बाढी आयो। घर बगायो, बस्ती बगायो, पुल बगायो, सडक बगायो, सपना बगायो। तर यी सबैभन्दा डर लाग्दो कुरा के बग्यो, थाहा छ? मानवता। हो, मानवता! पानीले लाश बगाउँदै गर्दा कतिपय हातहरू ती लाश समात्न पुगे, बचाउन होइन, लुट्न। मृत शरीरमा बाँकी रहेको सुन देखियो, गहना देखियो, सम्पत्ति देखियो, तर मान्छे देखिएन। कस्तो समाज बनायौँ हामी? जहाँ आफन्त आफ्नो मान्छेको शव खोज्दै नदीको किनारमा भौँतारिइरहेको छ, जहाँ कसैको एउटै चाहना छ, “अन्तिमपटक अनुहार त हेर्न पाऊँ।” तर त्यहीँ कसैको आँखा भने शवमा बाँकी रहेको गहनामा अडिएको छ। धिक्कार छ यस्तो लोभलाई! भोक पेटको हो भने बुझ्न सकिन्छ, अभावको हो भने बुझ्न सकिन्छ तर लाशमाथि पलाएको लोभलाई के नाम दिने? त्यो भोक होइन। त्यो अभाव होइन। त्यो मानवताको पतन हो।
कसैको प्रिय मान्छेलाई बाढीले खोस्यो। अब बाँकी छ त केवल अन्तिम दर्शनको चाहना। एकपटक आफ्नै आँखाले त्यो अनुहार हेर्न पाऊँ, आफ्नै हातले अन्तिम बिदाइ दिन पाऊँ, अनि भारी मनले स्वीकार गर्न पाऊँ, “अब ऊ कहिल्यै फर्किने छैन।” यति चाहना पनि ठूलो भयो? तर त्यही मृत शरीरमा कसैलाई मान्छे होइन, गहना देखिन्छ। लाश कसको हो भन्ने चासो छैन, लाशमा के छ भन्ने चासो छ। अब भन्नुस्, हामी साँच्चै मान्छे हौँ कि केवल हिँडडुल गर्ने शरीर? मरेको मान्छेलाई अन्तिम सम्मान दिन नसक्ने, अरूको शोकमाथि पनि आफ्नो स्वार्थ खोज्ने समाजलाई सभ्य समाज भन्ने अधिकार कसले दियो? कुन नैतिकताले दियो? कुन संस्कारले दियो?
तर यही अँध्यारोबीच एउटा दृश्यले मानवताको अन्तिम दियो अझै निभेको छैन भन्ने प्रमाण दिएको छ। एउटा बच्चा आफ्नो गुल्लक फुटाउँछ। उसले वर्षौँदेखि जम्मा गरेको पैसा निकाल्छ। त्यो पैसा उसको थियो। चकलेट किन्न सक्थ्यो, खेलौना किन्न सक्थ्यो, आफ्ना साना साना इच्छा पूरा गर्न सक्थ्यो। तर उसले भन्यो, “बाढीपीडितलाई दिन्छु।” बस्, त्यही एउटा वाक्यले हामी ठूला मान्छेका सारा भाषणलाई लज्जित बनाइदियो। हामीसँग बैंक ब्यालेन्स छ, ऊसँग गुल्लक थियो। हामीसँग पैसा छ, ऊसँग बचत थियो। हामीसँग सुविधा छ, ऊसँग एउटा सानो इच्छा थियो। तर उसले आफ्नो इच्छा त्याग्यो, हामीले आफ्नो मानवता। उसले गुल्लक फुटायो, हामीले चरित्र फुटायौँ। उसले आफ्नो बचत बाँड्यो, हामीले अरूको दुःखमा समेत स्वार्थ खोज्यौँ। अब लाज कसलाई लाग्नुपर्ने हो? बच्चालाई कि हामीलाई?
आज Gen Z सडकमा ओर्लिएको छ। Gen Alpha राहतमा जुटेको छ। युवाहरू दौडिरहेका छन्। कसैको हातमा खाना छ, कसैको हातमा कपडा, कसैसँग औषधि छ, कोही बेपत्ताको खोजीमा छन्, कोही आफ्नै खाजा खर्च बचाएर सहयोग गरिरहेका छन्। कसैले सामाजिक सञ्जाललाई नाचगान र मनोरञ्जनको ठाउँ होइन, उद्धार र सूचनाको माध्यम बनाएका छन्। अनि हामी अझै भन्छौँ, “आजका बच्चाहरू बिग्रिए।” कसले बिगार्यो? जसलाई हामी संस्कारहीन भन्छौँ, उनीहरूले आज संस्कार देखाइरहेका छन्। जसलाई हामी स्वार्थी भन्छौँ, उनीहरूले आज आफ्नो बचत बाँडिरहेका छन्। जसलाई हामी मोबाइलको पुस्ता भन्छौँ, उनीहरूले त्यही मोबाइलबाट मान्छे खोजिरहेका छन्। त्यसैले आज प्रश्न पुस्तामाथि होइन, हाम्रो सोचमाथि छ। बिग्रिएको पुस्ता कुन हो? गुल्लक फुटाएर राहत दिने बच्चा कि लाशबाट गहना निकाल्ने वयस्क?
हामीलाई धर्मको कुरा गर्न आउँछ। जातको कुरा गर्न आउँछ। राजनीतिको कुरा गर्न आउँछ। देशभक्तिको नारा लगाउन आउँछ। तर विपत्तिमा मान्छे बन्न आउँदैन? मन्दिरमा घण्टी बजाउने हात लाश लुट्न किन पुग्छ? भगवानको नाम जप्ने मुख मृतकको परिवारमाथि किन निर्दयी हुन्छ? देशको झण्डा बोकेर हिँड्ने मान्छे आफ्नै देशवासीको शवमाथि किन व्यापार खोज्छ? कस्तो धर्म हो यो? कस्तो संस्कार हो यो? कस्तो देशभक्ति हो यो? धर्मले मानिसलाई दयालु बनाउनुपर्ने होइन? संस्कारले अरूको दुःख बुझ्न सिकाउनुपर्ने होइन? अनि हामीले वर्षौँदेखि सुनाउँदै आएको ‘मानवता’ आखिर कहाँ हरायो? कि मानवता पनि भाषणमै सीमित थियो?
हामीले वर्षौँसम्म बच्चाहरूलाई पढायौँ, सधैँ सत्य बोल, अरूलाई सहयोग गर, दुःखमा साथ देऊ, मानवताको सेवा गर। तर आज ती बच्चाहरूले परीक्षा लिइरहेका छन् र हामी फेल भइरहेका छौँ। कक्षाकोठामा मानवताको परिभाषा पढाउने समाज बाहिर निस्कँदा लाशको गहना खोज्छ भने त्यो शिक्षा के कामको? डिग्रीले के गर्छ? पदले के गर्छ? सम्पत्तिले के गर्छ? यदि अन्तिममा एउटा मृत शरीरलाई पनि मान्छेको शरीर भनेर सम्मान गर्न सकिँदैन भने हाम्रो शिक्षित हुनुको घमण्डभन्दा लाजमर्दो कुरा अर्को के होला? किताब पढेर शिक्षित भयौँ, तर मान्छे बन्ने पाठचाहिँ कहिल्यै पढेनौँ।
बाढीको पानीले घर भत्काएको छ, तर हाम्रो लोभले समाजको मेरुदण्ड भत्काएको छ। पानीले पुल बगाएको छ, तर स्वार्थले मान्छे र मान्छेबीचको सम्बन्ध बगाएको छ। नदीले शरीर बगाएको छ, तर लोभले आत्मा बगाएको छ। र आज नेपालले एउटा कठोर सत्य देखिरहेको छ, सबैभन्दा ठूलो विपत्ति बाढी होइन रहेछ। सबैभन्दा ठूलो विपत्ति त मान्छे जिउँदै भएर पनि मान्छे नरहनु रहेछ।
त्यसैले आज कसैलाई ठूलो भाषण चाहिँदैन। कसैलाई देशभक्तिको स्टाटस चाहिँदैन। कसैलाई ‘RIP’ लेखेर औपचारिकता पूरा गर्न आवश्यक छैन। आवश्यक छ त एउटा हात, एउटा काँध, एउटा मुटु र एउटा विवेक। लाश उठाउने हात। पीडितलाई सम्हाल्ने काँध। अरूको पीडा महसुस गर्ने मुटु। र लाशमा सुन होइन, मान्छे देख्ने विवेक।
किनकि याद राखौँ, मरेको मान्छेले आफ्नो गहना बचाउन सक्दैन, तर जिउँदो मान्छेले आफ्नो चरित्र बचाउन सक्छ। आज गहना लिएर भाग्नेहरूलाई सायद केही समयपछि कसैले सम्झने छैन। तर आफ्नो गुल्लक फुटाएर सहयोग गर्ने त्यो बच्चालाई इतिहासले सम्झिनेछ। किनकि उसले पैसा मात्र दिएको होइन, उसले हामीलाई ऐना दिएको हो।
र त्यो ऐनामा हाम्रो अनुहार निकै कुरूप देखिएको छ।
अब ऐनालाई दोष दिने कि आफ्नो अनुहार बदल्ने? निर्णय हाम्रो हो।
बाढीको पानी घट्ला। हिलो सुक्ला। घर फेरि बन्लान्। सडक फेरि खुल्लान्। पुल फेरि उठ्लान्। तर मानवता हरायो भने हामीले गुमाएको कुरा कुनै राहतले फर्काउन सक्दैन।
बाढीले नेपालमा कति मान्छे बगायो, त्यो तथ्याङ्कले बताउला। तर बाढीले कति मानवता बगायो, त्यो हाम्रो व्यवहारले बताइरहेको छ। लाशमाथि गहना खोज्ने समाजलाई आज एउटा बच्चाले प्रश्न गरेको छ।
“तिमीहरूसँग सबैथोक छ भने, मानवता चाहिँ कहाँ छ?”
उत्तर दिनुस्।
तर उत्तर भाषणमा होइन, आफ्नो व्यवहारमा दिनुस्। किनकि यो प्रश्न कुनै एउटा परिवारको होइन। कुनै एउटा पुस्ताको होइन। कुनै एउटा वर्गको होइन। यो हामी सबैको चरित्रमाथि लागेको प्रश्न हो।
र यदि अझै पनि लाशमा गहना देखिन्छ, पीडितमा अवसर देखिन्छ, राहतमा राजनीति देखिन्छ र दुःखमा स्वार्थ देखिन्छ भने, हामीले बाढीबाट केही सिकेनौँ।
हामीले केवल आफ्नो असली अनुहार देखायौँ।
~ अस्मिता












