म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय गन्तब्य बन्दै गएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित हुमखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको ५७ मिटर लामो झोलुङ्गे पुलबाट स्थानीयका साथै मौरिस हर्जोग पदमार्ग भ्रमणमा आउने पर्यटक लाभान्वित भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले नयाँ पुल निर्माण भएपछि काठको फल्याक राखिएको, हल्लिने पुलमा जोखिम मोलेर अन्नपूर्ण खोला वारपार गर्नुपर्ने समस्या अन्त्य भएको बताउनुभयो । पुलको उद्घाटन गदै. पुनले बेसक्याम्पसम्मको यात्रालाई थप सहज बनाउने गरी अन्य पृर्वाधार समेत थप्ने अभियानमा रहेको बताउनुभयो । यसअगाडी उक्त स्थानमा रहेको पुलमा एकैपटक दुईतिनजना यात्रा गर्न असहज हुने गरेको थियो। आलोपालो यात्रा गर्नुपर्ने बाध्यता हटेको पर्यटन अभियान्ता तेज गुरूङले बताउनुभयो।
सङ्घीय सरकारले रु १३ लाख ८२ हजार ७९५ ससर्त अनुदान र रु एक लाख ८९ हजार ६९३ बराबरको निर्माण सामग्रीसहित अन्नपूर्ण गाउँपालिकाले रु १३ लाख ७४ हजार ४०० अनुदान र उपभोक्ताले रु ७३ लाख ८८० बराबरको श्रमदान गरेका अन्नपूर्ण गाउँपालिकाका सबइञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिनुभयो ।

गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक र सामाजिक परिचालन सहयोगमा पुल निर्माण भएको हो । पदमार्गका अन्य ठाउँमा पनि झोलुङ्गे पुल बनाउन सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरिएको थियो । नारच्याङबाट दुई घण्टा सवारीमार्फत यात्रा गरेपछि पुगिने हुमखोलाबाट अन्नपूर्ण आधार शिविरको पदयात्रा सुरु हुन्छ । अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दूर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।

दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा समुन्द्री सतहबाट चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल नै पर्यटकको प्रमुख आर्कषण रहेको छ । बर्षेनी करिब ४० हजारभन्दा बढी पर्यटक पुग्ने अनुमान गरिएको अन्नपूर्ण क्षेत्रमा पूर्वाधारको अभाव रहेको छ ।












