Sunday, May 4, 2025
20.8 C
Beni
20.8 C
Beni
Sunday, May 4, 2025
Home Blog Page 274

वडाले तालिम दिँदै, आमाहरूले मादल बजाउन सिक्दै

0

म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ मा रहेको ज्ञान मन्दिर सामुदायिक सिकाई केन्द्रको आयोजना र बेनी नगरपालिकाको सहयोगमा हराउँदै गएको छ मादल बजाउने संस्कृति जोगाउन ४ दिने मादल बजाउने सिपमुलक तालिम सुरु भएको छ ।

तालिमको शुक्रबार बेनी नगरपालिका शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो । उपसचिव पौडेलले कुनै पनि सिपले व्यक्तिको क्षमता विकासमा सहयोग पु¥याउने बताउनुभयो । गाउँ समाज गाइने रत्यौली, लोक भजन लगायतमा मादल बजाउन सक्ने गरि सिप सिक्न सहभागीहरुलाई आग्रह समेत गर्नुभएको थियो ।

बेनी नगरपालिका वडा नम्वर ६ का अध्यक्ष कृष्णसिँह बानियाँले नेपाली मौलिक लोकबाजा मादल बजाउने सिप महिला दिदी वहिनीहरुका लागि आवश्यक रहेको बताउनुभयो ।विहेको रत्यौली गीत गाउदा पुरुषले मादल बजाएको नसुहाउने भन्दै त्यसका लागि महिलाहरुले नै मादल बजाउन सक्ने बन्नुपर्ने बताउनुभयो ।

सिकाई केन्द्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले मादल बजाउने सिपलाई अनौपचारिक शिक्षाको रुपमा लिन सकिने बताउनुभयो । उहाँले मादलको सिपलाई व्यवसायिकतामा समेत जोड्न सकिने बताउनुभयो ।

४ दिन सम्म संचालन हुने तालिममा म्युजिसियन दिनेश पुन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य समेत रहनुभएका कलाकार अमित विश्वकर्मा सहजकर्ताको रुपमा रहनुभएको छ । तालिममा बेनपा ६ भित्रका विभिन्न आमा समुहहरुबाट ४२ जनाको सहभागिता रहको छ । उद्घाटन कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष सुवेदीको अध्यक्षता र सामुदायिक परिचालक पत्मा गौतम शर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्यहरु राधिका विश्वकर्मा र शारदा रानाको पनि उपस्थिति रहेको थियो ।

बरङ्जामा उल्लासपूर्ण रूपमा मनाइयो धुले

0

वि.सं. १३१२ देखि मनाउँदै आएको दावी गरिएको मंगला गाउँपालिकाको बरङ्जा क्षेत्रमा मनाइने धुलेको सम्पूर्ण विधि यस वर्ष सकिएको छ । औपचारीक विधि थालनी भएको १०  दिनमा धुलेको सबै विधि सकिएको हो ।

गत जेठ ८ गते आफ्नो पौराणीक विधि पुरा गरेर जाँड राखेपछि शुरु भएको धुलेको मुख्य विधि मंगलबार देखि बिहीबार सम्म तीन दिन चलेको थियो । बरङ्जा नजिकै रहेको अर्जेखोलामा गएर माछा सिकार गरेर ल्याएर विधिपूर्वक पितृ चडाउने काम मंगलबार भएपछि बरङ्जा क्षेत्रमा काम बारिएकोमा धुलेको होरे भएपछि डोठो तानेपश्चात काम फुक्नुका साथै धुलेको बिधि पनि औपचारीक रुपमा सकिएको धुले मेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर रोकाले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘मंगलबार पितृ चडाउने र काम बार्ने, बुधबार पराङ हाल्ने र बिहीबार मुख्य बिधि गरेर होरे पछि डोठो तानेपश्चात यस वर्षको धुले औपचारीक रुपमा समापन भएको हो ।’ धुलेको बिधि सकियो अब भोलीबाट केही खेलहरु हुन्छ–उहाँले भन्नुभयो ।

नेपालकै सबै भन्दा पुरानो धार्मिक पर्व रुपमा लिइने धुले मंगला गाउँपालिका वडा नं ३ र ४ बरङ्जा गाउँमा बसोबास गर्दै आएको ५४ कुरिया मगरहरुको आफ्नो मौलिक संस्कार हो ।  ५४ घर कुरिया मगरहरुले बि.सं. १३१२ मा बरङ्जाको थर्पुमा कोत घर निर्माण गरेसंगै धुले मनाउन थालेको तथ्यहरु भेटिएको बरंजा सातबिसेका तुकप्रसाद रोकाले जानकारी दिनुभएको मंगला गाउँपालिका–४ बुकेनीका बुद्धिबहादुर घर्तीले बताउनुभयो ।

तत्कालिन समयमा ९ वटा फरक थरका ५४ घर मगरबाट सुरु भएको सो पर्वको मुल विधि प्रत्येक वर्ष जेठको तेस्रो वा चौथो मङ्गलबार सुरु भएर बिहीबार व्यवस्थापन समितिका अध्यक्ष रोकाको भनाई छ ।

५४ कुरिया मगरहरुको राम्जाली रोका, बझाङ्गी रोका, पुन, मर्चथोके रोका, मास्ना घर्ती, दर्लामी घर्ती, सुतप्राइ घर्ती, बुढाथोकी र फगामी घर्ती गरी नौथरका पुर्खाहरु मिलेर घुम्दै १३ औं सताब्दीको शुरुमा यस क्षेत्रमा आएर बसोबास गर्न थालेको तथ्यहरुले देखाएको मान्न सकिने अध्यक्ष रोकाको भनाई छ । धुले मेला भन्दै गर्दा पनि ५४ कुरिया मगरहरुको कुलपुजा रहेको उनीहरुको भनाई छ । हरेक वर्ष कुलपुजा गरिने र त्यसलाई अलिक भव्य बनाउनका लागि पनि केही निश्चित समय लिने गरेको स्थानीयको तर्क छ ।

पहिरो पन्छाएसँगै बेनी–जोमसोम सडक सञ्चालनमा

0

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ तिप्ल्याङमा सडक माथिबाट खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनःसञ्चालन भएको छ । शुक्रबार दिउँसो हावाहुरीसँगै भिषण बर्षा हुदाँ पाखोबाट खस्ने ढुङ्गा र पहिराको अवरोध हटाएपछि दुईतर्फी सवारीसाधन सञ्चालन भएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए ।

उनका अनुुसार पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्न सक्ने र यात्रुलाई चोटपटक लाग्न जोखिमलाई मध्यनजर गरी सडकखण्डका विभिन्न स्थानमा समेत प्रहरी परिचालन गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डमा यो क्षेत्र समेत पहिरोको जोखिममा रहेकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक बर्खाको समयमा दर्जनौ स्थानमा अवरुद्ध हुने गरेको छ। भिरमाथिको पाखो भूमिगत पानी र पहिराले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको छ । सडकमा थुप्रिने बाढी र पहिरोको अवरोध कालीगण्डकी करिडोरले डोजरको सहायताले पन्छाउने गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाले ट्रेकिङ गाइड तालिम दिने, इच्छुकले सम्पर्क गर्न सकिने

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सुरक्षित र गुणस्तरीय पर्यटन प्रवद्र्धन सीपयुक्त जनशक्ति उत्पादन गर्ने उदेश्यले स्थानीयस्तरमै ट्रेकिङ गाइड उत्पादन गर्ने भएको छ ।

म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीयस्थलहरू रहेको गाउँपालिकाको पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न संस्कृति, पर्यटन तथानागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँग सहकार्य गरी गाइडहरुलाई ३५ दिने तालिम दिने भएको हो ।

अन्नपूर्ण गाउँपालिका भित्रका पर्यटकीयस्थलमा पदयात्रा र पर्वतारोहणका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी तालिम दिने प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो ।

‘यहाँका पर्यटकीयस्थलका बारेमा स्थानीयलाई धेरै जानकारी छ, गाइडको पाठ्क्रम सहितको तालिमले दक्ष जनशक्ती तयार हुन्छ’ सुबेदीले भन्नुभयो । अन्नपूर्ण गापा–४ नारच्याङमा तालिम सञ्चालन गरेपछि रजिष्टर गाइड मान्यता दिने गरी प्रमाणपत्र दिइनेछ।

गाउँपालिकाले तालिममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित ट्रेकिङ , भूगोल, वातावरण, नेपाली धर्म, इतिहास, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रा सुरक्षा, जोखिम लगायतबारे प्रशिक्षण दिइनेछ। गाउँपालिका अध्यक्ष भरतकुमार पुनले स्थानीय पर्यटन क्षेत्रमा आउने पर्यटकलाई सहज यात्रासँगै मौलिकता झल्काउने गरी गाइडलाई तालिम दिने बताउनुभयो । ३५ दिनको तालिमबाट गाइडको अनुभवका लागि पर्यटकीयस्थलमा समेत खटाइने छ।

३५ दिनको तालिम औपचारिकता दिन ब्यवहारिक अभ्यास समेत गराइने छ । विदेशी पर्यटकसँग सम्वाद गर्न सहज, ग्रामिण तथा जोखिमपूर्ण यात्रामा समेत पर्यटकलाई सुरक्षित रुपमा गन्तब्यसम्म पुर्याउने, पदयात्राको व्यवस्थापन, पर्वतारोहणमा समेत जान सक्नेहरुलाई गाउँपालिकाले नै प्रचारप्रसार गरी रोजगारीको वातावरण बनाउने जनाइएको छ ।

नेपाल माउन्टेन एकेडेमीले नेपालमा दक्ष गाइडहरु उत्पादन गर्ने गरेको छ। गाइड तालिमका लागि आवासीय सहितको सुविधा रहेकाले इच्छुकले गाउँपालिकामा सम्पर्क गर्न सक्नेछन् । यसै महिनादेखि तालिम सञ्चालन हुने जनाइएको छ ।म्याग्दीमा बार्षिक भित्रिने स्वदेश तथा विदेशी पर्यटकको करिब ७० प्रतिशत उत्तरी म्याग्दीले ओगट्ने गरेको छ ।

चिरञ्जीवी शर्मा गण्डकीको मुख्य न्यायधिवक्ता नियुक्त

0

गण्डकी प्रदेशको मुख्य न्यायधिवक्ता चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले म्याग्दीका शर्मालाई नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई नियुक्त गरे । उनले दिउँसो २ बजे सपथ ग्रहण गर्नेछन् ।

पहिलो पटक मुख्यमन्त्री हुँदा पनि  सुरेन्द्रराज पाण्डेले शर्मालाई नै मुख्य न्यायधिवक्ता बनाएका थिए । यसअघि निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मुख्य न्यायाधिवक्तामा लमजुङका एमाले नेता कृष्ण अधिकारीले नियुक्त गरेका थिए । खगराज अधिकारीको सरकार ढलेसँगै अधिकारी पदमुक्त भएका हुन् । शर्मा गण्डकीका छैठौं मुख्य न्यायधिवक्ता बनेका छन् ।

म्याग्दीकी ललिता शेर्बुजा मिस नेपालको उत्कृष्ट २६ मा प्रवेश

0

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाकी ललिता शेर्बुजा ‘मिस नेपाल २०२४’ नेपालको उत्कृष्ट २६ प्रवेश गर्नुभएको छ। द हिडन ट्रेजरको आयोजनामा भएको अडिसन राउण्डबाट छनौट भएर प्रतिस्पर्धाको चरणमा प्रवेश गर्नुभएकी शेर्बुजाले म्याग्दी जिल्लाको कला, संस्कृति, भेषभुषा, रहनसहनको संरक्षण र प्रर्बधनका साथै जिल्लाको सुन्दरताको समेत मिन नेपालमार्फत प्रचारप्रसार गर्ने बताउनुभयो ।

Adv

‘जन्मभूमीलाई चिनाउने एउटा अवसरको रुपमा लिएको छु, मैले यो मौकामा म्याग्दीको मौलिकतालाई झल्कने गरी प्रस्तुती दिनेछु’ शेर्बुजाले बेनीअनलाइनलाई भन्नुभयो । यसभन्दा अगाडीका चरणहरुमा समेत म्याग्दीको पहिचानसँग जोडिएका विषयबस्तुलाई नै चर्चा गरेको शेर्बुजाको भनाई छ ।

मिस नेपालको प्रतियोगितामा मौलिक कला र संस्कृति माथिको भइरहेको अतिक्रमणका बारेमा समेत ध्यानार्कषण गराउने बताउनुभयो । मौलिक भाषा, कला, संस्कार र संस्कृति जोगाउन अहिलेको पुस्ताको पहिलो जिम्मेबारी रहेको समेत शेर्बुजाको भनाई छ ।

भावी पुस्तालाई हस्तान्तरण गर्न नसके लोभ हुने भएकाले आफ्नो मिस नेपालको यात्राको प्रमुख उदेश्य नै मौलिकता झल्किने गरी प्रस्तुती दिने शेर्बुजाले बताउनुभयो ।

Adv

मिस नेपालको प्रतियोगिताबाटै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ । ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने जनाइएको छ । यसैबीच मिस नेपालमा बेगखोलाकी चेलीले प्रतिस्पर्धा गरेको भन्दै बेगखोलाबासी उत्साहित भएका छन् ।

लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र

0

अहिले बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ। बर्खा लाग्न सुरु भएसँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन्। सिरसिर चल्ने सिरेठो, भर्खर उम्रिएका भुइँ घाँसमा एकोहोरो पाराले चरिरहेका भेडाबाख्रा। तालछेउको ठूलो चौर हजारौं सङ्ख्याका सेताम्य भेडाबाख्राले ढाकिदा यहाँको सुन्दरता बयान गर्न नसकिने देखिन्छ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गभन्दा केही मास्तिरपट्टि रहेको तालको सुन्तरतालाई भेडाको बथानले अझ बढी आकर्षित बनाइदिएको छ। यही जेठ पहिलो सातादेखि नै बुकी उक्लिन थालेका भेडाका बथान अबको केही दिनमा रिग क्षेत्र छोडी सक्छन्।

बागलुङ, रोल्पा र पूर्वी रुकुमका भेडापालक किसान गोठ छाउन चाहिने त्रिपाल, बर्खाभरि खाने खर्च र ओढ्ने ओछ्याउने विस्तारसहित यहाँ आइपुगेका हुन्। रिग ताल क्षेत्रमा बागलुङको निसीखोला गाउँपालिका–६ का किसानले काठ, ढुङ्गा र जस्तापाताले गोठ बनाएका छन्।

बुकी नउक्लिदासम्म उनीहरू यही बस्ने गर्छ। यतिबेला थोरै मात्रै भेडापालक लेकमा पुगेका छन्। एक साताभित्र बेँसीमा रहेका सबै भेडाबाख्रा लेकमा पुग्छन्। तीन हजार दुई सय मिटरको उचाइमा रहेको रिग ताल क्षेत्रबाट चार हजार मिटरको उचाइसम्म पुग्ने तयारीमा यहाँ आइपुगेका गोठाला छन्। अहिले रिग ताल वरपर करिब पाँच हजारको हाराहारी भेडाबाख्रा छन्।

यी भेडाबाख्रा त्यसभन्दा माथिल्लो क्षेत्र बुकीमा पुगे भने बेंसीमा रहेका अन्य गोठालाले आफ्ना पशुचौपाया रिग तालमा लैजान सुरु गर्छन्। एकै परिवारले पाँच सयदेखि तीन हजारसम्म भेडाबाख्रा पाल्ने हुँदा एकैपटक रिग क्षेत्रमा व्यवस्थापन गर्न सकिंदैन। त्यसले गर्दा पालैपालो लेक उक्लने गर्छन्। लेक चढ्ने याम सुरु भएको हुँदा अघिअघि भेडाबाख्रा पछिपछि गोठाला खर्चपर्च बोकेर हिंडिरहेका देखिन्छन्। जाडो र हिमपात छल्न गत मङ्सिरमा बेंसी झरेका भेडीगोठ जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका हन्। तल्लो क्षेत्रमा गर्मी बढेसँगै भेडीगोठ लेक सार्न थालेको निसीखोला गाउँपालिका–६ का भेडापालक लालसिंह घर्ती मगरले बताए।

छ महिना बेँसीमा बस्दा घाँस सकिएपछि लेक चढ्न थालेको उनको भनाइ छ। यो सिजनमा बेँसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठ महिनादेखि नै लेक चढ्न सुरु गरेको घर्ती मगर बताउँछन्।

अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैंतिहार बेला मात्रै बेँसी झर्ने उनको भनाइ छ। बेलाबेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने घर्ती मगरले बताए। लेकमा बस्दा निकै दुःख हुने भन्दै यो बाउबाजेको पालादेखि यो पेसा गर्दै आएको हुँदा आफू पनि यसैमा लागेको उनको भनाइ छ।

घर्ती मगरले भने, “लेकबेंसी गर्ने चलन त यो हाम्रो पुर्खादेखि हुँदै आएको हो, एउटै घरमा एक हजारभन्दा धेरै वस्तुभाउ पाल्ने हुँदा बेँसीमा मात्रै राख्न सकिंदैन, यतिका महिनासम्म गाउँघरमै राखेर पालियो, अब लेकतिर घाँस पलाउन थाले त्यही भएर माथि उक्लिन थालेका हौं, दुईचार दिनपछि यहाँ (रिग ताल) भन्दामाथि खानीखोलातिर लैजान्छौं, उतै चार महिना बित्छ, अब घर झर्ने त दसैँ मनाउन हो, कहिलेकाहीँ खर्च सकिएपछि र बिरामी भएपछि घर जान्छौं।”

रोल्पाको तेलखोलाका सन्तोष घर्ती पनि सात सय भेडाबाख्रा लिएर रिग क्षेत्रमा आएका छन्। रोल्पाको माथिल्लो क्षेत्र हुँदा रिग क्षेत्रमा आएका उनी मङ्सिरमा मात्रै बेँसी झर्छन्। करिब तीन महिनाका लागि पुग्ने आटो, पिठो र नुन लिएर आएको सुनाउँदै तीज बेला एकपटक गाउँ झर्ने उनले सुनाए।

यस वर्ष दुई सय भेडा बिक्रीका लागि तयार गरि रहेको भन्दै दसैँ बेला बजार जाने र फर्किएपछि गाउँ झर्ने उनको भनाइ छ। यस वर्ष लामो समय खडेरी पर्दा पहिलोको जस्तो लेकमा घाँस नपलाएको उनी बताउँछन्। बर्खाको घाँसले भेडाबाख्रा सप्रिने र दसैँमा राम्रो मूल्य पाइने उनले जानकारी दिए।

“मैले भेडा पाल्न थालेको १८ वर्ष भयो, हाम्रो पालामा धेरै मान्छे भेडा पाल्न रुचाउँथे, नयाँ युवा पुस्ताले यसतर्फ खास्सै चासो नदिंदा पहिलेको जस्तो चहलपहल छैन, परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन्छ कि भन्ने डर छ, पहिले बुकीमा लाखको हाराहारीमा भेडाबाख्रा हुन्थे, अहिले केही छैन”, उनले भने, “यस वर्ष २०/२२ लाख आम्दानी हुने गरी भेडाबाख्रा तयारी छन्, चार सय भेडा ब्याउने छन्, पहिलेको जस्तो आम्दानी हुँदैन पहिले वार्षिक ४० लाख आम्दानी हुन्थ्यो, अबको एक हप्तामा सबैभन्दा माथिल्लो क्षेत्रमा पुग्छौ।”

मुस्ताङी च्यांग्राको भुवा पश्मिनाका लागि उपयुक्त

0

मुस्ताङमा पालिएका च्यांग्राको भुवा पश्मिना बनाउने कच्चा पदार्थका रुपमा प्रयोग गर्न उपयुक्त देखिएको छ। अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गत नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना संघ र च्यांग्रा पश्मिना किसान संघको समन्वयमा नेपालमा पहिलोपटक गरेको परीक्षणबाट मुस्ताङी च्यांग्राको भुवा गुणस्तरका हिसाबले पश्मिनाका लागि उपयुक्त भएको पुष्टि भएको हो।

पश्मिना संघका अध्यक्ष धनप्रसाद लामिछानेले मंगोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा मुस्ताङी च्यांग्राको भुवाको गुणस्तर पश्मिनाको कच्चा पदार्थका रुपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन प्राप्त भएको जानकारी दिए।

‘एक वर्षअघि विज्ञहरुको टोली यहाँ आएर लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट आठ सय च्यांग्राको भुवा नमुनाका रुपमा संकलन गरी गुणस्तर परीक्षणका लागि लगेका थिए’, उनले भने, ‘यसै साता कृषक र जनप्रतिनिधिलाई भेला गरी परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै भुवाको थप गुणस्तर सुधार र व्यावसायिक उत्पादनका लागि छलफल गरेका छौं।’

चारवटै पालिकाका एक सय ६० किसानले पालेका पाँच–पाँचवटा फरक–फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्यांग्राको शरीरबाट नमुनाका रुपमा भुवा संकलन गरी परीक्षण गरिएको लामिछानेले जानकारी दिए। परीक्षणपछि नेपालमा पश्मिना बनाउने कच्चा पदार्थका रुपमा प्रयोग गरिने भुवाको स्रोत रहेको अन्तर्राष्ट्रियस्तरमा सन्देश प्रवाह भएको भन्दै यसले च्यांग्रापालन विस्तार र पश्मिना उद्योगको सम्भावना बढेको उनले बताए।

संकलित नमुनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाका साथै नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षण गरिएको अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताए। ‘च्याङ्ग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो। भेडा र चौंरीको तुलनामा च्याङ्ग्राको भुवालाई गुणस्तरीय मानिएको छ’, उनले भने।

प्रतिवेदन सार्वजनीकरणसँगै सुझावअनुसार कश्मिरका डा. खिलाल खान र अन्तर्राष्ट्रिय व्यापार केन्द्रका प्राविधिक विशेषज्ञ प्रा.डा. सर्फराज वानीलाई ल्याएर कृषकलाई च्याङ्ग्रा पाल्ने गोठ, आहारा र नश्ल सुधारसम्बन्धी आधुनिक ज्ञान र सीप प्रदान गरिएको परामर्शदाता श्रेष्ठले जानकारी दिए। उनका अनुसार यही जेठ ९ देखि सुरु भएको स्थलगत तालिम १६ गते सम्पन्न भएको थियो।

टोलीसँगै मुस्ताङ पुगेकी नेपालका लागि युरोपियन युनियन (इयु) का राजदूत भेरोनिक लोरेन्जोले लोमान्थाङ गाउँपालिकाका छिरिङ वाङ्दीले स्थापना गरेको ‘पश्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्म’ को उद्घाटन गरेकी थिइन्।

मुस्ताङमा च्याङ्ग्राको पश्मिनाको अन्तर्राष्ट्रिय बजारमा उच्च सम्भावना देखिएकाले यसको प्रवर्द्धन र व्यवस्थापनमा सघाउने राजदूत लोरेन्जोले बताइन्। विश्व बैंकको नेपालस्थित कार्यालयका प्रतिनिधिले पनि पश्मिनाको भुवा संकलन केन्द्रको अनुगमन गरेका थिए।

पश्मिनाको गुणस्तर सुधारका लागि विदेशी प्रशिक्षकबाट पाएको ज्ञान, सीप र अनुभव उपभोगी बन्ने कृषक वाङ्दीले बताए। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले च्यांग्रापालनबाट कृषकलाई मासु बिक्रीका साथै पश्मिनाका लागि भुवा उत्पादन गरेर दोहोरो लाभ लिने सम्भावना रहेको बताए। च्यांग्रापालनलाई थप व्यावसायिक, आधुनिकीकरण र संख्या वृद्धि गर्न पहल गर्ने उजको भनाइ छ।

प्राकृतिक रुपमा कम उत्पादन हुने च्यांग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दै गएको छ। राम्रो गुणस्तरको च्यांग्रा पश्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्यांग्रापालक कृषकले मनग्य आम्दानी गर्न सक्ने सम्भावना बढेको छ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तुका रुपमा रहेको पस्मिना बनाउन च्यांग्राको भुवा प्रशोधन गरेर निस्किएको धागो कच्चा पदार्थका रुपमा प्रयोग हुन्छ। नेपाल पश्मिना उद्योग संघका अनुसार नेपालबाट वार्षिक  तीन अर्ब रुपैयाँको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ।

विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्यांग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भीम शेरचनले बताए। उनका अनुसार संघले मुस्ताङबाट वार्षिक दुई मेट्रिकटन भुवा संकलन गरेर लैजाने गरेको छ।

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन्। भुवा शरीरबाटै झरेर खेर जाने गरेको थियो। तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो। नेपाल फाइबर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा संकलन र काठमाडौंमा प्रशोधन केन्द्र स्थापना गरेको छ।

वैशाख र जेठ महिना च्यांग्राको शरीरबाट भुवा निकाल्ने याम हो। भुवा निकाल्ने सीपसँगै नयाँ प्रविधि हस्तान्तरण गरिएको छ। मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्यांग्रापालन गरेका छन्। भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा ५२ हजार च्यांग्रा पालिएका छन्। –रासस

संरक्षण अभावमा गौश्वारका प्राचीन सम्पदा जीर्ण बन्दै

0

बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका एक सय वर्ष पुराना ढुङ्गेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् ।

विसं १९७८–७९ मा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुङ्गाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुङ्गेघर संरक्षण अभावमा जीर्ण भएका हुन् ।

मल्ल र राणाकालीन इतिहास दर्शाउने तीनतले ढुङ्गेघर प्राचीन दरबारजस्ता लाग्छन् । मल्ल र राणाकालीन इतिहासको साक्षी बनेका यी घर मल्ल र ठकुरीहरू बसाइँसराइका कारण अलपत्र परेका हुन् । विसं २०४५ सम्म मल्ल वंशीय ठकुरीहरूको बसोबास रहेको यो गाउँका मानिस २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएसँगै बसाइँ सरेपछि घर अलपत्र परेका बेनी नगरपालिका–२ का वडासदस्य चन्द्रकान्त रिजालले बताए ।

प्राचीन ती घरको मर्मसम्भार गरेर घरवरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तथा बागलुङको पञ्चकोट, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ भ्रमणमा जाने पर्यटकलाई पनि आकर्षण गर्न सकने प्रशस्त सम्भावना भएको वडा सदस्य रिजालले बताए ।

गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्वबम मल्लको स्वामित्वमा रहेका सय वर्षभन्दा बढी पुराना घर गौश्वारा गाउँका सम्पदा भएकाले तिनको सुरक्षा र मर्मतसम्भारमा घरधनी र समुदाय दुवैले चासो दिनुपर्ने स्थानीय बुद्धिजीवी रत्नबम मल्लले बताए ।

हाल गौश्वारा गाउँका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुईमा मात्र बसोबास छ भने तीन घर जीर्ण छन् । भावी पुस्तालाई आफ्ना पूर्वजहरूको निवासको परिचय गराउने यी घर संरक्षण गर्नुपर्ने स्थानीय अर्जुन माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक टीकाबहादुर कार्कीले बताए ।

त्यसैगरी मालिका गाउँपालिका वडा नं ६ तल्लो दुखुको रातोढुङ्गामा शेरचन र भट्टचनले निर्माण गरेका एक सय वर्षभन्दा पुराना सातवटा ढुङ्गेघर पनि संरक्षणको अभावमा जीर्ण भएका छन् । रासस

म्याग्दी ‘यूवा कप’को उपाधि बौदीकाली र धादिङले जित्यो

0

म्याग्दीको बेनीमा सम्पन्न भएको ‘प्रथम म्याग्दी यूवा कप’ को उपाधी पुरुष तर्फ नवलपुरको वौदीकाली गाउँपालिका र महिला तर्फको धादिङ स्पोर्टस क्बलले जितेको छ । बागलुङको गलकोट नगरपालिका सँग निकै प्रतिस्पर्धात्मक खेल खेलेको वौदीकालिले नगद दुईलाख रुपियाँ पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजना गरेको प्रतियोगितमा १३ समुह सहभागी पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको गलकोट नगरपालिकालाई २ का विरुद्ध ३ सेटले पराजित गरेको हो ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो, तेस्रो र पाँचौ सेट बौदिकालीले जितेको थियो । दोस्रो र चौथो सेट जितेको गलकोटलाई धिरेन्द्रप्रताप गाहाको कप्तानीमा मैदानमा उत्रिएको वौदिकालीले अन्तिम सेटमा १३ का विरुद्ध १५ले पछि पारेको थियो ।

पुरुषतर्फ म्याग्दीको बेनी नगरपालिका तेस्रो र रघुगंगा गाउँपालिकाले सान्तवनामा चित्त बुझाए । महिलातर्फको फाइनलमा धादिङले म्याग्दीको मंगला गाउँपालिका–२ सहश्रधाराको मालिका स्पोटर््स क्लवलाई सोझो ३ सेटमा पराजित गरेको थियो।

बागलुङ नगरपालिका तेस्रो र म्याग्दी भलिबल संघ सान्तवना भएका छन् । पुरुषतर्फ उत्कृष्ट बनेका बौद्धिकालीका हिमाल सुनारीले नगद रु। ८ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । धादिङकी टिम कप्तान गंगा गुरुङलाई महिलातर्फ उत्कृष्ट खेलाडी घोषणा गरिएको थियो ।

पुरुषतर्फ प्रथम, दृतीय, तृतीय र सान्तवना हुने स्थानीय तहले ट्रफी, मेडल, प्रमाणपत्र सहित क्रमशः रु २ लाख, १ लाख २० हजार, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार प्राप्त गरेका राष्ट्रिय युवा संघ म्याग्दीका अध्यक्ष बिजय घर्तीले बताए । ६ टिम सहभागी महिलातर्फ बिजेता, उपबिजेता, तेस्रो र सान्तवना हुनेले ट्रफी, मेडल, प्रमाणपत्र सहित क्रमश नगद रु। ८० हजार, ६० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष महाराज गुरुङ, एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । ४ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्नुहुदै एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले खेलकुद विकासका लागि प्रशिक्षण र पूर्वाधारमा जोड दिएको बताउनुभयो ।

error: Content is protected !!