Wednesday, May 7, 2025
19.2 C
Beni
19.2 C
Beni
Wednesday, May 7, 2025
Home Blog Page 267

बेनीमा भूमिगत रुपमा गठन भएको त्यो मगर समाज

0

म्याग्दी/२०३४ साल अगाडि बेनी बजारको ठाँटीतिर र घरमा कसैको मृत्यु भए सम्बन्धीत घरबेटीले नै मृतकको लासलाई डोकोमा बोकेर घाटमा पु¥याएर सतगत गर्नुपर्दथ्यो । मगरको लास ३/४ दिनदेखि लावारिस अवस्था रहन्थ्यो । गाउँमा अनिकाल लाग्दा अधिया मकै, चामल र नुन लिन लाम लागेर बस्नु पर्दथ्यो । गाउँबाट मगर चेलीहरु शहर आएको बेला मौका छोपेर पञ्चायतका नेता, कर्मचारीहरुले हाम्रा मगर चेलीहरुलाई थुनेर राख्ने, दिनमै गीत गाउन लगाउने र इज्जत लुट्ने काम समेत गर्दथे ।

बजारमा भईरहने यो क्रियाकलाप सहन नसक्ने अवस्थामा पुगेपछि २०३४–०३७ सालसम्म भुमिगत रुपमा बेनीमा मगर समाज सञ्चालन गरिएको रहेछ । १० सदस्यीय समिति गठन भएकोमा यसको अध्यक्षता बेग गाउँका फक्तबहादुर गर्बुजा मगरले गर्नु भएको रहेछ । प्रस्तुत छः बेलायत जान तयारी गरिरहनु भएका पक्तबहादुर गर्बुजा र उनको श्रीमति देवी गर्बुजासँग विगतका केही तितामिठा कुराकानी  ।

तत्कालिन बेगखोला ४ बेगमा बाबा बलवीर गर्बुजा मगर र आमा हिरामति गर्बुजा मगरको ३ छोरी र ८ भाई छोराहरु मध्ये कान्छा फत्तबहादुर वि.सं. २००१ सालमा जन्मनु भएको रहेछ । त्यो समय ठुलो परिवार स्कुल पढने जमाना थिएन । कपडाको नाममा आङ ढाक्न पाए पुग्थ्यो । गाउँको अरु लाहुर गए जस्तो मेरो बाबा लाहुरे बन्नु भएको थिएन । गाउँघरमै खेतीबाली कुटो कोदालो गरि जीविका चलाउनु भएको थियो । आम्दानी भनेको नै भैसी पालेर बेचविखन गरे मात्र पैसा देख्न पाउथ्यो ।

 

बाबाको मृत्यु हुँदा मेरो उमेर मात्र ४ वर्षको थियो । सानै उमेरमा बाबाको मृत्युु भएको कारण मेरो बाल्यकाल दिदी र ठुलोकान्छा दाईहरुसँग वन जंगलमा गई भैसी गोठमा बसेर बित्यो । काईला, थाईला र राईला दाईहरु सानै उमेरमा बितेको कारण जेठी दिदी र आमाले खेतीबाली लगाउने, माईली दिदी र कान्छी दिदीले गोठमा भैसीलाई घाँस र गोठको स्याहार गर्दथे । ठुलो कान्छा दाई र म गोठ हेर्ने र भैसीको पछि दौड्ने काम गर्दथियौं । वर्षायामको झरि पानीले शरीरमा लगाएको कपडा शरीरमा नै सुक्दथ्यो । वर्षाको जुकाको टोकाईको पिडा उतिकै थियो । हाम्रो भैसी धेरै भएको कारण माइत बाजेले स्याहार्न ल्याउनु भयो । तब ठुलो कान्छा दाई र मलाई अलि हल्का भयो । र, हामी चराचुरुङी मार्न माला थाप्ने गर्न पायौं ।

समयसँग युवाअवस्थामा लाहुरे भएर पल्टन पुगियो । त्यहाँको व्यथा आफ्नै ठाउँमा छ । अवकाश पश्चात बेनी बजारमा बस्ने क्रममा सानोतिनो व्यापार गरियो । बेनी बजारमा बस्ने क्रममा मगरहरुले पाएको दुःख एवम् मर्दा पर्दा समाज चाहिने रहेछ भन्ने महसुस भएको कारण समाजमा रहेका कुरीतिहरुलाई पन्छाउँदै पिछडिएको समाजलाई सुधारको अभियान अनुरुप लाङ्घाली परिवार संघ (मगर समाज) गठन गरि सामाजिक काम गरियो ।

२०३६ सालको जनमत संग्रह पश्चात झन कडाईको साथ पञ्चायतको विरुद्ध बोल्न नपाउने भयो । तर मगर समाजको उत्थानको लागि गठन समाज राजनैतिक भन्दा पनि सामाजिक क्रियाकलाप भएको कारण हामी मल्लाजको खोला, जंगलमा वनभोज खाने बाहानामा मगरहरुलाई जम्मा गरेर बैठक बस्न बाध्य थियौं ।

कहिल रातको समयमा टुकी बालेर बस्नु पर्दथ्यो । समस्या शहर बजारमा बस्ने मगरको मात्र होइन गाउँगाउँबाट आएका मगरहरुको पनि थियो । विभिन्न कामको लागि समस्या लिएर सदरमुकाम आएका सोझा मगरहरुलाई कार्यालयमा विभिन्न झन्झट गरिदिंदा हामीले सहयोग गरिदिन्थ्यो । विरामी भएर अस्पतालमा उपचार गर्दागर्दैै मृत्यु भएमा, मृतकको आफन्त कोही नभएमा सतगत गरिदिनु जिम्मा हामी बेनीमा बसोबास गरेका मगरहरुको जिम्मा थियो ।

मृतकको आफन्त गाउँदेखि ढिलो आएमा लासलाई दिन, रातमा कुरेर बस्नु पर्दथ्यो । एकदिनमा तीन पटकसम्म मरेका लास बोकेर कालीको तिरमा लगेर लास जलाउने, गाड्ने गर्नुपर्दथ्यो । यसरी बेनीमा २०३४ सालमा मगर समाज गठन गरेका थियौं । अहिले पुन मगर होइन, पुन जात हो भन्छन् । अचम्म पर्छु ।

चुनावको ताका शिखमा गोली काण्ड भयो । त्यसको फोटो लुकेर दुलादेखि खिचेर काठमाडौं पठायौं । यो फोटो कसले खिच्यो भनेर हैलाखैला मचियो । दरबाङ तातोपानीदेखि अलि तल अप्ठ्यारो बाटो मुनी म्याग्दी खोलाको ठुलो दह थियो । चुनावमा मतपेटिका बोकेर आउनेलाई त्यही दहमा फाल्ने काम पनि भयो । खोलामा अट्किएर रहेको दुई जनाको लासलाई डोरीले बाँधेर खोलाबाट झिक्ने काम समेत गरियो । अन्याय भएको थियो । हामीले संस्थागत बोल्ने काम गरेका थियौं । बेनीबजारमा मगर समाज छ भनेर गाउँ गाउँमा समेत खबर भएको थियो । हाम्रो संलग्नतामा वि.सं. २०४२ सालमा नेपाल लाङ्घाली परिवार संघको राष्ट्रिय सम्मेलन म्याग्दीको सिंह तातोपानीमा सम्पन्न गर्न हामी सफल भयौं । Source & Copyright: www.fimala.com.np

मिनाको खोजीका लागि परिवारको टोली काठमाण्डौमा

0

गर्भवती अवस्थामा विगत ६ महिनादेखि बेपत्ता बेनी नगरपालिका-९,तोरीपानीकी १९ बर्षिया मिना परियारको खोजीकार्यका लागि पीडित परिवारले राज्यब्यवस्था समितिका सभापति रामहरी खतिवडालाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

बेपत्ता मिनाको खोजीकार्यमा सघाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सहयोग समेत माग्दै गृहमन्त्री रबी लामिछाने, प्रहरी प्रमुख बसन्त कुँवर, सिआइबी प्रमुख श्याम ज्ञवाली लगायतको टोलीलाई समेत भेटेर थप अनुसन्धानका लागि अनुरोध गरिएको भाउजु कमला बर्देवा नेपालीले बताइन् ।

काठमाण्डौमा उच्चपदस्थ नेता तथा प्रहरीको टोलीसँग भेटघाट गरेपछि नयाँ तरिकाले अनुसन्धान अगाडी बढ्नेमा आशाबादी रहेको बताइन् । ‘गर्भवीत अवस्थामै बेपत्ता हुदाँ पनि अहिलेसम्म केही अत्तोपत्तो छैन, हामीले न्यायको खोजीका लागि काठमाण्डौ आएका छौ’ मिनाकी भाउजु बर्देवाले भनिन् । उनले लास वा सास जे भएपनि पत्ता लगाउँदै दोषीमाथि कारवाहीको माग मात्रै परिवारको रहेको बताइन् ।

बि.स २०८० साल पुस १६ गते राती घरबाटै बेपत्ता भएकी परियारको अहिलेसम्म अत्तोपत्तो छैन ।बेपत्ता भएको दिनको ११ बजेसम्म स्थानीय यूवा राम खत्रीसँगै रहेको तथ्य फेला परेपनि त्यस बाहेक छोरी कहाँ र कुन अवस्था छिन् भन्ने बारेमा परियार दम्पत्ती बेखवर छन् ।

छोरीसँग प्रेम सम्बन्धमा रहेको प्रमाणसहित प्रहरीमा उजुरी गरेपछि पक्राउ परेका स्थानीय यूवा खत्रीलाई जिल्ला अदालतले पुर्पक्षका कारागार चलान गरेको अवस्थामा पनि जिवित वा मृत्यु भएको बारेमा केही पत्ता नलागेपछि अहिले पीडित परिवार न्यायको खोजीमा छन्। बेपत्ता परियार र अभियुक्त खत्री बिच सामाजिक सञ्जालमा भएको कुराकानी, ६ महिनाको गर्भ रहेको, भागेर भारत जाने, खेत जोत्ने बेलामा भएको चिनजान,आफ्नो शाररीक सम्बन्ध भएको र चिनजानका बारेमा खुलेपनि बेपत्ता गराएको भन्ने अभियुक्त खत्रीले स्वीकार गरेका छैनन् ।

अभियुक्त खत्रीलाई मुलुकी अपराध संहिता २०७४ दफा २०७ को उपदफा १ बमोजिम बेपत्ता पार्ने काम गर्ने मुख्य कसुरदारलाई १५ बर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना भई पिडित पक्षलाई क्षतीपूर्तीको माग गरिएको छ । बेपत्ता मिनाको मोवाइलको अन्तिम लोकेशन उत्तरी म्याग्दीको बैसरी आसपासका क्षेत्रमा देखिएको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेपत्ता मिनाको खोजीकार्य जारी रहेको जनाएको छ ।

निर्दयी आमाबुबा ! जो छोराछोरीलाई छोडेर बेपत्ता भए

0

नेपाली समाजमा आमाको बारेमा एउटा प्रचलित उखान छ,‘अरूको लाख र आमाको काख’ । आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । छोरो अर्थात् सन्तानहरू निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि निर्दयी हुन सक्दिनन्’ भनेर आमाको महिमा गान गरिएको छ । आमा शब्द सबैको लागि अत्यन्त प्यारो र ममतामयी शब्द हो । दुःखमा सबैको जिब्रोमा झुण्डिने शब्द पनि हो आमा ।

आमाको सन्तानप्रतिको स्नेह,करुणा र दुःखलाई संसारबाट प्रदान गरिने कुनै पनि पुरस्कारासँग तुलना गर्न मिल्दैन । तर, यसको ठीक विपरत म्याग्दीको धवलागिरी गाउँपालिका-६, मराङ जेवाङ घर भई हाल पोखराको हेम्जामा बस्ने नविन विक र निरमायाँ विक यतिसम्मका निर्दयी देखिएका छन् की त्यो कुरा सुन्दा र पढ्दा धेरैलाई विश्वास नलाग्न सक्छ । समाजमा जन्मदिने आमाबुबा यस्ता निर्दयी पनि हुन्छन् भन्ने उदाहरण नविन र निरमायाँ बनेका छन् ।

गएको बैशाख १६ गते निरमायाँ विक छोराछोरी विद्यालय गएको मौका छोपी घरबाट बेपत्ता भइन् । ९ बर्षका छोरा निर्मल र ११ बर्षिया छोरी मेलिना विकसँग अघिल्लो राती एउटै बिस्तारामा सुतेकी निरमायाँ बेपत्ता भएको पनि डेढ महिना वितिसक्यो।

आमाको काखमा गुटमुटिने निर्मल र मेलिना अहिले आमाको खोजीमा भक्कानिन्छन् । एकबर्ष अगाडी बुबा नविन विक सम्पर्कविहिन भएपछि खोजीकार्यमा लागेकी निरमायाँ आफैंले जन्माएका दुई छोराछोरीलाई चटक्कै छोडेर गएपछि अलपत्र गरेका छन् ।

म्याग्दीकै धवलागिरी गाउँपालिका–४, खिवाङमा मावली भएकाले अहिले हेम्जामा आफन्तले केही समयका लागि निर्मल र मेलिनालाई संरक्षण दिएको पत्रकार सुरेश हमालले बेनीअनलाइनलाई बताए । ‘उनीहरु आमाको खोजीमा रुदैं बसेका छन्, त्यहाँ पुग्ने सबैका आँखा रसाउँछ’ पत्रकार हमालले भने ।

आमाले छोडेर गएपछि अहिले मेलिनाले एकाविहानै उठ्ने, नियमित घरायसी काम गर्ने, खाना पकाउने,भाईलाई सघाउने र फुर्सदको समयमा पढ्ने गरेकी छन्। पोखरा महानगरपालिकास्थित हेम्जाको एक विद्यालयमा पढ्न मेलिनाको अगाडी आमाबुबाको कुरा गर्दा भक्कानिन्छिन् ।

आँखामा आशु टिलपिल गरिरहेकी मेलिनाले आमाको खोजी गरिदिन अपिल समेत गरेकी छन् । यसैबीच निर्मल र मेलिनाको शिक्षादीक्षाका लागि अमेरिकामा बस्ने सामाजिक संस्था इशा फाउण्डेशका संस्थापक एवम् समाजसेवी सबी थापा र इन्द्र थापाले चासो देखाएका छन् ।

कच्ची नहर ४३ वर्षपछि पक्की

0

म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्ची नहरलाई पक्की बनाउन थालिएको छ। साम्तुङ–सोता सिँचाइ आयोजनाको वि.सं. २०३८ मा निर्माण भएको कच्ची नहरलाई पक्कीमा रुपान्तरण गर्न थालिएको हो।

गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पछिल्लो दुई आर्थिक वर्षयता एक किलोमिटरभन्दा बढी पक्की नहर निर्माण गरिएको उपभोक्ता समितिका उपाध्यक्ष सोमबहादुर आलेले जानकारी दिए।

‘चार किलोमिटर कुलोमध्ये गत वर्ष पाँच सय ७० मिटर र चालु आर्थिक वर्षमा पाँच सय ६५ मिटर पक्की नहर निर्माण भएको छ’, उनले भने, ‘सोताबाट मुहानतर्फ आगोवाङ भन्ने ठाउँसम्म पक्की नहर बनाइएको छ। थप तीन किलोमिटर बढी पक्की नहर बनाउन आवश्यक छ।’

साम्तुङ–सोता सिँचाइ आयोजनालाई गण्डकी प्रदेश सरकारले आव २०७९/८० र २०८०/८१ का लागि २०–२० लाख बजेट विनियोजन गरेको थियो। मङ्गला गाउँपालिकाको सिमाना भएर बग्ने अर्चेखोलाको मुहानबाट पठाएको पानी सोता पुग्दा सोसिएर थोरैमात्र पुग्ने समस्या भएपछि पक्की नहर बनाउन थालिएको सोतावासी सर्वलाल थापाले बताए।

यो आयोजनाबाट अर्चेखोला, आगोवाङ, सोतामा एक सयजनाभन्दा बढी किसानको एक हजार रोपनी क्षेत्रफल जमिनमा बार्है महिना सिँचाइ सुविधा पुग्ने उनले बताए। गत फागुन महिनादेखि सुरु गरेको नहर निर्माणको सम्झौताअनुसारको काम सकेर सोमबार बिहानदेखि पानी चलाउन थालिएको उपभोक्ता समितिले जनाएको छ।

पक्की नहर बनेपछि धानको ब्याड राख्न, मकै, गहुँमा सिँचाइ गर्न र समयमै रोपाइँ गर्न पाएको उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर रोकाले बताए। साम्तुङ–सोता सिँचाइ आयोजनालाई पञ्चवर्षीय योजनाका रूपमा पूर्णता दिन गण्डकी प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि पहल गरेको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए।

खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आवमा जिल्लामा ६० वटा सिँचाइ आयोजना सञ्चालन गरेको छ। अधिकांश आयोजनामार्फत कच्ची कुलोलाई पक्की बनाइएको र पाइप लाइन जडान भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताए।

अन्ठाउन्न योजना उपभोक्ता समिति र दुईवटा बहुवर्षीय ठेक्कामार्फत कार्यान्यन्वयन गरिएको छ। उपभोक्ता समितिसँग सम्झौता भएका सबै योजना सम्पन्न हुने चरणमा रहेका कार्यालयका सबइन्जिनियर अञ्जन खत्रीले बताए।-रासस

पोर्तुगलमा एक म्याग्देलीको निधन

0

युरोपेली मुलुक पोर्चुगलमा एक म्याग्देलीको निधन भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना घर भई रोजगारको सिलसिलामा पोर्चुगलमा रहनु्भएका ३४ बर्षिय ललित पाइजाको आइतबार निधन भएको उहाँका भिनाजु टिका पु्नले जानकारी दिनुभयो ।

मृतक पाइजाको श्रीमति, दुई छोरा र एक छोरी छन् । घटनाका बारेमा म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगल, गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतका संघसंस्थालाई समेत जानकारी भएको छ । घटनाबाट पोर्तुगलमा रहेका म्याग्देली स्तब्ध भएका छन् ।

खानीगाउँ र पूर्णगाउँबासीले वडा विभाजनको माग गर्दै हस्ताक्षर संकलन

0

म्याग्दीको मंगला गाउँपालिका-१ पूर्णगाउँ, खानीगाउँका स्थानीयले वडा विभाजनको माग गर्दै हस्ताक्षर संकलन गरेका छन्। अन्य वडाको तुलनामा भौगोलिक रुपमा ठूलो, सेवासुविधाको सहजतालगायत अन्य कारण देखाउँदै वडा विभाजन गर्न माग गर्दै वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, म्याग्दीका राजनीतिक दललाई पूर्णगाउँ र खानीगाउँबासीको हस्ताक्षर तथा भेलाले गरेका निर्णय बुझाएका हुन् ।

साविकको कुहुँ गाविस वडा नं १ र २ खानीगाउँ र पूर्णगाउँलाई छुट्टै वडा कायम गर्ने आवश्यक रहेको भेला सहित संघर्ष समिति नै बनाएर स्थानीयबासीले वडा अध्यक्ष एकजित रोका, गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष बालकृष्ण सुबेदी, राप्रपा म्याग्दीका सचिव देबेन्द्र घिमिरे लगायतका राजनीतिक दललाई समेत ज्ञापनपत्र बुझाएका छन् ।

वडा सदस्य नरबहादुर खत्री, संघर्ष समितिका सल्लाहकार बाबुराम आचार्य, टेकबहादुर राम्जाली, गोविन्दप्रसाद सुबेदी, कृष्णबहादुर केसी, संघर्ष समितिका सहसंयोजक खगेन्द्र खत्रीले वडा भौगोलिक रुपले ठूलो भएकाले विकास निर्माणको काम लगायत सरकारी सेवा सुविधामा सरोकारवाला जनताको पहुँच पुग्न कठिनाइ भएकाले वडा विभाजन गरि छुट्टै वडा कायम गर्न माग गरिएको बताएका थिए ।

त्यस्तै वडा विभाजनको अर्का प्रस्तावमा बेनी नगरपालिका वडा नं ५ पुलाचौरको डडुवा सहितको भूभागलाई समेत समेटेर वडा बनाउन सकिने प्रस्ताव समेत गरिएको संयोजक मनिष गौचनको भनाई छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद २ को दफा ५ र ६ को परिधिमा रही हालको वडालाई विभाजन गरी छुट्टै वडा कायम गर्न सकिने दावी गरिएको छ।

वडाबासीको मागलाई गाउँपालिकाको सभाले प्रस्तावलाई पारित गरिदिएर गण्डकी प्रदेश सभाबाट समेत पारित भएमा केन्द्रमा जाने र केन्द्रले पारित गरेमात्रै वडा विभाजन हुन्छ ।

म्याग्दीमा यसअगाडी जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभाले हिमाली जिल्लाको मापदण्ड अनुसार विभिन्न गाउँपालिकाको वडा बिभाजनको निर्णय सहितको सिफारिस गरेको भएपनि त्यो अलपत्र अवस्थामा छ ।

म्याग्दीमा अत्याधिक गर्मी, जनजीवन प्रभावित

0

म्याग्दीमा केहीदिन यता तापक्रम अत्यधिक बढेसँगै जनजिवन प्रभावित भएको छ । यसबर्ष म्याग्दीमा ३१ डिग्री सेल्सियससम्म मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले हिमाली जिल्ला म्याग्दी सहितका क्षेत्रमा गर्मीको मापनले अहिलेसम्मको रेकर्ड तोडेको जनाइएको छ ।

अत्यधिक गर्मी र चर्को घामका कारण सर्वसाधारण चौतारी, सार्वजनिक ठाउँ र ग्रामिण क्षेत्रमा समेत सामुदायिक बन आसपासका सार्वजनिक स्थानमा जमघट देखिन्छ । तापक्रमले ३५ डिग्री नाघ्नेको बेनी नगरपालिका वडा नं ७ मंगलाघाटका सुवासकुमार श्रेष्ठको भनाई छ । ‘यस्तो गर्मीको अहिलेसम्म महसुस गरेका थिएनौ, अझै उकालो लागेजस्तो महसुस भएको छ’ श्रेष्ठले भन्नुभयो ।

अत्यधिक गर्मी बढेका कारण लाग्न रोगबाट ग्रसित बिरामी बेनी अस्पताल र विभिन्न मेडिकलमा बिरामी बढेका छन् । बेनी अस्पतालमा मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलले गर्मीमा प्रसस्तै ताजा र सफा मात्र खान, पानी अधिक पिउन, आवश्यक काम नपरी घाममा ननिस्किन, निस्किनै पर्दा छाता ओडेर र पूरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्किनुपर्ने बताउनुभयो ।

 

अस्टेलियामा भलिबल तथा बास्केटबल प्रतियोगिता

0

‘अब म पनि खेल्छु’ भन्ने मुल नाराका साथ अस्टेलियामा महिला तथा पुरुष भलिबल र पुरुष बास्केटबल प्रतियोगिता सकिएको छ । प्रवासमा रहेका म्याग्देलीसहित नेपाली समाजमा सद्भावलाई कायम राख्नका लागि खेलाडी, खेल र खेलप्रेमीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । मोना वान–डे टुर्नामेन्ट अन्तर्गत मोना अस्टेलियाद्वारा आयोजित पुरुष भलिबलतर्फ कुल १३ टिम सहभागी भएकोमा छन्त्याल परिवार अस्टेलिया (सिपिए) प्रथम र मोना अस्टेलिया दोस्रो भएका छन् ।

यसैगरी महिला भलिबलतर्फ कुल ५ टिमले सहभागिता जनाएकोमा ढोरपाटन क्लब पहिलो र पोखरा क्लब दोस्रो भएका छन्।  १० टिम सहभागी पुरुष बास्केटबलमा वाइल्ड याक्स विजेता बनेको जनाइएको छ ।अस्टेलियामै सबैभन्दा ठूलो नेपाली समाजद्वारा आयोजित खेलकुद प्रतियोगिताको अवसरमा राष्ट्रिय खेलाडी टेकराज अवस्थीलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा एनआरएनए अस्टेलियाका प्रेसिडेन्ट अनिल पोख्रेलको प्रमुख आतिथ्य रहेको थियो भने झण्डै १ हजारबढी दर्शकहरुले खेल अवलोकन गरेको मोना अस्टेलियाका प्रवक्ता हिक्मत श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता अस्टेलियाको सिड्नीस्थित अवर्नमा आयोजना गरिएको थियो ।

रोजगारको सिलसिलामा अस्टेलिया पुगेका प्रवासीहरु आबद्ध मोना अस्टेलियाले जिल्ला र अस्टेलियामै पनि धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । मोना अस्टेलिया, अस्टेलियामा हुने हरेक खालका सामाजिक गतिविधिहरुमा सक्रियताका साथ पहिलो स्थानमा रहेको संस्थाले जनाएको छ । अध्ययनका लागि शैक्षिक परामर्शदाताको पहिचान बनाएको स्टूडेण्ट भाइब्सले अस्ट्रेलियाको ताइटल स्पोन्सरमा उक्त टुर्नामेन्ट भएको हो ।

लियो क्लव बेनी म्याग्दीको अध्यक्षमा दर्जी

0

स्वयंमसेवी संस्था लियो क्लव अफ बेनी म्याग्दीको अध्यक्षमा उदय बहादुर दर्जी चयन हुनुभएको छ । लायन्स क्लवको भात्रृ संस्था वार्षिक साधारण सभाबाट वर्ष २४÷२५ का लागि प्रथम उपाध्यक्ष्य सचिना सापकोटा,द्वितीय उपाध्यक्ष कृष्ण कार्की, सचिव दिनेश खत्री,कोषाध्यक्ष सफल केसी रहेका छन् ।

क्लवले शिक्षा, स्वास्थ्य लगायतका विभिन्न रचनात्मक कार्यहरुमा सहयोग गदैं आइरहेको छ । नवनिर्वाचत अध्यक्ष दर्जीले लायन्स सँगको सहकार्यमा विभिन्न कार्यहरु गर्ने बताउनुभयो ।

 

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

0

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वास मत प्राप्त गरेका छन्। सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका थिए। सभामुख कृष्ण धितालका अनुसार सोमबारको प्रदेश सभामा ५९ जना सांसद उपस्थित थिए।

मुख्यमन्त्री पाण्डेले राखेको प्रस्तावको पक्षमा ३१ सांसद र विपक्षमा २८ सांसदले मतदान गरेका थिए।नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट २०७९ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएका छन्। देवकोटा बाबुराम भट्टराईनिकट हुन्।

नेसपाले २०७९ को चुनावमा माओवादीको चुनाव चिह्न लिएको थियो। साथै राप्रपाका दुई र स्वतन्त्र सांसद राजिब गुरूङले पनि मुख्यमन्त्रीका पक्षमा विश्वास मत दिएका छन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पाण्डेको दल नेपाली कांग्रेसका २७ जना सांसद छन्। कांग्रेसका २७ सहित राप्रपाका २, माओवादीको चुनाव चिन्हबाट जितेका एक र स्वतन्त्र एक सांसद गरी ३१ जनाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका हुन्।देवकोटाले फ्लोर क्रस गरेपछि एमाले र माओवादी सांसदहरूले वेल घेराउ गर्दै केहीबेर नाराबाजीसमेत गरेका थिए।

error: Content is protected !!