Sunday, May 4, 2025
22.3 C
Beni
22.3 C
Beni
Sunday, May 4, 2025
Home Blog Page 275

विद्यार्थीलाई सहयोग गर्न ताकम माविमा तीनवटा अक्षय कोष स्थापना

0

म्याग्दीको धवलागिरी गाउँपालिका-७,ताकमस्थित ताकम माध्यमिक बिद्यालयमा जेहेन्दार, विपन्न, अनुशासित तथा बेसहारा बालबालिकालाई सहयोग गर्ने गरी तिन परिवारले अक्षय कोष स्थापना गरेका छन् ।

आर्थिक अभावकै कारण पठनपाठनमा समस्या झेल्दै आएका बालबालिकालाई लक्षित गरी केदारनाथ पौडेलद्वारा जेष्ठ सुपुत्र बासुदेब पौडेलको स्मृतिमा १ लाख १ हजार, विद्यालयका पुर्ब प्रधानाध्यापक फरिणद्रनाथ सुबेदीद्वारा धर्मपत्नी स्वर्र्गीय खेमावती सुबेदिको स्मृतिमा १ लाख १ हजार ताकमका शन्तु पौडेलद्वारा माता हरिकला जैसिको स्मृतिमा ५१ हजार अक्षय कोष स्थापना गर्नु भएको हो ।

तीनवटै अक्षय कोषको ब्याजबाट लक्षित विद्यार्थीलाई सहयोग गरिने विद्यालयका प्रधानाध्यापक ओमकार पौडेलले बताउनुभयो । अक्षयकोष स्थापना गर्ने सामाजिक ब्यत्तित्व,शिक्षाप्रेमी,कर्मनिष्ठ एबम सहयोगीहरुलाई प्रअ पौडेलले धन्यवाद दिनुभयो ।

नेपाल आइडलका सन्तोष पुनलाई लिटल गार्डेनले सम्मान

0

नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल’को पाँचौं संस्करणमा उत्कृष्ट १२ मा पर्न सफल बेनी नगरपालिका वडा नं ८ निवासी सन्तोष पुनलाई लिटल गार्डेन एकेडेमीले सम्मान गरेको छ ।

नेपाल आइडलको सिजनमा प्रेरणादायी कामका कारण पनि चर्चामा आएका पुनलाई एक समारोहका बिच विद्यालयले कदरपत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो । विद्यालयका प्रिन्सिपल दिपक सुबेदी, प्राज्ञिक सल्लाहकार प्रेमबहादुर जिसी, अतिरिक्त क्रियाकलाप संयोजक रामप्रसाद सुबेदी र कोअर्डिनेटर रन्जता सुबेदीले सम्मान गदैं गायन क्षेत्रलाई निरन्तरता दिन शुभकामना दिनुभएको थियो ।

सोही अवसरमा सम्मानित हुन पाउँदा उर्जा थपिएको बताउँदै गीतसंगीतको यात्रा थप उचाईमा पुर्याउने गरी मेहनत गर्ने पुनको प्रतिबद्धता थियो । ‘नेपाल आइडल’मा पुनले गोल्डेन माइकबाट पाउनुका साथै क्यान्सर पीडित आमाको उपचार, बुबाले गरेको पसलको जिम्मेबारी तथा गायन क्षेत्रलाई समेत समय दिएको भिडियोले दर्शक समेत भाबुक भएका थिए ।

मंगला शिक्षा क्याम्पसले फोहोर संकलन गर्न ‘डोको डस्टबिन’

0

म्याग्दीको मंगला गाउँपालिका-२,लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले फोहोर व्यवस्थापन गर्न ‘डोको डस्टबिन’ राखेको छ । लाम्पाटा र बाबियाचौरबजार क्षेत्रमा फोहोर सङ्कलनका लागि क्याम्पसले गाउँमै निगालोबाट बुनिएका ‘डोको डस्टबिन’ उपलब्ध गराएको हो ।

स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालाबाट बनेका डोकाहरुलाई डस्टबीनको रुपमा प्रयोग गर्ने अभियान सञ्चालन गरिएको मंगला शिक्षा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष याम थापाले बताए । उनले वातावरणमैत्री क्रियाकलापमा सघाउन बावियाचौर, लाम्पाटा क्षेत्रमा ३८ वटा ‘डोको डस्टबिन’ निःशुल्क उपलब्ध गराएको बताए।‘स्थानीयस्तरमा डोको बनाउन प्रोत्साहन, विद्यार्थीलाई समेत सीप हस्तान्तरण गर्ने योजना छ’ अध्यक्ष थापाले भने ।

उनका अनुसार १५ वटा डस्बिन समेत राखिने छ । हरेक घरबाट निस्कने फोहोरलाई घरमै वर्गीकरण गरी घटाउने र सडकमै नफाल्ने गरी समुदायस्तरमा सचेतनामुलक अभियान समेत सञ्चालन गरिने अध्यक्ष थापाको भनाई छ ।

मंगला शिक्षा क्याम्पसले राखेको डोको स्वतन्त्र विद्यार्थी यूनियन, स्थानीय टोल समितिले समेत रेखदेख गर्ने तथा आवश्यकता अनुसार परिवर्तन समेत गर्ने क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताए। बजार क्षेत्रमा प्लास्टिकजन्य वस्तु प्रयोगलाई निरुत्साहित गर्ने समेत यो अभियानले सघाउने वडा अध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए ।

उनका अनुसार पहिलो चरणमा फोहोर संकलन गर्ने डोको वितरणसँगै अब कुहिने र नकुहिने फोहोर बर्गिकरण सहित राखिने छ । स्थानीयस्तरमा बाँस निगालाबाट निमार्ण गरिएका डोकोलाई डष्टविनको रुपमा पहिलो पटक प्रयोगमा ल्याइएकाले आगामी दिनमा वडास्तरमा उद्यमीहरुमार्फत निर्मित गरी बिक्री समेत गर्न सकिने बताए ।

‘डोको डस्टबिन’का लागि मंगला शिक्षा क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थीमार्फत फोहोर ब्यवस्थापन सम्बन्धि तालिम तथा प्रयोगका बारेमा समेत समिति बनाएर अभियानमा साथ दिने स्ववियू सभापति भिममायाँ रोकाले बताइन् । बावियाचौरमा प्रयोग हुने ‘डोको डस्टबिन’ पालिकाभित्रैकै उद्यमीबाट उत्पादन गरी प्रयोग गरिने मंगला शिक्षा क्याम्पसले जनाएको छ।

मराङमा सचेतना, क्षमता अभिवृद्धि र उद्घोषणकला तालिम

0

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–६, मराङमा तीन दिनसम्म सचेतनामूलक तालिम सम्पन्न भएको छ । ‘हाम्रो अभियान, समृद्ध धवलागिरि निर्माण’ भन्ने मूल नारासहित धवलागिरि ६ नम्बर वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।

वडाका जनप्रतिनिधि, कर्मचारी तथा समाजका अगुवाहरुलाई लक्षित गरेर सचेतनामूलक तालिम सञ्चालन गरिएको वडा कार्यालय मराङले जनाएको छ । स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको वडाको भनाइ छ । आइतबारदेखि मङ्गलवारसम्म तीन दिन चलेको तालिमको वरिष्ठ प्रशिक्षक मुक्तिप्रसाद ढुङ्गाना र प्रशिक्षक तथा पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

तालिम अवधिभरमा सचेतना, उद्घोषण, उद्घोषणकला, उद्घोषकमा हुनुपर्ने ज्ञान, सिप, ध्यान दिनुपर्ने विषयहरु, भाषणकला, स्वागत एवं शुभकामना मन्तव्य व्यक्त गर्ने तौरतरिका, नागरिक र न्यायिक समितिको काम, कर्तव्य, अधिकार तथा मौलिक हक र अधिकार एवं कानुनी साक्षरतासहित विविध विषयहरुमा सहजीकरण गरिएको थियो । साथै तालिममा सहभागीहरुलाई प्रयोगात्मक अभ्यास समेत गराइएको थियो ।

तालिममा सिकाइएका र सिकेका ज्ञान, सिपलाई आगामी दिनमा अभ्यासमार्फत निरन्तरता दिन सहभागीलाई सुझाव दिइएको छ । तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरणपछि तालिम समापनसत्रमा सम्बोधन गर्दै धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले तालिमको अवधिमा सिकेको ज्ञान तथा सिपलाई पूर्ण रुपमा व्यहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो ।

उहाँले गाउँपालिकाले सबै वडामा स्थानीयवासी र सरोकारवालाको क्षमता अभिवृद्धि गर्न विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा जोड दिएको बताउँदै बजेट नजिकिँदै गरेको अवस्थामा आफ्नो गाउँ, टोल र वस्तीमा आवश्यक पर्ने योजनाहरु छनोट गरेर पठाउन सहभागीलाई आग्रह गर्नुभएको छ ।

सोही कार्यक्रममा बोल्दै धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले सचेतना तालिममार्फत समुदायस्तरमा बालविवाह न्यूनीकरण, बालअधिकार तथा महिला हक अधिकारको बारेमा सचेतना फैलाउन सहभागीलाई सुझाव दिनुभयो।

तालिमको समापन गर्दै मराङका वडा अध्यक्ष राजाराम उपाध्यायले जनप्रतिनिधि, कर्मचारी र अगुवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको हुँदा तालिममा सिकेको ज्ञान, सिपलाई दैनिक जीवनमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा धवलागिरि–२, लुलाङका वडाध्यक्ष अकप्रसाद विक र ४ नम्बर वडा मुदीका वडाध्यक्ष यामप्रसाद घर्तीले शुभकामना मन्तव्य व्यक्त गर्दै आफूहरुको वडामा पनि सचेतनामूलक तालिम कार्यक्रम सञ्चालन गरी स्थानीयको क्षमता अभिवृद्धि गर्नुका साथै बोल्ने कलाको विकास गरिने बताउनुभएको छ ।

समापनसत्रमा तालिमका सहभागीद्वय निशा केसी र सन्ध्या केसीले अनुभव सुनाउनुभएको थियो । मराङका वडाध्यक्ष उपाध्यायको अध्यक्षता र सहभागी धनकुमारी रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा अर्का सहभागी लक्षुमन सुवेदीले स्वागत गर्नुभएको थियो ।

तालिमका प्रशिक्षकलाई वडामार्फत प्रशंसापत्रसहित सम्मान, अतिथिहरुलाई मायाको चिनो प्रदान तथा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिमका सहभागीहरुले तालिम अत्यन्तै राम्रो र प्रभावकारी रहेकाले आगामी दिनमा पनि वडास्तरमा यस्ता सचेतनामूलक तालिम, क्षमता अभिवृद्धिका कार्यक्रम र उद्घोषणकलाको तालिम सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

अन्तर मावि लोक गीतमा त्रिभुवन मंगलाकी युनिसा परियार प्रथम

0

म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीद्वारा गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजित जिल्ला स्तरीय अन्तर मावि लोक गीत प्रतियोगितामा त्रिभुवन मंगला मावि ¥यालेखोरकी युनिसा परियारले प्रथम स्थान हासिल गर्नुभएको छ ।
प्रतियोगितामा लिटल गार्डेन एकेडेमीका कुशल गोतामे द्वितिय, ज्ञान प्रकाश माविका शाहिल विश्वकर्मा तृतिय र राष्ट्रिय मावि नेप्टेचौरकी मुस्कान चोखालले शान्त्वना स्थान हासिल गर्नुभएको छ । उहाँहरुले क्रमशः नगद रु २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभएको छ ।
प्रोत्साहन स्वरुप जामुनाखर्क माविकी जमुना परियार र बेनी वोर्डिङकी एस्ली कार्कीलाई नगद रु १ हजार सहित पुरस्कृत गरिएको प्रतिष्ठान म्याग्दीका सचिव विजुन केसीले जानकारी दिनुभयो ।
विजेताहरुलाई प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसी, केन्द्रीय सचिव तथा निर्णायक संयोजक शंकर विरही गुरुङ, केन्द्रीय सहसचिव एवम् निर्णायक तारानाथ आचार्य, संस्थापक केन्द्रीय सदस्य धनकुमारी थापा, प्रतिष्ठान म्याग्दीका निर्वतमान अध्यक्ष देबेन्द्र घिमिरे लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले कला र संस्कृति देशको सम्पति भएकाले यसको संरक्षण गर्नु राष्ट्रको जिम्मेवारी हुने बताउनुभयो । उहाँले लोक गीतले मानव जीवनको कथा बोल्ने भएकाले पनि सवैको प्रीय हुने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सहसचिव तारानाथ आचार्य, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, प्रतिष्ठान म्याग्दीका संस्थापक अध्यक्ष किरण सापकोटा, सल्लाहकार नेत्र महत, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठान म्याग्दीका संस्थापक अध्यक्ष किरण सापकोटा, मौलिक लोक गायक कुमार पुन, सर्जक एवम् संचारकर्मी प्रकाश पौडेललाई सम्मान गरिएको थियो । साथै लोक दोहोरी गायक स्वर्गीय चक्रप्रसाद बानियाँलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो ।
विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा कलाकार कल्याणकारी कोष बृद्धि गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो । कार्यक्रममा गायक जिसीको नयाँ लोक दाहोरी गीत गल्वन्दी बैनाको लोकार्पण समेत गरिएको थियो ।

‘प्रथम म्याग्दी यूवा कप’ : गलकोट र बौद्धिकाली फाइनलमा

0

नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको गलकोट र बौद्धिकालीे फाइनलमा प्रवेश गरेको छ । बुधबार पुरुषतर्फको सेमिफाइनलको खेलमा गलकोटले बेनी र बौद्धिकालीले रंघुगंगालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।

पहिलो खेलमा गलकोट गाउँपालिकाले बेनी नगरपालिकालाई २५–१६, २५–२१ र २५–२२ को सेटमा पराजित गर्यो । दोस्रो सेमिफाइनल खेलमा बौद्धिकाली गाउँपालिकाले रंघुगंगा गाउँपालिकालाई २५–१७, २५–१८ र २५–२३ को सेटमा पराजित गर्यो । प्रतियोगितामा गण्डकी प्रदेशभित्रका पालिकाले सहभागिता जनाएको रेफ्री संयोजक जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । प्रतियोगितामा पुरुष तर्फ १३ र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।

पुरुषतर्फ प्रथम हुने टिमलाई २ लाख रुपैयाँ,उपविजेतालाई एक लाख २० हजार रुपैयाँ, तृतिय ५० हजार, सान्त्वना २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ।त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ८० हजार, द्धितिय ४० हजार, तृतिय २० हजार, सान्त्वना १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको संघका सचिव सुसन किसानले बताए । Photo Source: khelpati.com

पोखरामा ‘श्रमाधान रोजगार मेला’ हुन, म्याग्दीबाट समेत सहभागिता जनाउन सकिने

0

गण्डकी प्रदेशको पोखरामा दुई दिनसम्म ‘श्रमाधान रोजगार मेला’ हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी २१ देखि २२ गतेसम्म पोखरामा मेला गर्ने भएको हो ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रर्वद्धन गरी आयोजना गरिएको मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ ।

पहिलोपटक गण्डकी प्रदेशमा हुने लागेको मेलामा कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु हुने भएकाले मेलालाई सदुपयोग गर्ने मन्त्रालयका प्रवक्ता एवम् सह सचिव गोविन्द्र प्रसाद रिजालले अनुरोध गरेका छन् ।

पोखरामा हुने मेलामा गण्डकी प्रदेशभित्रका ११ वटै जिल्लाबाट यूवाहरुलाई सहभागिताका लागि समेत तयारी थालिएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले श्रमाधान रोजगार मेलामा यूवाका लागि अवसर हुने भएकाले सहभागि हुनुपर्ने बताए ।

‘रोजगारीको बाटो खोज्न, अवसरलाई सदुपयोग गर्न समेत मेला कोशेढुंगा सावित हुनेछ’ अध्यक्ष श्रेष्ठले भने। उनका अनुसार स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिने भएकाले म्याग्दीबाट समेत यूवाहरुलाई मेलाका बारेमा विभिन्न स्थानीय तहसँग समन्वय गरी पठाउने अध्यक्ष श्रेष्ठको भनाई छ ।

मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले पनि स्टल राख्नेछन् ।

गायक धुब्र जिसीको ‘गलबदी बैना’ बजारमा

0

लोकदोहोरी प्रतिष्ठान म्याग्दीका अध्यक्ष धुब्र जिसीको ‘गलबदी बैना’ बोलको गीत बजारमा आएको छ । गायक तथा सर्जक जिसीले बिकृतिजन्य लोक दोहोरी गीतले छोपेको सांगीतिक क्षेत्रलाई सन्देश दिन नयाँ गीत बजारमा ल्याएका हुन् । एलिना चौहानसँगै गायक जिसीको स्वरमा बजारमा आएको गीत शब्द नकुल ढकाल नबिनको रहेको छ ।

गीतको म्युजिक भिडियोमा विजय पुन र उषा उप्रेतीको आकर्षक अभिनय देख्न सकिन्छ । मौसम हिमाली द्वारा निर्देशित भिडियोलाई छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतलाई नकुन नबिन धुर्व जी.सि नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Adv

गितले यूवापुस्तादेखि बुढापाकासम्मलाई आर्कषित गरेको गायक जिसीको भनाई छ । म्याग्दीमा गायक जिसीले गीतसंगीतसँगै सामाजिक एवम् मानवीय सेवामा समेत सक्रियता देखाउने गरेका छन् । जिसीको नेतृत्वमा लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दी शाखाले निकै उचाई लिएको छ।

गुच्चाको गोली लागेपछि गाउँमा देखिन छाडे बाँदर

0

कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन्। स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन्।

‘रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो,’ गुरुङले भने, घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखापरेका छैनन्।’

लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घरभित्र पसेर भण्डारण गरेको अन्न समेत खाने, महिला एवम् बालबालिकालाई आक्रमण गर्न थालेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको उनले बताए।

‘हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाइपलगायत सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाइजरको सहायताले आगो लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्दछ’, गुरुङले भने।

उनका अनुसार चलाउन सुरक्षित रहेको बन्दुकको मूल्य सात हजारदेखि आठ हजारसम्म पर्दछ।

गुलेली र डेढ वर्षअघि बनाएको ठूलो आवाज आउने बन्दुकलाई बाँदरले नटेरेपछि युट्युबको सहायताले गुच्चाको गोली लाग्ने यन्त्र निर्माण गरेको बताउँदै ४५ वर्षीय गुरुङले भनिन्,‘अहिले त बाँदर मलाई र बन्दुक देखेपछि टाढैबाट भाग्दछ। यसअघि घर नजिकै रहेको बन्तरीको फल पाकेपछि रूखैभरि बाँदर हुन्थ्यो। अहिले फल पाकेर कुहिने अवस्थामा पुग्दा पनि बाँदर देखिएका छैनन्।’

विदेश जान मन नलागेपछि परिवारसँगै बसेर कृषि कर्म गर्दै आएका गुरुङले बन्दुक मात्र हैन हाते ट्र्याक्टर, मोटरसाइकल मर्मतदेखि खिर्रोको काठको सारङ्गी समेत बनाउँदै आएकी छन्।

‘बारीमा लगाएको बाली लाखुले खाने र नोक्सानी गरेर दुःख दिएको थियो। यस वर्ष भने बन्दुक पड्काएपछि बारीमा लगाएको काँक्रो राम्रो उत्पादन दिएको छ’, स्थानीय रामकुमारी गुरुङले भनिन्। उत्पादित काँक्रो आफूले खाएर बचेको बिक्री गर्दा १६ हजार आम्दानी भएको उनले जानकारी दिइन्।

रामकुमारीले भनिन्, ‘विगतमा काँक्रा किनेर खानुपर्ने अवस्था थियो, गिरेन्द्रले बनाएको बन्दुक पड्काएपछि बाँदर देखिएको छैन बन्दुकले राम्रो काम गरेको छ।’

उनको बारीमा यतिखेर काँक्रासहित खुर्सानी, बोडी, घिरौँला, करेलालगायत लहरे बाली फस्टाएकी छिन्।

मादी–१२ का वडासदस्य मिलन ढकालले बाँदरले किसानलाई निकै सास्ती दिएकाले गुरुङले आविष्कार गरेको बन्दुकको परीक्षण गरेर सफलताका आधारमा विस्तार गर्ने सोच बनाइएको बताइन्। उनले भनिन्, ‘बन्दुक बाँदर धपाउन प्रभावकारी हुने विश्वास छ।’

मुलुकभरि बाँदर आतङ्क बढेर किसानलाई सास्ती दिइरहेको वर्तमान अवस्थामा गुच्चाको गोली सहितको बन्दुकले बाँदर नियन्त्रण भएपछि सो क्षेत्रका स्थानीय बासिन्दालाई खेती सुरक्षामा सहज भएको छ।

सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

0

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा दुई गाउँबीचमा ‘लिङ्गो जुधाउने’ अनौँठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पूजाको अवसरमा यस गाउँमा सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गोजुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ ।

मङ्गलबार दग्नामका गैरी र कान्छी गाउँबिचमा भएको लिङ्गोजुधाइमा गैरी गाउँ विजयी भएको छ । प्रकृति पूजाको रुपमा चिनिने भूमे पूजामा भूमे देवतालाई खुसी बनाउन दुई गाउँबिचको लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न भएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताए । ‘‘यो संस्कृति पूर्खादेखि नै चल्दै आएको छ, हरेक वर्ष भूमे पूजामा यहाँ दुई गाउँका लिङ्गो जुधाउने प्रतियोगिता हुन्छ,’’ उनले भने ।

दग्नाममा गैरी गाउँ, कान्छी गाउँ, माझिगाउँ र डाँडागाउँ गरी चार वटा टोल रहे पनि यस प्रतियोगितामा भने हरेक वर्ष गैरी र कान्छी गाउँले मात्रै सहभागिता जनाउने गरेका छन् । मङ्गलवार दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजापतकाले सिगारिएका अग्ला बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङ्गो ठडाएर प्रतिस्पर्धा गराएका थिए ।

पुख्र्यौलीनाच, सोरठी भाका र पञ्चेबाजासहितको उत्सवकाबीच मङ्गलबार बिहान भूमे देवताको पूजागरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउनका लागि स्थानीयले लिङ्गो जुधाएका हुन् । प्रतियोगितामा अग्ला–अग्ला सिगारिएका लिङ्गालाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ ।

दग्नामको भूमे पूजालाई लिङ्गो जुधाइले सांस्कृतिक उत्सव बनाउने गरेको वडाअध्यक्ष पबिन गर्बुजाले बताए ।‘‘ भूमे पूजालाई हामीले मौलिकता र परम्परालाई जोगाउने गरी मनाउँदै आएका छौँ, यसमा लिङ्गो जुधाइ सबैको लागि रुचि र चासोको विषय बन्ने गरेको छ, दुई गाउँबीचको प्रतिस्पर्धा देवतालाई खुसी बनाउने र आपसी सद्भाव बढाउन सहयोगी बन्ने गरेको छ’’ उनले भने ।

दुई गाउँले लिङ्गो जुधाइलाई प्रतिष्ठाको विषय बनाउने गर्छन् । बाँसको लिङ्गो स्थानीय दग्नाम वरपरसँगै छिमेकीगाउँ राखुबाटसमेत लैजाने गरिन्छ । स्थानीयले लिङ्गो जुधाइलाई करिब चार सय वर्ष पुरानो संस्कृतिमा गन्ने गरेका छन् । भूमे पूजामा लिङ्गो जुधाइ हेर्न देश तथा विदेशमा छरिएर रहेका दग्नामवासी गृहगाउँ फर्कने गर्छन् भने छिमेकी गाउँबाटसमेत उल्लेख्य मात्रामा सर्वसाधारण मेला भर्न पुग्ने गर्छन् । यस पटकको लिङ्गो जुधाइको अवलोकनमा तीन सय बढी सहभागी भएका थिए ।

जेठा भूमेको रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनाको पहिलो वा दोस्रो साताको मङ्गलबारको दिन पूजा गर्ने चलन छ । खासगरी खेतीबाली राम्रो होस्, बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस् भन्ने कामना गर्दै भूमे देवताको पूजा गरिन्छ ।

भूमे पूजाको अवसरमा स्थानीय एकता युवा क्लबले सांस्कृति तथा खेलकुद मेलासमेत आयोजना गर्दै आएको छ । यसवर्ष दग्नाममा पूख्र्यौली नृत्यसहित विविध खेलकुद र सांस्कृतिक मेलाको आयोजना गरिएको क्लबले जनाएको छ । रासस

error: Content is protected !!