हरिकृष्ण गौतम
सडक भनेको सवारी साधनहरू, पैदल यात्रीहरूको आवागमनका लागि प्रयोग गरिने मार्ग हो । एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहजता मात्रै बनाउँदैन घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यताको समेत अन्त्य हुन्छ ।

सडकले वस्तु तथा सेवाको उत्पादन, ढुवानी तथा व्यापारमा ग्रामिण बस्ती र सहर जोड्ने गरेको छ । सहरबजारका सामान गाउँ पुग्ने र गाउँमा उत्पादन हुने कृषि तथा पशुजन्य बस्तुसहित अन्य उत्पादनलाई बिक्रीमा सहज नै सडकले बनाउँछ ।यातायातको पहुँचले ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ्य सेवा र अन्य नागरिकका आधारभुत सुविधाहरूमा पहुँच वढाएको छ । सडकलाई ग्रामिण क्षेत्रको विकासको मेरुदण्ड मानिन्छ ।

दैनिक जनजीवनसँग जोडिने पूर्वाधार भएकाले हरेक बस्तीका नागरिकले सडकको माग गर्नु र सरकारले समेत अन्य पूर्वाधरको तुलनामा पहिलो प्राथिमकतामा पर्नु स्वाभाविक नै हो । म्याग्दीको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिकाभित्र स्थानीय सरकार निर्माण भएपछि विकास निर्माणले गति लिएको छ । कुल क्षेत्रफल ५ सय ४६.४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गाउँपालिकाको ८ वटै वडालाई सडक सञ्जालले छोएको छ ।

शिखको चित्रे, गिबाङ, बोनपानी गाउँसहित पालिकाभित्र पातलो बस्तीलाई सडक सञ्जालले नछोएपनि सडक सञ्जालको पहुँचले अधिकांस स्थानीयको जीवनशैली नै फेरिएको छ । अन्नपूर्णमा पोखरेबगर–चित्रे सडकको १८.५६ किलोमिटर कालोपत्रे समेत भएको छ भने अन्य ग्रामिण सडक आवश्यकता अनुसार स्तरोन्नति गरिएको छ।

उत्तर–दक्षिण जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डमा पर्ने पोखरेबगरमा प्रशासनिक केन्द्र रहेको गाउँपालिकाको पहिलो प्राथमिकतामा सडक पूर्वाधार नै परेको छ। विकट बस्तीलाई सडक सञ्जालले जोडेर स्थानीयको दैनिक जीवनयापनलाई सहज बनाउने प्रयास भइरहेको छ । स्थानीय, प्रदेश र संघीय सरकारको लागत साझेदारीमा विस्तार भएका ग्रामिण सडकको स्तरोन्नतिका कार्यक्रमका साथै समुदायस्तरबाट माग भए अनुसार नयाँ ट्याक विस्तार गर्ने गरिएको छ।
पैदलयात्रा गर्नुपर्ने पर्यटकीयस्थल घोडेपानी, खोप्राखयर,अन्नपूर्ण बेसक्याम्पसहितका पर्यटकीयस्थल जोडन्े बस्तीसम्म सडक सञ्जाल पुगेको छ। कुल १२ हजार ३२३ जनसंख्या र ३ हजार ६ सय घरधुरीले नै सडक सञ्जालको प्रयोग गर्ने गरी पायक पर्ने स्थानसम्म सडक विस्तारले स्थानीय सरकारप्रति समुदायको अपनत्व बढेको छ ।

प्रतिबर्ग किलोमिटर २२ जनाको जनघनत्व रहेको गाउँपालिकामा बस्तीसम्म सडक सञ्जाल जोडिएपछि स्थानीयलाई आवत–जावतमा सहज मात्रै भएको छैन,स्थानीय उत्पादनलाई समेत बजारीकरण गरी आर्थिक उन्नतिका अभियानमा समेत सघाएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनको भनाई छ । ‘दिगो विकासको आधार नै सडक हो,स्थानीय सरकार आउनुभन्दा आघिका धुलाम्मे सडक अहिले सहजै यात्रा गर्न सकिन्छ,सिमित स्रोतसाधनबाट पनि सडकसहित पूर्वाधार क्षेत्रलाई नै प्राथमिकता दिइएको छ’अध्यक्ष पुनले भने ।

AI
सडक सञ्जाल नहुदाँ गाउँमा उत्पादन हुने सुन्तला, कृषिजन्य बस्तुको ढुवानीमा भरियाको प्रयोग गर्नुपर्ने बाध्यता थियो भने अहिले ग्रामीण क्षेत्रहरू स्थानीय उत्पादन लिन मालबाहक ट्रक नै पुग्ने गरेको देखिन्छ । सडक पुगेका ठाउँमा पुगेरका ट्र«कले सिजनमा रित्तै दौडिनुपर्ने बाध्यता हुदैन । अन्नपूर्ण गाउँपालिकाले वडा कार्यालयसम्मको सडकलाई बर्षेनी मर्मत तथा बस्तीसम्म पुग्ने गरी सहायक सडकमार्फत समुदायलाई विकासको अनुभूति गराउन सफल भएको छ ।
तत्कालिन जिल्ला विकास समितिमार्फत ट्र्याक खोलिएका गाउँपालिका भित्रका सडकसहित स्थानीय सरकारले बस्तीसम्म पु¥याएको सडकलाई हरेक बर्षमर्मतसहित स्तरोन्नति गर्ने गरिएको अध्यक्ष पुनको भनाई छ । सडक पूर्वाधार निर्माणमा गाउँपालिकाले ठूलो लगानी गरिएको छ । बस्तीपिच्छे सडक पुगेको अवस्थामा बर्खायममा बाढीपहिरोले भत्किने अवस्थामा मर्मसम्भारका लागि समेत कोष बनाइएको छ । गाउँपालिकाले सडकसँगै पूर्वाधार विकास कार्यक्रम अन्तरगत वडा कार्यालय, विद्यालय,स्वास्थ्य तथा सामाजिक संघंसंस्थाको भवनमा समेत बजेट विनियोजन गर्ने गरेको छ ।
प्रभा र पाउद्धार माविमा नयाँ भवन
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन निर्माण भएको छ । संघीय सरकारको ५ करोड अनुदानमा अन्नपूर्ण गाउँपालिकाले १६ कोठा भएको तीन तले भवननिर्माण गरेको छ। जयलक्ष्मी, अभिनव जेभीले ०८० सालमा तीन करोड ४८ लाख १८ हजार ९०७ मा ठेक्का सम्झौता गरी सम्पन्न गरेको छ । निर्धारित समय २०८२ पुस महिनाभित्रै भवन निर्माण सकेको गाउँपालिकाका सव ईन्जिनियर बालकृष्ण पौडेलले बताए । प्रभा माविमा सञ्चालित इलेक्ट्रिकल इन्जिनियरिङ विषयको पठनपाठनका नयाँ भवन निर्माण भएको हो । त्यस्तै अन्नपूर्ण–५, पाउद्धार माविमा समेत नयाँ भवन बनेको छ ।

३ करोड ६१ लाख ६३ हजार २८० मा २०८१ साल जेठ महिनामा सम्झौता भएकोमा हालसम्म जम्मा४४.३ प्रतिशत प्रगति रहेको छ । भूकम्पप्रतिरोधी क्षमताको भवनले पठनपाठन सहज हुने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए । उनले भौतिक संरचनाको मागसँगै स्थानीय लाभाविन्त जनसंख्याको आधारमा प्राथमिकता दिने गरेको बताए ।

स्थानीयबाट जग्गा खरिद, जग्गाको प्रक्रियामा भएको ढिलासुस्ती र कानुनी झमेलाका कारण भवन निर्माणको कार्यमा ढिलाई भएपनि विद्यालयको नयाँ भवन सम्पन्न भएपछि बालविकास सहितको पठनपाठन पूरानो भवनमा र बाँकी सबै पठनपाठन नयाँ भवनमा सञ्चालन गर्ने विद्यालयको तयारी छ । संघीय सरकारले शिषेष अनुदान शीर्षकमा बजेट विनियोजनले स्थानीयको लामो समयदेखिको प्रयास सफल भएको छ । गाउँपालिकाभित्र आमावि २५, मावि १० रहेकोमा नयाँ भवन प्रभा र पाउद्धार मावि रहेका छन् ।
सामुदायिक भवन निर्माण तथा मर्मत
अन्नपूर्ण गाउँपालिकाले चालु आव २०८२÷०८३ सालमा स्थानीय समुदायको सहजताका लागि सामुदायिक भवन, स्वास्थ्य चौकी, विद्यालय भवन निर्माणसँगै मर्मत तथा खेलकुद गतिविधिलाई सहज बनाउन स्टेज निर्माण गरेको छ । लामो समयदेखि जीर्ण बनेको भवनलाई मर्मत गरी बहुउपयोगी बनाउन गाउँपालिकाले हरेक वडाको प्राथमिकतामा रहेका योजनालाई कार्यान्वयन गरेको उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन् ।

गाउँपालिकाले स्थानीय पूर्वाधार अन्तरगत दोबा, दाना, शिख, पाउद्दार, घार र नारच्याङमा सामुदायिक भवन, विद्यालय र स्वास्थ्य चौकी निर्माण वा मर्मत गरेको छ। गत आवमा पूर्णता नभएकालाई स्रोत सूनिश्चितत गरेर चालु आवमा समेत काम गरिएको छ ।

गाउँपालिकाले दोवामा रहेको मणी बराही युवा क्लब स्टेज तथा भवन,माराका स्टेज तथा भवन,सर्वोदय मावि भुरुङ तातोपानीको भवन मर्मत, दाना तितरमा समुदायिक भवन निर्माण,शिख तल्लो गाउँ सामुदायिक भवन, पाउद्दार आमा समूह भवन,डाँडागाउँ आमा समूह भवन,तातोपानी कुण्डपाउद्धारमा वासस्थान निर्माण, सामुदायिक स्वास्थ्य इकाई पाउद्धारमा कोठा थप गरिएको छ । त्यसैगरी घारको स्वास्थ्य चौकी घारमा खोप केन्द्र र हल निर्माण, भुरुङ स्वास्थ्य चौकीमा भ्याक्सिन सब सेन्टरका लागि कोठा तयार गरिएको छ ।

घारको कोटघर आमा समूह भवन, मुक्तिनाथ आ विको कक्षाकोठा निर्माण, मुक्तिपथ आवि भवन निर्माण भुरुङ तातोपानीको मान्देढुंगा गाउँघर क्लिनिक कोठा निर्माण गरिएको छ । पोखरेबगर युवा क्लब कभर्ड हल निर्माण र घराम्दी आमा समूह र रिमा सामुदायिक भवन निर्माण गरिएको उपाध्यक्ष पुनको भनाई छ । वडास्तरमा भवन मर्मत तथा सम्भारमा प्राविधिकमार्फत समेत आवश्यकता अनुसार योजनामा काम भएको छ ।

गत आवको प्रगति
अन्नपूर्ण गाउँपालिकाले आव २०८१÷०८२ सालमा गाउँपालिकामा ७ हजार ४ सय ११ मिटर ट्याक खुलेको छ । एक हजार मिटर सडक स्तरोन्नति गरिएको छ भने ५ सय मिटर ग्रँभेल, १ हजार ७० मिटर ढुंगा सोलिङ, ६९.५० मिटर ढलान, बाढीपहिरोका कारण अवरुद्ध भएको सडकमा ६४. २३५ मिटर सरसफाई गरिएको छ भने ११ मिटरको नाली निर्माण र १ कल्भर्ट बनाइएको छ । ग्रामीण सडकमा डोजरकोसँगै स्थानीयको सीपलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरिएको गाउँपालिकाका ईन्जिनियर गोविन्द दोरंगाले बताए ।


वडा कार्यालयदेखि पार्क निर्माण, बजेट फ्रिज, योजना अलपत्र
चालु आर्थिक बर्ष २०८२÷०८३ बेनी–जोमसोम सडकखण्ड अन्तरगत अन्नपूर्ण–७ महभिरमा वडा कार्यालय भवन निर्माणधिन अवस्थामा छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले शिलान्यास गरेको भवन कुल १ करोड ४९ लाख ९१ हजार ४९९ रुपैयाँ लागत अनुमान गरिएको यस योजनाका लागि भण्डारी निर्माण सेवासँग १ करोड ८ लाख ८ हजार ९९२ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । १० कोठाको हुने भवनभूकम्प प्रतिरोधी र अपाङ्गमैत्री बनाइने छ ।

भवन निर्माणका लागि स्थानीय बासिन्दाहरूले करिब १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने ४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । भाडाको घरबाट सञ्चालन हुँदै आएको वडा कार्यालय सम्पन्न भएलगत्तै आफ्नै भवनबाट सेवा प्रवाह गर्नेछ । वडा कार्यालयमा प्रयाप्त पूर्वाधारले योजना तर्जुमा गर्न तथा सेवाग्राहीलाई सेवाप्रवाह गर्न, गुनासो सुनुवाइ गर्न आवश्यकता अनुसार पूर्वाधार समेत थप गरिएको छ ।

चालु आवमा दोवा अस्पताल जाने सडक स्तरोन्नती,हुमखोला झोलुङे पुल निर्माण, गण्डकी प्रदेश सरकार समपुरक अनुदानबाट घराम्दी खिवाङ सडक निर्माण,महभीर राम्जे, नागी मोटरबाटो स्तरीकरण, नाका आलडाँडा मोटरबाटो निर्माण, तातोपानी भुरुङ मोटरबाटो स्तरोन्नती, गण्डकी प्रदेशक समपुरक अनुदानबाट घराम्दी खिवाङ सडक निर्माण, पोखरेबगरदेखि चित्रेसम्म मोटरबाटो स्तरीकरण, घोरेपानी लालीगुँरास पार्कमा गेट निर्माण,शहिद स्मृति पार्क निर्माण,तल्लो घोरेपानी बसपार्क स्तरोन्नती गरिएको छ ।

चालु आव ०८२÷०८३ मा प्रशासनिक भवन,जग्गा प्राप्ती,फोहोरमैला संकलन केन्द्र निर्माण, नारच्याङ झरना ब्यवस्थापन तथा पूर्वाधार निर्माण, विपन्न परिवारका लागि निजी आपास मर्मत, एम्बुलेन्स खरिद, निजी जग्गामा रहेको सडकको लागत कट्टा अध्ययनका लागि परामर्श सेवा खरिद, डिजिटल प्रोफाइल निर्माण,अन्नपुर्ण आधार क्षेत्रमा सौर्यबत्ती जडान,भुरुङ तातोपानी कुण्ड पूर्वाधार निर्माणमा ५९ लाख, नारच्याङमा सामुदायिक भवनको २५ लाखको योजना कार्यान्वयन नभएको ईन्जिनियर दोरंगाले बताए । भाडाको भवनबाट सेवाप्रवाह गरिरहेको गाउँपालिकाले पायक पर्ने स्थानमा जग्गाको प्रक्रिया अगाडी बढाएपनि विभिन्न कारणले रोकिएको छ।

पाँचबर्षे कार्यकालको अन्तिम बर्षमा जग्गाको ब्यवस्थापन गरी शिलन्यास गर्ने सोच जनप्रतिनिधिले बनाएपनि हालसम्म प्रगति भएको छैन ।गाउँपालिकाका अध्यक्ष पुनसहित जनप्रतिनिधिले जग्गाको ब्यवस्थापन गरी भवन निर्माणलाई अगाडी बढाएर आफ्नो कार्यकालबाट विदाई लिने सोच बनाएपनि प्रक्रियागत झन्झट र जग्गाको अझै सुनिश्चितता भएको छैन ।

गाउँपालिकामका गण्डकी प्रदेश सरकारमार्फत पूर्वाधार कार्यालयले अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा स्थानीय यातायात पहुँच सुधार गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर–पालिका सडक संजालः अन्नपूर्ण–५घारखोला–नेपाने र रघुगंगा–१ को तिब्ल्याङ–बादुक सडक खण्ड स्तरोन्नति,अन्नपूर्ण–३ मा रहेको ज्ञानप्रकाश माध्यमिक विद्यालयदेखि कोट खलंगा हुँदै ठारा जाने बाटोको सुधारकार्य,अन्नपूर्ण–५ पाउद्वारदेखि कुरिलाबगर हुँदै वडा नं ६ घार बिरौंटा जोड्ने ’सहिद सुरेश शेरपुजा र चित्रे घोरेपानी सडक’ स्तरोन्नतिको काम भइरहेको छ
गुणस्तर नाप्न मेसिनको प्रयोग
अन्नपूर्ण गाउँपालिकामा निर्माण गरिने भौतिक पूर्वाधारहरुको गुणस्तर परिक्षणको लागि विभिन्न उपकरण प्रयोग गर्ने गरेको छ । गाउँपालिकामा निर्माण सकिएका र गुनासो आएलगत्तै कोर कटिङ मेसिनले सडकको ढलान, कालोपत्र तथा नालीमा परीक्षण, तौलका लागि वेइङ स्केल,भर्नियर क्यालिपर, कङ्क्रिट रिबाउन्ड ह्यामर, टेप,एब्नी लेभल,स्लम कोन, नाप्ने फिर्ता,लेभल मेसिन र थिओडोलाइट मेसिनको प्रयोग गर्ने गरिन्छ ।

पालिकासँग आफ्नै ल्याब नभएकाले थपपरीक्षण आवश्यक परेमा पोखरा पठाउने गरिएको इन्जिनियर दोरंगाले बताए । विकास निर्माणमा हुने कच्चा पदार्थको मात्रा पत्ता लगाएर यसको गुणस्तर नाप्ने गरिएको छ ।

कोर कटिङ मेसिन प्रयोग गर्न थालेपछि गाउँपालिकामा गुणस्त सडक बन्न थालेका छन् । गाउँपालिका उपाध्यक्ष पुनल निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी दिनुअघि स्टिमेट अनुसार काम भए÷नभएको जाँच्न कोर कटिङ मेसिन प्रयोग गर्ने गरिएको बताइन् ।कोर कटिङ मेसिनले ढलान गरिएका सडक स्टिमेट अनुसार भए÷नभएको र गुणस्तर मापन गर्छ । तत्कालै मापदण्ड अनुसार काम नभए भत्काएर पुनः निर्माण गर्ने गरिएको उपाध्यक्ष पुनको भनाई छ ।

वडामै योजना सम्झौता
गाउँपालिकाले योजनालाई तोकिएको समयमै सम्पन्न गर्ने गरी उपभोक्ता समितिलाई अभिमुखीकरणसहित वडामै पुगेर योजना तथा कार्यक्रम सम्झौता गर्ने गरेको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतसहितको टोली वडामै पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिलाई राहत हुने गरेको छ । केन्द्र आसपासमा पायक पर्ने स्थान बाहेक योजना सम्झौता गर्न उपभोक्तालाई गाउँपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य भएपछि उपभोक्ता समेत उत्साहित छन् । गाउँपालिकाले योजना सम्झौतासँगै वडा तहमै उपभोक्ता समितिको नाममा खाता खोल्न बैंकका कर्मचारीलाई समेत वडामै लैजाने गरेको छ ।

चालू आर्थिक वर्षमा दुर्गम क्षेत्रमा योजना सम्झौताका लागि वडामै पुगेको उपाध्यक्ष पुनको भनाई छ । वडामै पुगेर योजना सम्झौता गर्दा समुदायको आवश्यकता, योजनाको प्रभावकारीता तथा कुनै समस्या भएमा तत्काल सम्बोधन गर्ने गरिएको छ । वडामै उपभोक्ता समितिलाई दिइने तालिमले समेत गुणस्तर र कागजी प्रक्रियमा पटकपटक सास्ती खेप्नुपर्ने बाध्यता हटेको छ ।यस कार्यलाई आगामी आवमा समेत निरन्तरता दिइने छ ।
अन्नपूर्ण गाउँपालिकाको मिडिया फलोसिप लेखनको सहयोगमा बेनीअनलाइनका लागि तयार पारिएको सामाग्री










