---Advertisement---

बालविवाह र दुर्व्यसनविरुद्ध बेनी नगरपालिकामा सडक नाटक ‘बिहानी’

On: June 27, 2026 3:55 PM
Follow Us:

‘चेतना जगाऔँ, युवा बचाऔँ; बालविवाह र दुर्व्यसन आजै हटाऔँ!’ भन्ने मूल नारालाई केन्द्रमा राख्दै बेनी नगरपालिकामा आयोजित सडक नाटक ‘बिहानी’ सम्पन्न भएको छ। बेनी नगरपालिकाको आर्थिक सहयोग तथा धौलागिरि नाट्य समूहद्वारा आयोजित कार्यक्रम बेनी बजार, अर्जम र पुलाचौरका सामुदायिक विद्यालयमा प्रदर्शन गरिएको हो।

सडक नाटकले बालविवाह र लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने असरलाई यथार्थपरक रूपमा प्रस्तुत गर्दै युवालाई जिम्मेवार, सचेत र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरेको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

नाटकमा बालविवाहले किशोर–किशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने दीर्घकालीन असर तथा लागूऔषध दुर्व्यसनले परिवार र समाजमा निम्त्याउने समस्या चित्रण गरिएको थियो। प्रस्तुतीमार्फत समयमै सचेत भए स्वस्थ र सुरक्षित समाज निर्माण गर्न सकिने सन्देश प्रवाह गरिएको थियो। धौलागिरि नाट्य समूहका सचिव अमित विश्वकर्माले कला समाज परिवर्तनको प्रभावकारी माध्यम भएको बताउँदै यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।


“सडक नाटक मनोरञ्जनको माध्यम मात्र होइन, समाजलाई सोच्न र बदलिन प्रेरित गर्ने सशक्त अभियान हो। ‘बिहानी’ मार्फत हामीले विशेषगरी युवालाई बालविवाह र दुर्व्यसनबाट टाढा रहन तथा उज्ज्वल भविष्यतर्फ अघि बढ्न आग्रह गरेका छौँ । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले यस्ता कार्यक्रमको आवश्यकता अझ पुष्टि गरेको छ,” विश्वकर्माले भने।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सामाजिक सुधारका अभियानमा समुदायको सहभागिता अपरिहार्य रहेको बताउनु भयो ।
“बालविवाह र दुर्व्यसनजस्ता सामाजिक विकृतिको अन्त्य कानुनले मात्र सम्भव हुँदैन, त्यसका लागि समुदायमा चेतना विस्तार हुनुपर्छ। ‘चेतना जगाऔँ, युवा बचाऔँ बालविवाह र दुर्व्यसन आजै हटाऔँ अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। यस्ता सिर्जनात्मक कार्यक्रमले विशेषगरी नयाँ पुस्तालाई सही बाटो रोज्न प्रेरणा दिने विश्वास लिएका छौँ,” शर्माले भन्नुभयो।

कार्यक्रममा ‘Say No to Drugs’ लगायतका सन्देशसहितको दृश्य प्रस्तुति र संवादले लागूऔषधविरुद्ध स्पष्ट जनचेतना फैलाएको थियो। सहभागीहरूले यस्ता कार्यक्रम विद्यालय र समुदायस्तरमा निरन्तर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। बेनी नगरपालिकाले सामाजिक रूपान्तरणका अभियानलाई प्राथमिकतामा राख्दै कला र संस्कृतिमार्फत जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमलाई आर्थिक सहयोग गरेको जनाएको छ। आयोजकका अनुसार सडक नाटक ‘बिहानी’ ले ‘चेतना जगाऔँ, युवा बचाऔँ; बालविवाह र दुर्व्यसन आजै हटाऔँ!’ भन्ने सन्देशलाई समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउन सफल भएको विश्वास लिइएको छ।

Leave a Comment