---Advertisement---

मान्छे होइन, मुखौटाको बजार

On: May 31, 2026 3:02 PM
Follow Us:

आजकाल मान्छे खोज्न निस्कियो भने भेटिन्न, तर मुखौटा भने जताततै पाइन्छ। सडकमा, कार्यालयमा, विद्यालयमा, संसदमा, सम्बन्धहरूमा, यहाँसम्म कि ऐनाअगाडि उभिएको अनुहारमा पनि।

बिहान उठ्नेबित्तिकै हामी अनुहार धुँदैनौँ, चरित्रमा नयाँ मुखौटा लगाउँछौँ। कसैले सज्जनताको मुखौटा लगाएको छ, कसैले इमानदारीको, कसैले प्रेमको, कसैले धर्मको। भित्र जे भए पनि बाहिर देखिनुपर्छ “राम्रो मान्छे”।

अचम्म त के छ भने, यहाँ वास्तविक हुनु गल्ती मानिन्छ। सत्य बोल्नेहरू असभ्य कहलिन्छन्, तर मिठो झुट बोल्नेहरू संस्कारी। इमानदार मानिसलाई दुनियाँ नबुझेको भनिन्छ, तर अभिनय गर्न जान्नेलाई सफल।

हामी यस्तो समाजमा बाँचिरहेका छौँ जहाँ चरित्रभन्दा छविको मूल्य बढी छ। मानिस कस्तो छ भन्ने कुराले अर्थ राख्दैन, ऊ कस्तो देखिन्छ भन्ने कुराले राख्छ। त्यसैले आजकाल अनुहार सुन्दर बनाउन हजारौँ खर्च हुन्छ, तर मन सुन्दर बनाउन एक मिनेट पनि खर्च हुँदैन।

यहाँ सम्मान पनि कमाइँदैन, किनिन्छ। पैसा छ भने गल्तीहरूलाई अनुभव भनिन्छ। शक्ति छ भने अन्यायलाई निर्णय भनिन्छ। तर कमजोर मानिसको सत्य पनि बहाना बन्छ।
हामी भन्छौँ “समाज विकसित भयो।”

तर मेरो प्रश्न छ, यदि समाज विकसित भयो भने संवेदना किन अविकसित भयो?
यदि चेतना बढ्यो भने मानवता किन घट्यो?
यदि मानिसहरू शिक्षित भए भने विवेक किन अशिक्षित रह्यो?
यदि हामी साँच्चै अगाडि बढ्यौँ भने सम्बन्धहरू किन पछाडि परे?

उत्तर दिन हतार नगर्नुहोस्।
किनकि यी प्रश्नहरू समाजलाई होइन, हामीलाई सोधिएका हुन्।

सायद विकसित समाज त्यस्तो हुँदैन जहाँ भोकाएको छिमेकीभन्दा सामाजिक सञ्जालको स्टाटस महत्त्वपूर्ण हुन्छ। जहाँ सहानुभूतिभन्दा प्रदर्शन ठूलो हुन्छ। जहाँ आँसु पुछ्ने हातभन्दा भिडियो खिच्ने हात धेरै हुन्छन्। जहाँ सहयोग गर्नुभन्दा “Feeling Sad” लेखेर पोस्ट गर्न सजिलो हुन्छ।

आजकाल सम्बन्धहरू पनि मोबाइलको ब्याट्रीजस्तै भएका छन्। आवश्यकता सम्म चल्छन्, स्वार्थ सकिएपछि बन्द हुन्छन्। प्रेमको नाममा अपेक्षा बेचिन्छ, मित्रताको नाममा फाइदा खोजिन्छ, र विश्वासको नाममा अवसर।

यहाँ प्रेम गर्नेहरू कम छैनन्, तर प्रेम निभाउनेहरू हराउँदै गएका छन्।
यहाँ साथीहरू कम छैनन्, तर साथ दिनेहरू कम छन्।
यहाँ शुभेच्छुकहरू कम छैनन्, तर शुभ चाहनेहरू कम छन्।
सबैको मुखमा मानवता छ, तर व्यवहारमा हिसाबकिताब।
सबैले प्रेमको कुरा गर्छन्, तर त्यागको कुरा आयो भने मौन बस्छन्।
सबैलाई असल मान्छे चाहिएको छ, तर आफू असल बन्ने जिम्मेवारी कसैले लिन चाहँदैन।

र मैले एउटा कुरा कहिल्यै बुझिन
यदि सबै असल छन् भने नराम्रा काम कसले गरिरहेको छ?
यदि सबै सत्यका पक्षधर हुन् भने झुट यति शक्तिशाली कसरी भयो?
यदि सबै मानवतावादी छन् भने मानवता मरेको कहाँ छ?
यदि सबै प्रेम गर्न जान्दछन् भने यति धेरै मानिसहरू प्रेमको अभावमा किन रोइरहेका छन्?
यदि सबैले विश्वासको मूल्य बुझ्छन् भने विश्वास यति सस्तो किन भएको छ?

सायद उत्तर खोज्न धेरै टाढा जानुपर्दैन।
किनकि उत्तर संसदमा छैन। उत्तर पुस्तकमा छैन। उत्तर भाषणमा छैन।

उत्तर ऐनाभित्र छ।

तर समस्या के छ भने, अब मानिसहरू ऐनामा आफ्नो अनुहार हेर्दैनन्, आफ्नो मुखौटा मिलाउँछन्।
यहाँ मानिसहरू गलत काम गर्न लाज मान्दैनन्, गलत देखिन मात्र लाज मान्छन्।

यहाँ पाप त्यागिँदैन, लुकाइन्छ।
यहाँ चरित्र सुधारिँदैन, प्रचार गरिन्छ।
यहाँ सत्य स्वीकारिँदैन, व्यवस्थापन गरिन्छ।

सायद यही कारण हो, आज मानिसहरू भीडमा एक्ला छन्। हजारौँ साथीहरूको बीचमा पनि खाली छन्। मुस्कानले भरिएको अनुहारभित्र थकान छ, र आत्मविश्वासको मुखौटाभित्र डर।

हजारौँ सम्पर्क छन्, तर एउटा आफ्नोपन छैन।
सयौँ शुभकामना छन्, तर एउटा सच्चा चिन्ता छैन।
सबैतिर आवाज छ, तर सुन्ने कोही छैन।
सबैतिर उज्यालो छ, तर मनहरू अन्धकारमा छन्।

एक दिन इतिहासले हाम्रो पुस्ताबारे लेख्नेछ
“यो त्यो पुस्ता थियो जसले संसारलाई जोड्ने प्रविधि बनायो, तर मनहरू टुक्र्यायो।
जसले सूचना बढायो, तर चेतना बढाउन सकेन।
जसले अनुहारहरू चिन्यो, तर चरित्रहरू बिर्सियो।
जसले सबैसँग कुरा गर्‍यो, तर कसैलाई बुझेन।”

र त्यो दिन एउटा प्रश्न अझै बाँकी हुनेछ,
जब संसार मानिसहरूले भरिएको थियो, तब वास्तविक मान्छेहरू कहाँ हराएका थिए?

सायद उत्तर यही हुनेछ, मान्छे हराएका थिएनन्।
उनीहरू आफ्नै मुखौटाभित्र थुनिएका थिए।
र सबैभन्दा डरलाग्दो कुरा के थियो भने उनीहरूले त्यो मुखौटा
यति लामो समय लगाएका थिए कि एक दिन उनीहरू आफैँले आफ्नो वास्तविक अनुहार बिर्सिए।

त्यसपछि समाजमा मान्छेहरू बाँचेका थिए, तर मानवता मरेको थियो ।
अनुहारहरू हाँसिरहेका थिए, तर आत्माहरू थाकिसकेका थिए।
र बजार भरिएको थियो मान्छेले होइन, मुखौटाले।

                                    ✍🏻 अस्मिता

Leave a Comment