प्रतिभा फाउन्डेशन अन्तर्गतको प्रतिभा बिजनेस स्कूलले काठमाडौं विश्वविद्यालय अन्तर्गत स्नातक तहको चारवर्षे ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी (बिआइटी) कार्यक्रमको पढाई गर्ने भएको छ ।
आगामी अगस्ट इन्टेकदेखि कक्षा सुरु हुने गरी अनलाईन भर्नासमेत खुलेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्कुलका निर्देशक किरण सापकोटाले जनाए ।
स्कुलका अनुसार गण्डकी प्रदेशका विद्यार्थीलाई आफ्नै क्षेत्रमा बसेर अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि शिक्षा अध्ययन गर्ने अवसर उपलब्ध हुने छ ।
बिआइटी कार्यक्रमले कृत्रिम बौद्धिकता (एआई), डाटा साइन्स, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ, मोबाइल एप विकास, वेब टेक्नोलोजी, आईटी उद्यमशीलता लगायतका आधुनिक विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गर्ने स्कुलको भनाई छ ।
स्कुलले दक्ष प्राध्यापक, अत्याधुनिक कम्प्युटर प्रयोगशाला, डिजिटल शिक्षण वातावरण, परियोजनामूलक सिकाइ, उद्योगसँगको सहकार्य, अनुसन्धान तथा इन्टर्नशिपमार्फत विद्यार्थीलाई विश्व प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको जनाएको छ । स्कुलका प्राचार्य रविप्रसाद बरालले बीआइटी पूरा गरेपछि विद्यार्थीले सफ्टवेयर इन्जिनियर, फुल स्ट्याक डेभलपर, सिस्टम एनालिस्ट, नेटवर्क इन्जिनियर, साइबर सुरक्षा विश्लेषक, डाटा साइेन्टिस्ट, एआई इन्जिनियर, क्लाउड इन्जिनियर, आईटी कन्सल्टेन्ट लगायतका क्षेत्रमा नेपाल तथा विदेशमा रोजगारी र उद्यमशीलताका अवसर प्राप्त गर्न सक्ने बताए ।
कार्यक्रमको भर्ना प्रक्रिया काठमाडौं विश्वविद्यालयको मापदण्डअनुसार सञ्चालन हुनेछ । अनलाइन प्रवेश परीक्षा आवेदन फाराम जुन १९ देखि जुलाई ९ गतेसम्म खुला रहनेछ भने पहिलो सेमेस्टरमा ३० जना विद्यार्थी भर्ना गरिनेछ । भर्ना तथा सम्पूर्ण अध्ययन अवधिको कुल शुल्क ९ लाख ६० हजार रुपैयाँ तोकिएको छ, जसअन्तर्गत भर्ना हुँदा २५ प्रतिशत रकम बुझाउनुपर्ने हुन्छ ।
कार्यक्रमको शैक्षिक सुपरिवेक्षण तथा गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङले वहन गर्ने छ । प्रतिभा फाउन्डेशनका अध्यक्ष नारायण पौडेलले यस पहलबाट पोखरालाई सूचना प्रविधि शिक्षा, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न तथा गण्डकी प्रदेशबाट विश्वस्तरीय आईटी जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सरकारी सेवा, बैंकिङ, स्वास्थ्य, शिक्षा, पर्यटन, सञ्चार, उद्योग, ई( कमर्सदेखि अन्तर्राष्ट्रिय आउटसोर्सिङ बजारसम्म सूचना प्रविधिका दक्ष जनशक्तिको माग निरन्तर बढिरहेको र विद्यार्थीले पढ्दै कमाउँदै गर्न सक्ने क्षमता पनि यस कार्यक्रमले राख्ने उनले बताए ।
‘नेपाली युवा विश्वका प्रतिष्ठित कम्पनीहरूमा सफ्टवेयर विकास, डाटा विश्लेषण, साइबर सुरक्षा, कृत्रिम बौद्धिकता तथा डिजिटल सेवाका क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन्’ उनले भने, ‘यस सम्भावनालाई अझ व्यवस्थित, प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय सूचना प्रविधि शिक्षा अपरिहार्य भएकाले बिआइटी सञ्चालनमा ल्याउन लागेका हौ ।’















