Thursday, June 26, 2025
25.2 C
Beni
25.2 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 688

तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी प्रकाश माविको पोल्टामा

????????????????????????????????????

म्याग्दीको बेनी नगरपालिका अन्तर विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी प्रकाश माविले जितेको छ। मंगलवार बेनीमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण,५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले उपाधी जितेको हो ।

????????????????????????????????????

प्रतियोगितामा १५ वटा सामुदायिक, १० वटा निजी मावि, म्याग्दी बहुमुखी क्याम्पस र बालमन्दिर आधारभूत विद्यालय गरी २५ वटा विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा पदकमा विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

????????????????????????????????????

प्रतियोगितामा १० स्वर्ण, १० रजत र ९ कास्य पदक हात पार्दै माउण्ट एभरेष्ट आवासीय मावि द्धितिय र ८ स्वर्ण, १४ रजत र ८ कास्य पदक प्राप्त गर्दै न्यू वेष्ट प्वाइन्ट आवासिय मावि तृतिय हुन सफल भएका छन् । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागी छन् ।

????????????????????????????????????

प्रतियोगितामा बिजेता, उपबिजेता र तृतिय हुने विद्यालयलाई क्रमश ः रु. ५१ हजार, ४० हजार र ३० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।प्रतियोगितामा विद्यागत प्रथम र द्धितिय तथा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको छ ।

????????????????????????????????????

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा (खमवीर), बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने लगायतले बिजेता विद्यालय र पदक बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता सञ्चालन र जिल्ला स्तरीय प्रतियोगितामा भाग लिनका लागि नगरपालिकाले गौरवको कार्यक्रमको रुपमा १२ लाख बजेट बिनियोजन गरिएको थियो ।

नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगिता खेल्ने अवसर पाउनेछन् । म्याग्दीका अन्य स्थानीय तहले समेत प्रतियोगिता सम्पन्न गरेपछि जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । तस्वीर सौजन्य कमल खत्री 

अब कालिगण्डकीको नियमित र्‍याफ्टिङ सञ्चालन गरिने

छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीको म्याग्दी खण्डमा नियमित जलयात्रा (र्‍याफ्टिङ) सञ्चालन सुरू भएको छ ।

प्रसस्तै सम्भावना भएपनि नियमित सञ्चालन हुन नसकेको अवस्थामा बेनी नगरपालिका–८, कालीपुलमा हालै सञ्चालनमा आएको कालीगण्डकी होटलका सञ्चालक गमबहादुर पुनले स्पाइसी र्‍याफ्टिङ प्रालिसँगको सहकार्यमा बेनीबाट नियमित सञ्चालन गर्ने गरी मंगलबारदेखि छोटो र लामो दुरीको कायाकिङ्ग, र्‍याफ्टिङका लागि परिक्षण गरिएको छ।

म्याग्दी र मुस्ताङका विभिन्न पर्यटकीयस्थलका घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नियमित सञ्चालन गरिने होटल ब्यवसायी गमबहादुर पुनले बताए। अब नियमित र्‍याफ्टिङको सुविधा छ,‘तीनवटा प्याकेजमा सञ्चालन गरिने छ’ पुनल भने ।उनका अनुसार करिब ३ किलोमिटरमा खानाको सुविधा सहित प्रति ब्यक्ति १२ सय रुपैयाँबाट सुरु गरिएको बताए ।

प्रसिद्ध धार्मिकस्थल गलेश्वरबाट म्याग्दी र कालिगण्डकीको संगमस्थलसम्म छोटो दुरी तथा गलेश्वर–मालढुंगासम्मको दुरीमा म्याग्दी, बागलुङ र पर्वतबाट समेत विदा सहित अन्य समयमा जलयात्राका लागि आर्कषित गर्न सकिने बताए ।

गलेश्वरदेखि मिमीसम्मको तीनवटा प्याकेट तयार गरिएको छ। यस अगाडी दुरीको अध्ययन तथा अवस्थाका बारेमा भिडियो सहितको विवरण संकलन समेत गरिएको थियो । जलयात्रामा प्रख्यात कालिगण्डकीमा विदेशी पर्यटकको तुलनामा आन्तरिकको समेत आर्कषण ह्वात्तै बढेको छ ।

आगामी पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने सातौ म्याग्दी महोत्सवको प्रमुख आर्कषकमध्ये जलयात्रालाई समेत राखिएको छ म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा महोत्सवका साथै गण्डकी प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलामा अत्याधिक चाप हुने गरी प्रचारप्रसार भइरहेको संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘अब जलयात्रालाई नियमित सञ्चालन गर्ने गरी प्रोत्साहन गछौं, जलको सदुपयोग गरी पर्यटक भित्राउन सकिन्छ’ अध्यक्ष कटुवालले भने ।उनले विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला पाइने कालिगण्डकीको महिमाको प्रचारप्रसारमा समेत सघाउने बताए । कालिगण्डकी नदीमा दोहनका कारण धार परिवर्तन भएकाले केही असहज भएको ब्यवसायीको भनाई छ।

लामो, समथर र कम बहाब भएकाले पनि कालिगण्डकीका जलयात्रा गर्ने गरिन्छ । एक पटक १० जनासम्म चढ्न मिल्छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरु आर्कषित हुने गरेका छन्। गलेश्वर बेनी ३ किलोमिटर र बेनीदेखि मालढुङ्गासम्म करिव १२ किलोमिटर जलयात्रालाई विगतमा समेत प्रयास गरिएपनि म्याग्दी खण्डमा ब्यवसायी आर्कषित हुन सकेका थिएनन् ।

पर्वतको जलजला गाउँपालिकाको नाईलिवाङदेखि पानीको सतह घटेसँगै तीन दिने लामो जलयात्रा मालढुंगा हुदैस्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय सबैभन्दा लामो यात्रा मानिन्छ ।

लागुऔषध कारोबारमा गाउँपालिका अध्यक्ष घर्तीलाई साढे ३ वर्ष कैदको फैसला

बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ।

अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए।

निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागुऔषध गाँजा/चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो।

सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो।

तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा/चरेस नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो।

फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले बताए।

रासस

म्याग्दी बहुमुखी क्याम्पसको ३२ औँ वार्षिकोत्सव

म्याग्दी बहुमुखी क्याम्पसले ३२ औँ वार्षिकोत्सव तथा २१ औँ क्याम्पस सभा विविध कार्यक्रम गरी मनाईएको छ । आईतबार क्याम्पसमा भएको ३२ औँ बार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा (खम्वीर) ले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले म्याग्दीको शैक्षिक विकास र उन्नतीमा म्याग्दी बहुमुखीले क्याम्पसले महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रमा संविधानसभा सदस्यद्वय गोविन्द्र पौडेल, रेशमबहादुर बानियाँ, जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, क्याम्पसका पुर्व अध्यक्ष हरीकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदी लगायतले क्युएए मान्यता प्राप्त यस क्याम्पसको भौतिक पुर्वाधारमा सुविधासम्पन्न बनाउदै शैक्षिक गुणस्तरमा थप सुधारमार्फत नमुना क्याम्पसको रुपमा विकास गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहनेमा जोड दिनुभएको छ। क्याम्पसले बार्षिकोत्सवको अवसरमा प्रतिनिधिसभामा निर्वाचित गवुर्जालाई सम्मान गरेको थियो ।

क्याम्पस संचालन समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस संचालन समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठको स्वागत, सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीको संचानलमा भएको कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेको थिए ।

बेलायतबाट आएका लाहुरेले गरे विद्यालयलाई आर्थिक सहयोग

म्याग्दी मंगला गाउँपालिका–१,भर्जुलामा अवस्थित बालोदय आधारभूत विद्यालयलाई बेलायती सेनामा कार्यरत पूर्व विद्यार्थीले आर्थिक तथा खेलकुद साम्रागी सहयोग गर्नुभएको छ ।

४६ औं जन्मोत्सव तथा अभिभावक दिवसको अवसरमा ब्रिटिस आर्मी जगप्रसाद जुग्जाली र धर्मपत्नी सोनीका जुग्जालीले १ लाख ७० हजार र खेलकुद सामग्री सहयोग गरेको विद्यालयका शिक्षक मनकुमार जुग्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार जुग्जालीको परिवारको विद्यालयमा अतुलनीय योगदान रहेको छ।

विद्यालयका निर्बतमान विब्यस अध्यक्ष गमबहादुर जुग्जालीका छोरा समेत रहनुभएका सहयोगदाता जगप्रसादले आफूँले पढेको विद्यालयलाई सहयोग गर्न पाउँदा अत्यन्त हर्षित भएको र आगमी दिनमा पनि विद्यालयको चौतर्फी विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक झलकनाथ उपाध्यायले विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै शैक्षिक विकासका लागि निरन्तर साथ सहयोगको आवश्यकता रहेको बताउनुभएको थियो ।

विद्यालयको विव्यस.अध्यक्ष यामबहादुर रोकाको अध्यक्षता, सहयोगदाता जगप्रसाद जुग्जालीको प्रमुख आतिथ्यता, समाजसेवी यामकुमारी पुनको विशिष्ट आतिथ्यतामा, शिक्षक गणेश सुवेदीको स्वागत मन्तव्य तथा शिक्षक मनकुमार जुग्जालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयमा आँखा शिविर, साढे ४ सय लाभान्वित 

म्याग्दीको बेनी नगरपालिका-९, आयोजित आँखा शिविरबाट साढे चार सय बढीले निःशुल्क आँखाको जाँच गराएका छन्। अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा गलेश्वर मावि तोरिपानी र राष्ट्रिय मावि नेप्टेचौरमा आयोजित शिविरमा विद्यार्थी र स्थानीय गरी ४ सय ८८ जनाको आँखा जाँच गरिएको हो ।
विद्यार्थीको शैक्षिक तथा स्वास्थ्यको क्षेत्रमा सक्रिय रहेको किवानिस इन्टरनेशनलले विद्यार्थी लक्षित गरी चारदिनसम्म म्याग्दीमा सञ्चालन गर्ने शिविरको पहिलो दिन ३५ जनालाई चस्मा र औषधी वितरण गरिएको छ भने ७ जना विद्यार्थी र जेष्ठ नागरिक १२ जनालाई थप उपचारका लागि रिफर गरिएको किवानिस इन्टरनेशनलका गण्डकी प्रदेश उपाध्यक्ष चित्रबहादुर केसीले बताउनुभयो ।
उहाँका अनुसार शिविरमा मोतिया विन्दुको समस्या देखिएकालाई नेपाल आँखा अस्पतालमा निशुल्क उपचार गरिने छ । शिविरमा नेपाल आँखा अस्पतालका बरिष्ठ चिकित्सक डा.इन्दुप्रसाद ढुंगेल र नेत्र विशेषज्ञ बिर्ख बोगटीको टोलीले चेकजाँच गरेको थियो । नेत्र विशेषज्ञ बोगटीले बालबालिकाहरुमा इलेक्ट्रीक डिभाईसको प्रयोगले कलिलो उमेरमै आँखा पर्याप्त हेर्न नसक्ने र श्रवण शक्ति समेतमा असर पुगेको कारण पठनपाठनमा असहज भएकाले नियमित परीक्षण आवश्यक रहेको बताए ।
म्याग्दीमा किवानिस इन्टरनेशनलले विद्यार्थीको आँखा जोगाउँ अभियानसँगै शिक्षकलाई समेत तालिम सञ्चालन गर्ने गण्डकी प्रदेशमा पूर्व अध्यक्ष एवम् समाजसेवी भरत ढुंगेलले बताउनुभयो । किवानिस इन्टरनेशनलले मंगलबार सदरमुकाम बेनीमा रहेका सामुदायिक विद्यालयमा शिविर सञ्चालन गर्ने र आवश्यकता अनुसार विभिन्न समयमा विद्यालयस्तरमा गएर बालबालिकाहरुलाई नियमित आँखा चेकजाँच गर्ने जनाएको छ ।

चुत्रेनीका सुरज मल्ल ११ दिनदेखि पोर्तुगलमा बेपत्ता

Exif_JPEG_420

रोजगारीको सिलसिलामा पोर्तुगल गएका एक यूवा ११ दिनदेखि बेपत्ता भएका छन् । केही महिना अगाडी रोमानीयाबाट पोर्तुगल पुगेका बेनी नगरपालिका–६,चुत्रेनीका सुरज मल्ल पोर्तुगलको सान्तोतोनीया भन्ने सहरबाट राजधानी लिस्बोनतर्फ आउँदै गर्दा बाटोबाटै सम्पर्कविहिन भएका हुन् ।

धेरै नेपालीहरुको बसोबास रहेको सान्तोतोनीयाबाट लिस्बोन हुदै स्पेन जाने योजनामा रहेका मल्ल बेपत्ता भएपछि खोजीकार्य तिब्र पारिएको त्यहाँ रहेका म्याग्देली मोहन बानियाँले बताउनुभयो ।‘प्रहरीमा पनि रिर्पोट गरिएको छ,‘सबैतिर खोजीकार्य हुदाँ समेत अहिलेसम्म पत्ता लागेको छैन’ बानियाँले भन्नुभयो ।

सान्तोतोनीयाबाट स्थलमार्ग हुदै तीनजना साथीहरुसँगै आएका मल्ल बाटोमा ओर्लिएपछि सम्पर्कविहिन भएको उनीसँगै आएका नेपाली यूवाले बताएपनि ओर्लिएको लोकेश आसपासमा खोजीकार्य गर्दा फेला नपरेको मोना पोर्तुगलले जनाएको छ। सम्पर्कविहिन हुनु केही घण्टा अगाडीसम्म मल्लसँग कुराकानी समेत भएको थियो । बेपत्ता भएका मल्लको खोजीमा मोना, एनआरएनए सहित विभिन्न संघसंस्थाले सम्भावित क्षेत्रहरुमा खोजी गरिरहेको छ ।

सेवाप्रवाहलाई प्रभावकारी बनाउने नबआगन्तुक प्रजिअ पौडेलको प्रतिबद्धता

म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती गरेर अनेक बहाना देखाएर उन्मुक्तिको प्रयासलाई रोक्ने बताउनुभएको छ । प्रजिअ पौडेलले अलपत्र विकास निर्माण सहित प्रशासनबाट कानुन अनुसारको सेवा जनतालाई सहज रुपमा उपलब्ध हुने प्रतिवद्धता जनाउनुभयो ।

जिल्लामा कार्यरत पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा प्रजिअ पौडेलले सरकारी कार्यालयबाट सेवाग्राहीले पाउने सेवादेखि जिल्लाभित्र भइरहेका विकास निर्माणको नियमन गर्ने निकायहरुसँग आवश्यक समन्वय गरिने बताउनुभयो । ‘जिल्लाबासीको सहजताका लागि आवश्यकता अनुसारको पहल हुन्छ,‘ सरकारी कार्यालयबाट जनताले पाउने सेवाप्रवाहलाई थप प्रभावकारी बनाउँछौ’ प्रजिअ पौडेलले भने ।

गृहमन्त्रालयको निर्देशन अनुसार प्रशासनिक सेवालाई कानुन अनुसार गुणस्तरीय सेवा ध्यान दिने, कानुनी कारबाही सबैमा समान रुपमा कार्यान्वयन गर्ने, जनताले पाउने सूचना र सेवामा निरन्तर लागि पर्ने समेत बताउनुभयो । उहाँले राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय तह, स्वास्थ्य कार्यालय लगायतसंग समन्वय गरेर कोभिड लगायतको महामारीको नियन्त्रण र जोखिमबाट जिल्लालाई बचाउन समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल लगायतका पत्रकारले प्रशासनको सेवाप्रवाहमा जनमैत्री बनाउन र सरकारी कार्यालयको सूचना तथा प्रगति जनताले सहज रुपमा थाहा पाउने वातावरणमा सहजीकरण गर्न, जिल्लाभित्रका अलपत्र योजनालाई गति दिन, सुरक्षा निकायलाई जनमैत्री बनाउन, सरकारी कार्यालयको सेवाप्रवाहमा हुने ढिलासुस्ती लगायतको विषयमा सहजीकरणका लागि ध्यानाकषर्ण गराएका थिए ।

पत्रकार महासंघलाई नगरपालिकाले उपलब्ध गराएको जग्गाको प्रयोगका लागि सहजीकरण गरिदिन समेत पत्रकारले अनुरोध गरेका थिए ।

महिलाको क्षमता विकास गर्न नारच्याङमा उत्प्रेरणामूलक तालिम

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा नेतृत्व विकास, उद्घोषणकला तथा सकारात्मक सोचसम्बन्धी उत्प्रेरणामूलक तालिम सुरु भएको छ । सिर्जनशील आमा समूह नारच्याङको आयोजना र अन्नपूर्ण–४, नारच्याङ वडा कार्यालयको सहयोगमा हिँजो (आइतबार)देखि तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामीले महिलाहरुको क्षमता अभिवृद्धि गर्नका लागि तालिम निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले तालिम अवधिभरमा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा पूर्ण रुपले व्यवहारमा उतार्नुपर्ने बताउँदै महिलाहरुको नेतृत्व तथा क्षमता विकास हुने अपेक्षा गर्नुभयो । आउँदा दिनमा पनि रचनात्मक कार्यमा आफू र वडा कार्यालयबाट आवश्यक सबै सहयोग गर्ने उहाँको भनाइ छ ।

तालिमका प्रशिक्षक एवं क्रियाशील पत्रकार प्रताप बानियाँले ग्रामीण भेगका महिलाहरुको व्यक्तित्व र नेतृत्वको विकासमा तालिमले सहयोगी भूमिका खेल्ने भन्दै सक्रियतापूर्वक सहभागी भई ज्ञान, सिप हासिल गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो। सिर्जनशील आमा समूहका अध्यक्ष नरिमाया पूर्जा पुन गुरुङले गाउँका महिलाहरुमा क्षमताको विकास गराउनका लागि वडा कार्यालयको सहयोगमा तालिम आयोजना गरिएको जानकारी दिनुभयो । तालिमको उद्घाटनसत्रमा अन्नपूर्ण युवा क्लब नारच्याङका कोषाध्यक्ष चिना थजालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम आमा समूहका अध्यक्ष गुरुङको अध्यक्षता, सदस्यद्वय तारा रन्तिजाको सञ्चालन र यामकुमारी पूर्जाको स्वागतमा सम्पन्न भएको थियो । तालिममा नारच्याङको आमा समूह, युवा क्लब तथा स्वास्थ्यचौकीबाट सहभागिता रहेको छ । आगामी तीन दिनसम्म चल्ने तालिमको प्रशिक्षक तथा पत्रकारत्रय सुष्मा पौडेल, स्मिता अधिकारी र प्रताप बानियाँले नेतृत्व विकास, उद्घोषणकला, सकारात्मक सोच, वैठक सञ्चालन, माइन्युट उठाउने तथा उत्प्रेरणालगायत विविध विषयहरुमा सहजीकरण गरिरहनुभएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सको बेनीमा महिला सशक्तिकरण कार्यक्रम

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा शनिवार म्याग्दीको सदरमुकाम बेनीमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले महालक्ष्मी लाइफ इन्स्योरेन्सले हालै ल्याएको कार्यक्रम अत्यन्त राम्रो रहेको बताउनुभयो । उहाँले महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रमलाई समुदायस्तरमा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालन गर्नुपर्ने बताउँदै यसबाट ग्रामीण भेगका महिलाहरुलाई आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले अन्य काम गरेर पनि बचेको समय बीमा क्षेत्रलाई दिएर बीमाबाट चाहे जति आम्दानी गर्न सकिनेमा जोड दिनुभयो । उहाँले बीमा अभिकर्ता एउटा पेशा भएको बताउँदै धेरैभन्दा धेरै व्यक्तिहरुलाई स्वरोजगार बनाएर आत्मनिर्भर बन्न सकिने बताउनुभयो । बीमासँगै अन्य आम्दानीका स्रोतहरुमा पनि सम्पर्क, समन्वय गरेर महिलाहरुलाई जोड्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा स्वागतसहित औचित्यमाथि प्रकाश पार्दै महालक्ष्मी लाइफ इन्स्योरेन्सका मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमलाले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको २० प्रतिशतभन्दा बढी शाखाहरुमा महिला प्रमुख रहेको जानकारी दिनुभयो । उहाँले ४२ प्रतिशत बढी महिला अभिकर्ताहरु महालक्ष्मी लाइफ इन्स्योरेन्समा आबद्ध भएको बताउँदै बीमा ऐन २०७९ पारित भई नेपाल बीमा प्राधिकरण बनेको हुँदा अब लाइसेन्स प्राप्त गर्नका लागि परीक्षा दिएर पास हुनुपर्ने व्यवस्था रहेको बताउनुभयो ।

कार्यक्रमको अवसरमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबाट विभिन्न विधातर्फ २५ जनालाई सम्मान गरिएको थियो । कार्यक्रम महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भट्टराईको अध्यक्षता, मार्केटिङ विभाग प्रमुख धमलाको स्वागत र धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर बिराज आचार्य र सहभागी नरिमाया गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो । यही पुस ४ गते चितवनको सौराहबाट सुरु भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाइफ’ भन्ने कार्यक्रम म्याग्दीमा पहिलोपटक अन्नूर्ण गाउँपालिका–६, घारबाट सुरु गरिएको थियो ।