म्याग्दीको सदरमुकाम बेनीमा बिहिबार बिना मास्क हिँड्ने ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। छिमेकी जिल्ला सहित समुदायमा समेत बढ्दो जोखिमसँगै मानिसमा संक्रमणको त्रास र डरको मात्रा घट्दै गएपछि विना मास्क बजारमा हिड्न थालेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएर आवश्यक कारवाही सुरू गरेको हो ।

कोरोनाको भयाभव रोक्न म्याग्दी प्रहरीले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गरी सम्झाई– बुझाइ गरी मास्क वितरण गरी छोडेको प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो ।

‘बिना मास्क बजारमा देखिनेलाई तत्काल नियन्त्रणमा लिन आदेश जारी भएको छ,‘अटेर गर्नेलाई कानुन अनुसार कारवाही गछौं’ चौधरीले भन्नुभयो ।

उहाँका अनुसार बेनीस्बजार तथा आसपासका क्षेत्रबाट प्रहरीको नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा आवश्यक सचेत बनाई नाम टिपोट गरी छोडिएको छ । प्रहरीले माईकिङबाट समेत सूचना जारी गरेको बताउँदै शुक्रबारदेखि थप कडाई गर्ने जनाएको छ ।

सचेत बनाएर छोडिएका पुनः मास्क नलगाई अटेरी गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने र प्रहरीमाथि नै दुर्व्यवहार गरे अभद्र व्यवहारमा पनि मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो । मास्क नलगाइ घरबाहिर निस्कनेलाई पक्राउ गर्न गस्तीमा रहेका प्रहरीलाई समेत निर्देशन दिइएको छ ।

Leave a Reply