगाडी बढ्न ननग्रेडमा परेका बिद्यार्थीहरुलाइ आग्रह गरे।

जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी, एक जना गम्भीर

0

मकवानपुरमा जङ्गली च्याउ खाएर एकै परिवारका सात जना बिरामी परेका छन् । बुधबार साँझको खानामा जङ्गली च्याउको तरकारी पकाएर खाँदा भीमफेदी गाउँपालिका—६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मंगलीमायासहित उनका ३२ वर्षका छोरा बुद्धिबहादुर स्याङ्तान, बुहारी ३० वर्षकी पासाङ स्याङ्तान र ७ वर्षका छोरा लासाङ स्याङ्तान बिरामी परेका हुन्।

Adv

त्यसैगरी बुद्धिबहादुरका दाजु बुद्ध स्याङ्तानकी १९ वर्षकी छोरी लक्ष्मीमाया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र ७ वर्षीया आरती स्याङ्तान पनि च्याउको तरकारी खाएर बिरामी परेका प्रहरीले जनाएको छ ।

Adv

बुद्धिबहादुरका छोरा लासाङको अवस्था भने गम्भीर छ। बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। बिरामीमध्ये मंगलीमाया र लक्ष्मीमायालाई थप उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल पठाइएको छ। अन्य बिरामीको मकवानपुरस्थित हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Adv

यूएईमा एक म्याग्देलीको मृत्यु

0

युनाईटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक म्याग्देलीको डेंगुको संक्रमणबाट ज्यान गएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका-६, मराङका टपिन जुग्जाली ‘शुसिल’को गत जुन २७ तारीख राशिद अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिरामी भएपछि उपचारको क्रममा अस्पतालमा पुगेका जुग्जालीलाई चिकित्सकले डेंगुका कारण उनको ज्यान गएको बताएपनि थप जानकारी आउन बाँकी रहेको मोना यूएईका अध्यक्ष सुवास राम्जालीले बेनीअनलाइनलाई बताए ।

Adv

‘उपचारकै क्रममा मृत्यु भएको बताइएको छ, थप कानुनी प्रक्रिया पूरा गरी शब नेपाल पठाउने प्रयासमा छौ, डेढबर्षभन्दा बढी अवैध बसेकाले प्रक्रिया झन्झटिलो हुन्छ’ अध्यक्ष राम्जालीले भने ।

adv

श्रम स्वीकृति नभएको र गैरकानुनी रुपमा बसोबास गरेकाको अवस्थामा ज्यान जाँदा शब फिर्ती प्रक्रिया झन्झटिलो हुने भएपनि नेपाली दुताबासमार्फत आवश्यक प्रक्रियाका लागि शुक्रबार जाने महासचिव काजिमान बुढाथोकीले बताए ।

Adv

मृतकको आवश्यक कागजात पराष्ट्र मन्त्रालयबाट मगाएर तथा नेपाली समाज यूएईका अध्यक्ष बेदप्रसाद अर्यालले सहयोग गरिरहेका छन् । मृतक जुग्जाली कम्पनी छोडेर बसेको र सिकिस्त बिरामी भएपछि अस्पतालमा पुगेको बताइएको छ ।

खेर गएको प्लास्टिकबाट माला बुनेर लाख कमाई

0

म्याग्दीको मंगला गाउँपालिका–३,पखेरकी शुसिला रोकाले बजारबाट सामान किनेर ल्याएका प्लास्टिकका झोलाबाट माला बनाउन भ्याईनभ्याई छ । विगत पाँचबर्षदेखि नकुहिने सामग्री शिशाजन्य, फलाम, प्लास्ट्रिबाट हस्तकलाका साम्रागी बनाएर बिक्री गर्ने, आफन्तलाई उपहार दिने गर्छिन ।

उनले आफुँले बजारबाट सामानसँगै ल्याउने प्लास्टिकका झोलामात्रै नभई गाउँघरमा फालेको समेत बटुलेर राख्छिन् । उनले प्रयोगमा आएका प्लास्टिकका झोलालाई सदुपयोग गरेर फूलका गुच्छाहरू, गमला र चकटी, माला लगायतका आर्कषक साम्रागी बनाएर बिक्री गर्ने गरेको बताइन् । ‘मैले बनाएको सामान विदेशसम्म पुगेको छ, अहिलेसम्म धेरै कमाइ नभएपनि फालेको फोहोर बटुलेर कमाइ गर्न सकिने रहेछ’ शुसिलाले भनिन् ।

उनले पछिल्लो समय करिब १ लाख बराबरको माल बिक्री गरेको बताइन् । अहिले उनले बुनेका फूलहरू बिक्री हुन थालेपछि धमाधम बनाउने गरेकी छन् । एउटा फूलको मालालाई ३ देखि ५ सयसम्म बिक्री हुन्छ । ५० रुपैयाँ देखि १ हजारसम्मको सामाना बनाउन सकिने भएकाले सीप हुनेले घरमै बसेर फोहोरबाट मोहोर बनाउन सकिने शुसिलाको भनाई छ ।

उनले बनाएका सामग्रीको बजारीकरणमा आफन्तर साथीभाईर इष्टमित्रले सघाएका छन् । घरेलु उत्पादनबाट सामानहरू बन्ने भएकाले यसको मूल्य पनि धेरै महँगो नहुने भएकाले आयआर्जनका लागि तालिम सञ्चालन समेत गरिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

उनले घरबाट निस्किने फोहोर कुहिने र नकुहिने छुट्याई बिक्री गर्ने, पलाष्ट्रिकजन्य साम्रागीबाट विभिन्न किसिमका प्लास्टिक, सिसा, फलाम÷टिन, आल्मुनियम, रबरबाट विभिन्न किसिमका साम्रागी बनाएर समेत बिक्री गर्न समेत सघाउने अध्यक्ष रोकाको भनाई छ ।

काम नलाग्ने फोहोरलाई अस्थायी डम्पिङ साइटमा लगेर व्यवस्थापन गर्ने विधिसहितको तालिम प्रभावकारी भएपछि अहिले मंगला माविले समेत विद्यार्थीलाई हरेक शुक्रबार फोहोरबाट विभिन्न साम्रागी बनाउन सिकाउने गरेको छ ।

गाउँपालिकाले सबै वडामा आयातित भन्दा स्थानीयको उत्पादनलाई प्रोत्साहन गर्ने गरी सञ्चालन गरेको तालिमका सहभागीले समेत हस्तकला साम्रागी बनाउन थालेका छन् । फोहोर व्यवस्थापन तथा पुनः प्रयोगसम्बन्धी तालिम लिएकाहरूले नकुहिने फोहोरबाट आयआर्जन तथा कुहिने फोहोरबाट मल बनाउने गरेका छन् ।

रातको समयमा बेनी-जोमसोम सडकखण्डमा यात्रा नगर्न अपिल

0

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

बर्षातको समयमा बर्षाजन्य बिपदका कारणबाट हुने सवारी दुर्घटनालाई मध्यनजर गदैं सडकखण्डको म्याग्दी क्षेत्रमा रहेको जोखिमपूर्ण स्थानमा पहिरोग्रस्त लेखिएको सूचनाबोर्ड राखिने, रातको समयमा यात्रा गर्दा फस्ने यात्रुलाई उद्धारमा समस्या हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।

‘रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ,बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दैछौ, ट्राफिक प्रहरीलाई समेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ’ प्रजिअ ढकालले बेनीअनलाइनलाई भने ।

पहिरो खस्ने र खोलामा पानीको सतह समेत बढेको खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने सकिने भएपनि अहिले सडकको अवस्था हेरेर यात्रा गर्न सहजिकरण गरिने प्रजिअ ढकालको भनाई छ । मंगलबार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले इको भ्यानमा क्षती पुगेको छ ।

सडकखण्ड अन्तरगत म्याग्दी क्षेत्रमा करिब ६ स्थानमा सूचना बोर्ड राखिने छ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्ने सवारीासधनलाई पहिरोस्थलका बारेमा जानकारी दिने गरी बेनी, गलेश्वर, भुरुङ तातोपानी र दाना क्षेत्रमा प्रहरी समेत खटाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा-बेनी-जोमसोम-कोरोला सडक आयोजनाले बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ३५ वटा सानाठूला पहिरा छन । तीमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा भएको आयोजनाले जनाएको छ ।

गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरो सहित सबै पहिरो ब्यवस्थापनमा ७० करोड रुपैयाँभन्दा बढी लागत लाग्ने बताइएको छ ।

यसैबीच जिल्लाका ग्रामिण क्षेत्र जोड्ने सडकखण्डमा बाढीपहिरोका कारण सवारी आवागमनमा पर्ने असर, सवारी चालक र यात्रुलाइ विपद बाट हुनसक्ने क्षती,बर्षातको समयमा हुनसक्ने सम्भाबित यात्राको जोखिम र सुरक्षित हुनका लागि चालक र यात्रुले अबलम्बन गर्नुपर्ने सुरक्षाका उपाय साथै सडकको अबस्थाको बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सचेतनामुलक कार्यक्रम समेत सुरु गरेको छ ।

पहिरोले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित

0

म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा वर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ।

सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौँसम्म जाममा पर्ने गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

‘रघुुगङ्गा गाउँपालिकाको बैसरी, सिरुवारी र अन्नपूर्णको गुइठेभिरको पहिरो बर्खायामको सुरुआतसँगै सक्रिय भएका छन्’, बुधवार बेनीदेखि पोखरेबगर जाने क्रममा छ घन्टा बैसरीको लाममा फसेका उनले भने, ‘अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रुप्से, काभ्रेभिर, घोप्टेभिरदेखि मुस्ताङको लेतेसम्म बर्खायामको यात्रा जोखिम र सास्तीपूर्ण बनेको छ।’

मुस्ताङको थासाङ गाउँपालिका–४ लेतेका सोमविर परियारले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न समस्या भएको बताए। ‘पहिरो खस्न रोकिएको मेसो पारेर वारपार गर्नुपर्छ’, उनले भने, ‘हिँडिरहेको अवस्थामा कुन बेला पहिरो खसेर पुर्छ भन्ने जोखिम र त्रास छ।’

रघुगङ्गा गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बैसरीमा सडकमाथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखो पहिरोमा परिणत भएको छ। सडकमाथि पहाडको डिल छ। पहाडमाथिको पाखो सडकबाट देखिँदैन। पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारी साधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको सवारी चालक सुरेश सेञ्चुरीले बताए।

दुई वर्षअघि बैसरीमा सिर्जना भएको पहिरो गत वर्षपछि सक्रिय बनेको हो। गत वर्ष बैसरीको पहिरोमा पुरिएर एकजना सवारी चालकको ज्यान गएको थियो। मङ्गलवार जोमसोमबाट बेनीतर्फ जाँदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान पुरिएको थियो। यसअघि जेठ अन्तिम साता गुइठेभिरमा गुड्दै गरेको बोलेरो जिपमाथि पहिरो खसेर पुरिएको थियो।

पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन्। ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सञ्चालन नहुँदा आवतजावतका साथै आलुलगायत कृषिउपज निकासी प्रभावित भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाका अनुसार १४ वटा पहिरो छन्।

‘पहिरो र कटान रोकथामका लागि मागिएको बजेट प्राप्त नहुँदा काम गर्न समस्या भएको छ’, उनले भने, ‘बर्खायाममा सडक मर्मत र यातायात सञ्चालनका लागि सडक विभागको उपकरण र प्राविधिकलाई खटाएका छौँ।’

सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरिएको थियो।

बैसरी पहिरोको बुधवार स्थलगत निरीक्षण गर्नुभएका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अल्पकालीन रुपमा पहिरो नियन्त्रण, यातायात सञ्चालनका लागि सडक विभागका उपकरण, प्राविधिक, मजदुरका साथै सुरक्षा निकायलाई पनि परिचालन गरिएको जानकारी दिए। रासस

कुहुँको दिपशिखा माविमा नेपाली सेनाको जुनियर डिभिजन तालिम सुरु

0

म्याग्दीको मंगला गाउँपालिका-१, कुहुँको दिपशिखा माध्यमिक विद्यालयमा जुनियर डिभिजन तालिम सुरु भएको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित जुनियर डिभिजन तालिम यसवर्ष दिपशिखा माविमा सञ्चालन गरिएको हो । शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीमार्फत पहिलोपटक मंगला गाउँपालिकामा सञ्चालित तालिममा ७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ।

७९ दिनको तालिमपछि २१ दिने क्याम्प तालिम नेपाली सेनाले तोकेको स्थानमा हुन्छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भीडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन गरिन्छ । खोज, राहत, उद्धार र प्राथामिक उपचारमा सेवा जस्ता व्यवहारिक ज्ञान समेत प्राप्त हुने भएकाले यसअगाडी म्याग्दीमा सञ्चालित तालिममा विद्यार्थीहरुको आकर्षण बढेको थियो ।

गतबर्ष बेनी नगरपालिका वडा नं ५ पुलाचौरको जनकल्याण माविमा सञ्चालन गरिएको थियो । यो तालिम लिएकालाई भविस्यमा नेपाली सेनामा जागिरका लागि समेत केही सहज हुन्छ भने कुनैपनि बेला आफ्नो सुरक्षामा तालिममा सिकेका सीपलाई प्रयोग गर्न सकिन्छ ।

तालिमका क्रममा विद्यार्थीहरुले खाजा, ड्रेस नेपाली सेनाबाटै प्राप्त गर्दछन् ।नेपाली सेनाको गुल्ममा तालिम दिनका लागि राष्ट्रिय सेवा दलबाट समेत प्रतिनिधि आउने छन् । तालिममा छात्र १८ जना र छात्रा १८ गरी ३६ जनाको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

तालिमलाई प्रभावकारी तवरले सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समितिका रविन पुनले बताउनुभयो । अनुशासनपूर्वक तालिममा सहभागी भएर सक्रियताका साथ तालिम लिन सहभागी विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्वको विकास गर्न तथा विद्यालयको चौतर्फी विकासका लागि तालिमले सघाउने विद्यालयले जनाएको छ ।