म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने साइकल मार्ग निर्माण भएको छ।
अन्नपूर्ण गाउँपालिकाले घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले साइकल मार्ग निर्माण गरेको हो। साइकल मार्गको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र पूर्वअध्यक्ष डमबहादुर पुनले उद्घाटन गरे।
अन्नपूर्ण गाउँपालिकाले चालु आव २०८२/८३ मा विनियोजन गरेको रु छ लाख बजेटबाट पुनहिलदेखि लुङलुङ सिद्ध, लालीगुराँसपार्क हुँदै घोडेपानीको फलेघर जोड्ने चार किलोमिटर साइकल मार्ग निर्माण भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।
समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलदेखि हिमाल हेर्दै गुराँसे जङ्गलभित्र साइकलमा सहासिक र रोमाञ्चक यात्रा गर्न पाइने राइडर आनिल विश्वकर्माले बताए।
‘पुनहिल–घोडेपानी पोखरादेखि नजिकको आकर्षक साइकलिङ गर्ने मार्ग हो’, उनले भने, ‘साइक्लिङका लागि आवश्यक सबै मापदण्डहरु पूरा भएको साइकल मार्ग बनेकोमा खुसी लागेको छ।’
अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष रहेका साइकल मार्गका अभियान्ता डमबहादुर पुनले घोडेपानी र पुनहिल क्षेत्रलाई केन्द्रित गरेर लालीगुराँस पार्क, पेरीभारानी ताल जोड्ने घोडा मार्ग सञ्चालन गरिएको बताए। पर्यटकको चाहनाअनुसार राम्चेकाफलडाँडा, हिस्तान टिकोट, शिख, खिवाङ जोड्ने साइकल मार्गको पनि सम्भाव्यता अध्ययन गरिएको पुनले बताए।
गाउँपालिकाका अध्यक्ष पुनका अनुसार साइकल मार्गको प्रवर्द्धन र विस्तार गर्न आगामी आर्थिक वर्षको बजेट र योजनामा समावेश गरिनेछ। सुर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल र पहाडी भूगोलको अवलोकन गर्न सकिने पुनहिलका लागि साइकल मार्ग नयाँ सम्भावना भएको उनको भनाइ छ।
घोडेपानीदेखि करिब ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुगिने पुनहिलबाट गुर्जा, पुथा, मानापाथी, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृष्य अवलोकन गर्न सकिन्छ। घोडेपानी–पुनहिल विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो। रासस











