म्याग्दीमा साविकको धौलागिरी भित्रका चार जिल्लाका शिक्षकलाई आयोजित ५ दिने खेल शिक्षक तालिम सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजना तथा गण्डकी प्रदेश खेलकुद परिषद्, पोखराको आर्थिक सहयोगमा सञ्चालित ५ दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासम्बन्धी खेल शिक्षक तालिम समापन भएको हो ।
विद्यालयका खेल शिक्षकको सहभागिता रहेको तालिमको प्रदेश खेलकुद सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गर्नुभएको थियो । असार ११ गतेदेखि सञ्चालन भएको उक्त तालिममा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टअन्तर्गत कराते, तेक्वान्दो र उसु गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश ६ विधाका खेलको सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको जिल्ला खेलकुद विकास समितिका सदस्य सोहन श्रेष्ठले बताए ।
तालिममा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङ जिल्लाका गरी ३० जना खेल शिक्षक सहभागी रहेका थिए। समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्षसुमन श्रेष्ठले तालिमबाट प्राप्त ज्ञान र सीप विद्यालय तथा समुदायमा प्रभावकारी रूपमा प्रयोग गरी खेलकुदको विकासमा योगदान पु¥याउन आग्रह गर्दै सफल कार्यान्वयनमा जोड दिए ।
तालिममा प्रयोगात्मक तथा अभ्यास गराइएको थियो । तालिम निकै फलदायी भएको खेल शिक्षकको भनाई छ । जिल्ला खेलकुद विकास समितिले ११ जिल्लाका खेलकुद विकास समितिका अध्यक्षको भेला, विद्यालयस्तरीय ब्याडमन्टिन खेल समेत सम्पन्न गरेको छ ।













