Sunday, May 4, 2025
16.2 C
Beni
16.2 C
Beni
Sunday, May 4, 2025
Home Blog Page 273

दिपशिखा माविका विद्यार्थीले तरकारी खेती गर्दै

0

म्याग्दीको मंगला गाउँपालिका-१,को दिपशिखा माविकी फोरेष्टी क्लवकी अध्यक्ष सुस्मिता विक आइतबार साथीहरूसँग विद्यालय नजिकै रहेको खेतबारीमा व्यस्त थिइन् ।

विद्यालयको १ रोपनी ७ आना जग्गामा तरकारी खेतीका लागि क्लवमा आवद्ध ११ जना विद्यार्थी तरकारी खेतीका लागि झाँडी सरसफाई, खनजोत, मल बोक्ने लगायका काममा व्यस्त छन् ।

विद्यालयले पढाइसँगै तरकारी खेतीका लागि जमिन उपलब्ध गराएपछि यसबर्षदेखि तरकारी खेती सुरु गरिएको क्लवकी अध्यक्ष विकले बताइन् । ‘हाम्रो अभियानमा शिक्षकले सघाइरहनुभएको छ, अब आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गछौं’ विकले भनिन् ।नाफा घाटाभन्दा पनि अर्गानिक कृषि उत्पादन गर्ने लक्ष्य रहेको विकको भनाई छ ।

यता विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले विद्यार्थीलाई पिस कोरका प्रतिनिधिले प्राविधिक तालिम समेत दिइरहेको बताए । ‘परीक्षण उत्पादन राम्रो भएपछि थप जग्गा उपलब्ध गराउँछौ, अर्गानिक उत्पादन राम्रो भएपछि दिवा खाजामा समेत प्रयोग गछौ’ प्रअ खत्रीले भने ।

बन्दा, काउली, केराउ, मुला, साग, सिमी, केराउ प्रजातिका तरकारी लगाएका छन् । विद्यार्थीलाई प्रयोगात्मक, व्यावसायिक र व्यावहारिक सिकाइतर्फ केन्द्रित गर्न विद्यालयमै उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गर्ने गरी आगामी बर्षदेखि बजेट समेत विनियोजन गरिने बताए ।

गाउँको जमिन बाँझिने क्रम बढेकाले विद्यार्थीको यो रचनात्मक कार्यलाई प्रोत्साहन गरिने वडा अध्यक्ष एकजित रोकाले बताए । कमाउँदै सिक्दै गर्ने कार्यक्रमलाई प्रोत्साहन गर्ने योजनालाई सघाउने वडा अध्यक्ष रोकाको भनाई छ । मंगला गाउँपालिकामा शैक्षिक गुणस्तरमा समेत दिपशिखाले हरेक बर्ष उत्कृष्ट नतिजा निकाल्ने गरेको छ।

सिम-पानाबगर खण्डमा कालोपत्र सुरू, दरबाङ सम्मको यात्रा छोटिदैं

0

पश्चिम म्याग्दीको लाइफलाइन बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा शनिबारदेखि कालोपत्र गर्न थालिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत–बाबियाचौर–लाम्पाटा–पानाबगर–रणवाङको सिमानासम्म सडक कालोपत्र गर्न लागेको हो ।

कार्यालयका सडक इञ्जिनियर सञ्जय सुवेदीले सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न सिमतर्फबाट प्राइम कोट (बिटुमिन) बिछ्याउन थालिएको जानकारी दिए । ‘डिबिएसडी प्रविधिको कालोपत्र गर्न चिप्स बिछ्याउनुभन्दा २४ घण्टा पहिले प्राइम कोट राखिएको हो’, उनले भने, ‘सिमदेखि तोराखेत हुँदै माटेबगरसम्म एकतर्फी एक हजार तीन सय मिटरमा प्राइम कोट बिछ्याउने काम सकिएको छ ।’

विसं २०६१ मा मार्ग खुलेको सडक दुई दशकपछि कालोपत्र गर्ने तयारी भएको जनाइएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किमी आठ सय मिटर सडक कालोपत्र गर्न विसं २०७८ पुस १८ गते अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सडकलाई आठ मिटर फराकिलो बनाएर र सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गर्न लागिएको ओमबुद्ध निर्माण कम्पनीका प्रतिनिधि डम्मर सापकोटाले बताए । तोराखेत खण्डमा सडकको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरुको विवादले करिब एक सय मिटरमा कालोपत्र गर्न र संरचना निर्माणलाई अन्तिम रुप दिन नपाएको उनले बताए ।

अठार महिनाको ठेक्का अवधि रहेको सो सडक तीन वर्षमा सम्पन्न हुन लागेको हो । चालु आवमा रु चार करोड बजेट विनियोजन भएको यो खण्डको भौतिक प्रगति ६८ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

थप बजेट व्यवस्थापनका लागि कार्यालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पहल गरेको छ । २४ किमी दूरीको बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा विसं २०६३ मा सडक पुगेको थियो ।

बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडकको पहिलो १२ दशमलव पाँच किमी दूरीको बेनी–सिम खण्डमा दुई वर्षअघि कालोपत्र भएको थियो । बिरुवा–क्याराभान जेभीले विसं २०७६ असार ३१ गते रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का लिएको बेनी–दरबाङ सडकको तेस्रो प्याकेजमा पर्ने मङ्गला गाउँपालिका–२ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङ सम्मको ६.८ किमी सडक निर्माणको काम भने सुस्ताएको छ ।

विसं २०७८ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस खण्डको हालसम्म करिब ७३ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी क्षेत्र १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले रणबाङ–दरबाङ खण्ड निर्माणलाई पूर्णता दिन निर्माण व्यवसायीलाई ताकेता, समन्वय र सहजीकरण गरिरहेको बताए ।

यौन दुर्व्यवहारको किर्तिमानी आरोही निर्मल पूर्जाद्धारा खण्डन, कानुनी उपचार खोज्ने

0

पूर्व मिस फिनल्याण्डले निराधार र कपोकल्पित आरोप लगाउँदै आफ्नो दुष्प्रचार गरेको भन्दै पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै समाचारको खण्डन गरेका छन् ।

‘द न्युयोर्क टाइम्स’ले हिमाल आरोहणका क्रममा पुर्जाबाट पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा. अप्रिल लियोनार्डोले आफुँहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै समाचार प्रकाशित गरे लगत्तै आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै इस्टाग्राम (निम्सदाइ)मा मार्फत आरोपको खण्डन गरेका हुन् ।

हिन्टसाले न्युयोर्क टाइम्ससँगको पछिल्लो कुराकानीमा कोठामा पुगेर जबरजस्तीको प्रयास गरेको आरोप लगाएकी थिइन् । त्यस्तै डा. अप्रिल लियोनार्डोले समेत पूर्जाले जबरजस्ती चुम्बन लिएको दावीको आफ्नो ‘म बिरुद्ध जघन्य आरोपहरू लगाइएको छ,यो कुनैपनि हालतमा सत्य छैन, मैले कानुनी उपचार खोज्नेछु, मेरो यात्रालाई रोक्न, दवाउनमा अपमानजनक र झूटा आरोप लगाइएको छ’ पूर्जाले भने।

उनले आफ्नो भनाई राख्ने अवसर समेत नदिइएको र एकपक्षिय खवर प्रकाशित गरेको दाबी गरे । आफ्नो व्यक्तिगत र पर्वतारोहणको क्षेत्रमा प्राप्त सफलतालाई रोक्न चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरूले आफूलाई लक्षित गरेर निराधार आरोप लगाउँदै दुष्प्रचार गरेको बताए । ‘म बिरुद्ध केहीसमय यता श्रृंखलाबद्ध आक्रमण भइरहेको छ,‘मेरो पर्वतारोहण क्षेत्रमा प्राप्त सफलतालाई बदनाम गर्ने गिरोह परिचालित छ’ पूर्जाले भने ।

उनले अवरोधलाई पन्छाउँदै विश्वभर पर्वतारोहणको क्षेत्रमा थप उचाईमा पुग्ने गरी निरन्तर काम गर्ने बताए । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना घर भएका पूर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गरेको सहित आधादर्र्जभन्दा बढी किर्तिमानी कायम गरेका छन् ।

उनले विश्वका आठ हजार मिटर अग्ला हिमालहरु ४४ पटक सफल आरोहण गरी अर्को विश्व कीर्तिमान कायम गरेको इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडले जनाएको छ । पूर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पार्ने किर्तीमानी समेत कायम गरेका थिए ।

सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए ।

गण्डकी प्रदेशमा जेठ २१ र २२ गते श्रमाधान रोजगार मेला हुदै, तयारी पूरा

0

गण्डकी प्रदेशमा यहि जेठ २१ र २२ गते श्रमाधान रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा हुन लागेको हो ।

मेलाको आवश्यक तयारी पुरा भएको छ । उक्त मेलाको संयोजन होटल संघ नेपाल (हान) र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् ।

मेलाबारे जानकारी दिन श्रम तथा रोजगार कार्यालय पोखरामा आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव शारदा भण्डारीले तयारी अन्तिम चरणमा पुगेको बताइन ।

आन्तरिक रोजगारी प्रवर्द्वन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरुलाई एकद्वार प्रणालीबाट सम्वोधन गर्दै रोजगारीको लागि अनुकुल वातावरण सृजना गर्नु मेलाको उद्देश्य रहेको उनको भनाइ छ ।

मेलामा रोजगार दिने र रोजगारी खोज्नेहरुबीच प्रत्यक्ष भेट हुने र रोजगारी सिर्जनाको वातावरण उपलब्ध हुने उपसचिव भण्डारीले बताइन ।श्रम तथा रोजगार कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले मेलाको तयारी अन्त्मि चरणमा पुगेको बताए ।

मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेश निर्माणमा योगदान गर्ने उनको भनाइ छ । मेलामा रोजगारदाताहरुको सूचीकरण र रोजगारीका अबसरको पहिचान गरिने बताए ।

मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरु राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, बैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका कम्तिमा ३५ वटा स्टल तथा बुथहरु हुनेछन् । प्रदेश भित्रका ठूला सम्भावित रोजगारदाताको पहिचान गरेर सरकारी तर्फबाट ८ देखि १० वटा र निजी क्षेत्रका २० देखि २५ वटा स्टलहरु हुनेछन् ।

श्रम र रोजगारसँग सम्बन्धित कार्यशाला गोष्ठी तथा अन्तरकृया कार्यक्रम हुनेछन् । जसमा सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानून र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धि अन्तरक्रिया हुनेछ । त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन् ।श्रमाधान रोजगारको संयोजक समेत रहेकी उपसचिव भण्डारीले मेलाले बाध्यात्मक वैदेशिक रोजगारी कम गर्न सहयोग पुग्ने बताइन ।

‘मेलाले आजको भोली नै देशभित्र नै रोजगारी दिन्छ भन्ने होइन् । यो सुरुवात हो । यसले बाध्यताले वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाईको बाध्यता विस्तारै कम गर्ने सरकारको उद्देश्य हो । यो सुरुवात मात्रै हो,’ भण्डारीले भनिन ।

सीप र विकासलाई रोजगारदाता र रोजगार खोज्नेहरुसँग जोड्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।होटल संघ नेपाल कास्कीका अध्यक्ष हरी शर्मा गैरेले मेलाले कामदार खोजिरहेका नीजि क्षेत्रका लागि महत्वपूर्ण भएको बताए ।

श्रमाधान रोजगारमेलामा सहभागीहुन अनलाइन दर्ता प्रणाली  मार्फत रोजगारदाता सुचीकरण हुन र रोजगारीको खोजीमा रहेका व्यक्तिले दर्ता गर्न सकिने व्यवस्था छ । साथै मेलाको भ्रमण गरी त्यही म्यानुअलमा  र अनलाइनबाट समेत दर्ता गर्ने सकिने व्यवस्था रहेको छ ।

गर्भवती किशोरी सात महिनादेखि बेपत्ता

0

म्याग्दीको बेनी नगरपालिका-९ तोरीपानीकी १९ वर्षीया मीना परियार सात महिनादेखि बेपत्ता छिन्। २०८० पुस १६ गते राति घरबाटै बेपत्ता भएकी परियारको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। बेपत्ता भएको दिन बिहान ११ बजेसम्म स्थानीय युवा राम खत्रीसँगै रहेको तथ्य फेला परे पनि त्यसयता मीनाको स्थिति अज्ञात छ।

आफन्त, शुभचिन्तक, दलित अधिकारकर्मीहरूको सहयोगमा सदरमुकाम बेनीमा ‘कि सास चाहियो कि लास’ भन्दै सुरु गरिएको आन्दोलनमा बुवा ६० वर्षीय चन्द्र परियार र आमा ५९ वर्षीया भूलमाया परियार पनि सहभागी छन्।

अनेक दुःख, पीडाका बिच हुर्काइएकी छोरी मीनालाई गाउँघर, खोलाकिनार सबैतिर खोजतलास गरे पनि फेला नपरेपछि बुवाआमा, आफन्तजन सबै चिन्तित छन्। मीनाको खोजीका लागि प्रमाणसहित प्रहरी कार्यालयमा उजुरी गरेपछि पक्राउ परेका खत्रीलाई जिल्ला अदालतले पुर्पक्ष थुनामा राखेको छ। तर पनि छोरीका बारेमा केही पत्ता नलागेपछि परियार दम्पतीले छोरीको खोजीका लागि सबैसमक्ष अपिल गरिरहेको छ। ‘छोरी गायब बनेदेखि नै भोकनिद्रा हराएको छ। छोरी फर्किने आशामा दबाब दिन बेनी आएको हुँ,’ चन्द्र परियारले भने।

मीनाकी भाउजू कमला बर्देवा नेपालीले घरमा सुतिरहेको अवस्थामा एक्कासि बेपत्ता भएकी नन्द मीना सात महिनासम्म नफर्किंदा अनेक सोच्न बाध्य भएको बताइन्। उनले मिलेमतोमा घटना घटाइएको दाबी गरेकी छन्। ‘न्याय नपाएपछि बाध्य भएर सडकमा आन्दोलन गर्नुपरेको छ,’ उनले भनिन्।

बेपत्ता बनाउनेका बारेमा पर्याप्त प्रमाण हुँदा समेत न्याय नपाएको र सामाजिक दुर्व्यवहार सहनुपरेको कमलाको भनाइ छ। मीनाका आफन्तजनले घटनाको वास्तविक पहिचान गर्न सम्बन्धित निकायबाट अभियुक्तसँग जोडिएर अनुसन्धान गर्ने विषयमा चासो कम देखिएको गुनासो गरेका छन्। बेपत्ता मीनालाई न्याय दिन दलित समुदायसम्बद्ध विभिन्न संघसंस्थाले समेत वास्तविकता सार्वजनिक नगरेसम्म र दोषीमाथि कारबाही नभएसम्म धर्ना र दबाबका चरणबद्ध कार्यक्रम गरिने बताएका छन्।

यता अनुसन्धानकै क्रममा कारागार पठाइएका अभियुक्त खत्रीले मीनासँग प्रेम सम्बन्ध रहेको र यौन सम्पर्कसमेत राखेको स्वीकार गरे पनि आफूले बेपत्ता नबनाएको बताएका छन्।

पुर्पक्षमा राखेर अनुसन्धान अघि बढाउन कारागार पठाउने आदेशपछि पनि मीनाबारे केही नयाँ तथ्य सार्वजनिक भएको छैन। मीना र अभियुक्त खत्रीबिच सामाजिक सञ्जालमा कुराकानी भएको, खेत जोत्ने बेलामा चिनजान भएको, शारीरिक सम्बन्ध भएको, ६ महिनाको गर्भ रहेको, भागेर भारत जाने सल्लाह भएकोबारे खुलाए पनि बेपत्ता गराएको भन्ने आरोप स्वीकार गर्न खत्री  तयार छैनन्।

मुलुकी अपराध संहिता २०७४ दफा २०७ को उपदफा १ बमोजिम बेपत्ता पार्ने अभियोग लागेका खत्रीलाई १५ वर्ष कैद र पाँच लाख रूपैयाँसम्म जरिवाना गरी पीडित पक्षलाई क्षतिपूर्ति भराउन माग गरिएको छ। बेपत्ता मीनाको मोबाइलको अन्तिम ‘लोकेसन’ उत्तरी म्याग्दीको बैसरी आसपासको क्षेत्र देखिएको थियो। २० वर्षभन्दा तलको उमेर भएकी किशोरीसँग सहमतिमै सम्बन्ध राख्न कानुनले अवैध मान्ने भएकाले थप काननुसमेत आकर्षित हुने जानकारहरू बताउँछन्।

मंगला स्ववियूको भलिबल प्रतियोगिताको उपाधी किसानी मावि बिमले जित्यो

0

म्याग्दीको मंगला गाउँपालिका-२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको म्याग्दी जिल्ला प्रदेश ‘ख’ स्तरीय मावि तह छात्र भलिबल प्रतियोगिताको उपाधी किसानी मावि बिमले हात पारेको छ ।

शनिबार क्याम्पसको प्रांगणमा सम्पन्न भएको खेलमा मालिका गाउँपालिका–७, बिमस्थित किसानी माविले मंगला गाउँपालिका–५ अर्मनस्थित शिशुकल्याण माविलाई सोझो सेटमा पराजित गरेको हो । प्रतियोगिताका प्रथम, द्धितियलाई क्रमश २५ हजार र १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

‘स्वस्थ विद्यार्थीका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा उत्कृष्ट खेलाडी किसानी माविका सुनिल थापा, बेष्ट सेटर किसानी माविकै अनिल थापा, स्पकाइकर शिशुकल्याण माविका सफल विक र बेष्ट ब्लकर किसानी माविका कृष्ण विक रहेको स्ववियू सचिव रविन शाहीले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ, महासचिव कुमार किसानले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो । पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाका ९ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटनको प्रमुख अतिथि मंगला शिक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष याम थापाले गर्नुभएको थियो ।

म्याग्दीको प्रदेश ख अन्तरगतका विद्यालयमा रहेको भलिबल खेलको प्रतिभाको उजागर तथा विद्यार्थीसँगको सहकार्यका लागि प्रतियोगिताको आयोजना गरिएको सभापति भिममायाँ रोकाले बताउनुभयो । मंगला शिक्षा क्याम्पस स्ववियूले क्याम्पस प्रांगणमा बृक्षारोपण, क्षमता विकास तालिम सहित विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।

चालीस लाख लागतमा म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

0

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो ।

चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताए। “व्यवस्थित खेलमैदान बनेपछि विद्यालय परिसर र खेतबारीमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने समस्या हटेको छ”, उनले भने।

खेलाडीलाई फुर्सदको समयमा ब्यायाम, खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु १५ लाख सहयोगमा ढलान गरिएको खेलमैदानमा अपर र मङ्गले राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुण्डी हाइड्रोपावरको रु १४ लाख बजेटमा स्टेज निर्माण भएको अध्यक्ष तिलिजाले बताए।

गाउँपालिकाबाट विनियोजित रु ११ लाख बजेटबाट प्यारापिट निर्माण र तारजालीले खेलमैदानको डिलतर्फ घेराबार गरिएको वडाध्यक्ष पविन गर्बुजाले बताए। बाहालवाला र सेवानिवृत्त भारतीय गोर्खा सैनिकहरूको रु पाँच लाख बढी सहयोगमा बास्केटबलको फाइबर बोर्ड जडान भएको छ ।

क्लबका पूर्वअध्यक्ष गुन पुनले खेलमैदान निर्माणका लागि स्थानीय यौमन गर्बुजाले पाँच रोपनी, भक्त र रुकबहादुर गर्बुजका दाजुभाइ, नन्दबहादुर र कुलप्रसाद गर्बुजाका दाजुभाइ एवं विशाल र श्रीलाल गर्बुजाका दाजुभाइका परिवारले गरी पाँच रोपनी बढी जग्गा दान गरेका जानकारी दिए।

खेलमैदानको भूमे पूजाका अवसरमा एकता युवा क्लबले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रमको अवसरमा शनिबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गरेका थिए । कार्यक्रममा क्लबले जग्गादाता र चन्दादातालाई सम्मान गरिएको थियो । रासस

 

नेकपा एमाले म्याग्दी काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा गुरुङ

0

नेकपा एमालेमा आस्थावान् म्याग्दी घर भै काठमाडौं बस्नेहरुको संस्था नेकपा एमाले म्याग्दी काठमाडौं सम्पर्क समिति मञ्चको अध्यक्षमा पुनः तमबहादुर गुरुङ निर्वाचित भएका छन् ।

शनिवार काठमाडौंमा भएको एक भेलाले गुरुङको नेतृत्वमा निर्विरोध १५ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा होम पुन, धनमाया शेरपुञ्जा, सचिवमा इन्द्र खड्का, उपसचिवमा खेम सुवेदी र कोषध्यक्षमा खडक थापा चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा हिराबहादुर थापा, पदम छन्त्याल, कृष्ण पुन, दिनद जुग्जाली, हिरालाल रोका, चमेली खत्री र हुपेन पुन निर्वाचित हुनु भएको कोषध्यक्ष खडक थापाले जानाकारी दिनु भयो ।

निर्वाचन अगाडि बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क समिति मञ्च इन्चार्ज कल्पना थापाले कम्युनिष्ट पार्टी बिरुद्ध देशमा गतिविधि बढ्दै गएकाले कम्युनिष्ट आन्दोलन जोगाउन सबै कम्युनिष्ट पार्टीहरु एक हुनुको बिकल्प नरहेको बताउनु भयो ।

त्यसैगरी एमाले केन्द्रिय सदस्य तथा पूर्व मन्त्री नरदेवि पुनले सम्पर्क मञ्चले काठमाडौंमा बसेका एमालेका नेता तथा कार्यकर्ताहरुलाई जिल्ला संग जोड्नु पर्ने बताउनु भयो ।

एमाले गण्डकी प्रदेश कमिटि सदस्य हरिकृष्ण श्रेष्ठले गत निर्वाचनमा गठनबन्धनका कारण जिल्लामा आफु सहित प्रदेशका उमेद्ववारहरुले निर्वाचनमा विजयी प्राप्त गर्न नसके पनि आगामि दिनमा जस्तै सुकै गठबन्धन बने पनि पार्टीले विजयी प्राप्त गर्न सक्नेगरी संगठन निर्माण गर्नु पर्ने र जनपक्षीय काम गर्नु पर्ने बताउनु भयो ।

त्यसैगरी एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले सम्पर्क मञ्च र जिल्ला पार्टीको समन्वयमा भेला तथा गोष्ठिहरु आयोजना गर्नु पर्ने आवश्यकता देखिएको बताउँदै बलियो संगठन निर्माण गर्न सबैले पहल गर्नु पर्ने बताउनु भयो ।

नेकपा एमाले म्याग्दी काठमाडौं सम्पर्क समिति मञ्चका अध्यक्ष तमबहादुर गुरुङको अध्यक्षता सम्पन्न भएको अधिवेशनको स्वागत निर्वतमान् उपाध्यक्ष महेश श्रेष्ठले गर्नु भएको थियो भने अनेरास्ववियूका केन्द्रीय सचिव तथा प्रवक्ता प्रकाश पौडेल सहित विभिन्न तहका नेता कार्यताहरुले शुभकामना मन्तव्य व्यक्तगर्नु भएको कार्यक्रमको सञ्चालन होम पुनले गर्नु भएको थियो । कार्यक्रममा एमाले निकट अन्य भातृ संगठन, सम्पर्क मन्चका अन्य जिल्लाका प्रतिनिधि र नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत तथा पुरस्कार वितरण कार्यक्रम

0

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमी एण्ड मन्टेश्वरी हाउस प्रालिले चालु शैक्षिक वर्षमा विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थी र उनीहरुका अभिभावकलाई शुक्रवार भव्य कार्यक्रमका विच स्वागत गरेको छ ।
छ्यारछ्यारे स्थित सभाहलमा कार्यक्रमको आयोजना गरेर नवआगन्तुक विद्यार्थी,अभिभावक र शिक्षकलाई स्वागत गर्नुका साथै गत शैक्षिक वर्ष २०८० मा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यार्थी र अभिभावकहरुले खचाखच भरिएको सभाहलमा विद्यार्थीहरुले विभिन्न गीत र नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रिन्सिपल विमल शर्माले चालु शैक्षिक वर्षमा विद्यालयमा भर्ना भएका ६० जना विद्यार्थीहरुलाई स्वागत गर्दै सम्पूर्ण विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि विद्यालयले शैक्षिक गुणस्तर,अनुशासन र अतिरिक्त क्रियाकलापहरुमा जोड दिने बताउनुभयो ।
त्यसैगरी विद्यालयका संचालक तथा प्रवन्ध निर्देशक हिरा पुनले व्यवहारिक,सीपमूलक र जीवनोपयोगी शिक्षा प्रदान गर्न विद्यालय प्रयत्नरत रहेको र त्यसका लागि आवश्यक साधन सहितका पूर्वाधारहरु पनि तयार पारिएको बताउनुभयो । विद्यालयले अभिभावक लक्षित कम्प्यूटर कक्षा र विद्यार्थी लक्षित कृषि शिक्षा समेत सुरु गर्न लागेको जानकारी दिनुभयो ।
कार्यक्रम शिक्षक मीनबहादुर सुनार र विमल पुनको संचालन तथा ध्रुवसागर शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

 

 

बेनी सामुदायिकमा शैक्षिक भ्रमण गर्नेको ओइरो

0

बेनी सामुदायिक माविमा शुक्रबार दरबार मावि गोरखाको विद्यालयको टोलीले अवलोकन भ्रमण गरेको छ । यो देशभरबाट भ्रमण गर्न आउने १ सय ७१ औं विद्यालय हो ।

बेनी सामुदायिकमा भ्रमण गरेर फर्किएका विद्यालयको सूचनाका आधारमा आएको टोलीले जिल्लामा रहेका निजी विद्यालयहरूसँग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको विद्यालयबाट राम्रा अभ्यास सिको गर्ने उद्देश्यले आएको टोलीले विब्यस, अभिभावकको नियमित अनुगमन, शिक्षकको सामुहिक सहकार्य,प्रयाप्त भौतिक पूर्वाधार, लोभलाग्दो शैक्षिक प्रगति, विद्यार्थीमैत्री संरचना लगाएत लोभलाग्दो प्रगति देखेर दंग परे ।

भ्रमणमा आएकालाई स्वागत गदैं प्रधानाध्यापक दिपक श्रेष्ठले शैक्षिक अभ्यास र शिक्षकको सामुहिक सहकार्यको नमुना समेत प्रस्तुत गरिएको थियो । अवलोकन भ्रमणको क्रममा विद्यालयमा अभिभावक र शिक्षकको नियमित सहकार्यले शैक्षिक नतिजामा सुधारका अभ्यास उत्कृष्ट लागेको र यसलाई प्रयोग गर्ने प्रतिबद्धता टोलीले गरेको प्रअ श्रेष्ठको भनाई छ ।

अहिलेसम्म विद्यालयमा देशभरबाट जनप्रतिनिधि सहितको टोली अवलोकनमा आउने गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि बालमन्दिर मावि नदीपुर पोखराको टोली पहिलो भ्रमणमा आएको थियो ।

शैक्षिक अवलोकनमा आएकालाई चालु बर्षको एसइइको श्रेणीगत नतिजा, तिनबर्ष भित्रको एसएलसी उत्र्तिणा प्रतिशत, विद्यालय स्तरिकरण (भौतिक पुर्वाधार, मानविय स्रोत), कक्षा ९ मा भर्ना भएका विद्यार्थीको संख्या र एसएसलीमा उत्र्तिणा संख्या र चालु एसएलसी उत्र्तिणा प्रतिशत, अंग्रेजी माध्यमबाट अध्ययन, आन्तरिक स्रोतको प्रयोग, अभिभावको निगरानी, सिकाई उपलब्धी, कक्षाकोठा सजावट, शिक्षक र अभिभावक विचको सम्बन्ध, कक्षा कोठाको निगरानीमा सिसी क्यामेराको जडान लगायत विभिन्न गतिविधिलाई डिजिलट माध्यमबाट प्रस्तुत गर्ने गरिन्छ ।

२०११ सालबाट अस्थाई रुपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो ।२०६३ साल देखी माध्यामिक तहको परिक्षामा सहभागिता जनाएको विद्यालयले हरेक बर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

जिल्लामा शैक्षिक भ्रमणमा आउनेलाई जिल्लाका पर्यटकीयस्थलका बारेमा समेत जानकारी गराउने गरिएको छ । यता भ्रमणमा आउने अधिकांस विद्यालयले एक रात बेनीमा विताउने भएकाले होटल ब्यवसायी समेत उत्साहित हुने गरेका छन् । शैक्षिक भ्रमणले आर्थिक कारोबारमा समेत सघाइरहेको ब्यवसायीको भनाई छ ।

error: Content is protected !!