बेनी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा नेतृत्व तथा संस्थागत विकाससम्बन्धी तालिम सुरु भएको छ । महिलाहरुमा नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले आर्थिक परनिर्भरताकै कारण समाजमा महिलाहरु हिंसामा पर्ने गरेको हुँदा आयआर्जन तथा व्यवसायिकमूलक क्षेत्रमा आबद्ध भएर आत्मनिर्भर बन्नुपर्ने बताइन् ।

उनले समाज परिवर्तन र रुपान्तरणका क्षेत्रमा महिलाहरुको ठूलो हात रहेको बताउँदै महिलाको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताएकी छिन् ।  बेनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पराजुलीले तालिममा सिकेका ज्ञान तथा सिपलाई पूर्णरुपमा व्यवहारमा उतार्नुपर्ने बताए । दुई दिनसम्म चल्ने तालिममा सहकारी, नेतृत्व, निर्णय कार्य, सहभागितात्मक निर्णय कार्य र महत्व, महिला संस्थामा सहभागितात्मक निर्णय कार्यको विधि, सञ्चार, महिला विकास कार्यक्रममा संस्थागत विकासका चरण तथा महत्व र नेतृत्व विकासका साधक एवं बाधक तत्वहरुका विषयमा सहजीकरण गरिने भएको छ ।

तालिमको बेनपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पराजुली, नायब सुब्बा शिव शर्मा, शाखा अधिकृत युवराज थापा, र सहायक महिला विकास निरीक्षक प्रतिमा शर्माले सहजीकरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । दुई दिनसम्म चल्ने तालिममा तत्कालीन महिला तथा बालबालिका कार्यालय म्याग्दीले प्रवद्र्धन गरेका महिला सहकारीमा आबद्ध २५ जना महिलाहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटनसत्र निमित्त प्रमुख पराजुलीको अध्यक्षता, नासु शर्माको स्वागत र सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply