Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

चैते दशैंसम्म बेनी-जोमसोम सडक बन्द स्थगित

आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेपछि राष्ट्रिय गौरवको आयोजनामा कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक खण्डमा केहीदिनका लागि सडक नियमित सञ्चालन हुने भएको छ ।

चाडपर्वसँगै मुस्ताङ जाने पर्यटकको संख्या ह्वात्तै बढेपछि दैनिक पाँच घण्टा बन्द हुने सडक तीनदिनका लागि स्थगित गरिएको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

‘अहिले आवतजावत सहज छ,‘यात्रुले सडकमा कुर्नुपदैन’ शेरचनले भन्नुभयो। करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रे भिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम समेत रोकिएको छ ।

चैतेदसैँ नजिकिएसँगै मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदान गर्नेको समेत मुस्ताङमा बाक्लो उपस्थिति देखिन्छ। केही दिन मुस्ताङ घुम्ने र तिथिमा पिण्डदान गर्न जानेको म्याग्दी सदरमुकाम बेनीदमा सवारी साधनको बाक्लो लाइन देखिन्छ।

गत फागुन २३ देखि सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म गरी दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरेको थियो । कालीगण्डकी करिडोरको सो सडक खण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो ।

गण्डकी प्रदेशको लाइफलाइन कालीगण्डकी कोरिडोर अन्तरगत उत्तर–दक्षिण जोड्ने सडकखण्डको स्तरोन्नति गर्न समयतालिका लागू गरिएको अवस्थामा यात्रुको भिडभाडले समस्या भएपछि सहज हुने गरी काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।

१ सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हँुदै कोरला नाकासम्म पर्छ । आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ ।

Exit mobile version