म्याग्दीका साहित्यकार तथा व्यवसायीसञ्जय कुमार श्रेष्ठको दोस्रो कृति ‘तिम्रै यादमा’ गीति संग्रहको आइतवार सदरमुकाम बेनीमा विमोचन गरिएको छ ।

बेनी बजारमा फोटो स्टुडियो संचालन गर्दै आउनुभएका श्रेष्ठ कलाकार,साहित्यकार तथा व्यवसायी हुनुहुन्छ । यस अघि उहाँको ‘ताली र गाली’ नामक लघु कथा संग्रह प्रकाशित भएको छ ।

गीति संग्रहको बेनी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ, म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा र पौलस्त्य साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर बानियाँले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

करिव ४४ वर्ष शिक्षण सेवामा समर्पित श्रेष्ठले जिल्लाको सांस्कृतिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको पौलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्णबहादुर बानियाँले बताउनुभयो ।

श्रेष्ठ रेल पुग्यो बम्बईमा, भेट भयो सलल, दोभान व्याण्डको पहिला नजर र जिस्की नहिड जस्ता लोक र पप गितका सर्जक र म्याग्दी काली एफएममा बज्ने जिङ्गलका स्रष्टा समेत हुनुहुन्छ । साहित्यकार श्रेष्ठले आगामी दिनमा लेखन कार्यलाई निरन्तरता दिने बताउनुभएको छ ।

जेष्ठ नागरिक सेवा केन्द्रले आज साउन १५ गते पारेर खिर खाने तथा पुस्तक विमोचन कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा संस्थाका सचिव पुर्णबहादुर जिसी, साहित्यकार अजय मिलन श्रेष्ठ,जेष्ठ नागरिक तथा संस्थाका उपाध्यक्ष नैनकुमार श्रेष्ठ,वडाअध्यक्ष कर्माचार्य लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त गीति संग्रहको साहित्यकार रामप्रसाद सुवेदीले समालोचना गर्नुभएको थियो ।

Leave a Reply