पर्वतको कुश्मा नगरपालिका–५ स्थित बन्जी साइटको भिरबाट हाम फालेका एक व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ। बागलुङ नगरपालिका–१४ नारायणस्थान स्थायी घर भई हाल सोही स्थानमा बसोबास गर्दै आएका अन्दाजी ३३ वर्षीय दिपेन्द्र नेपालीले सोमबार साँझ करिब ९ बजे बन्जी साइटको भिरबाट हाम फाल्नुभएको थियो।
घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण, पर्वतबाट खटिएको टोलीले खोजी गरे पनि फेला पार्न सकेको थिएन। त्यसपछि मङ्गलबार बिहान विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित खटिएको सशस्त्र प्रहरीले बिहान करिब ७ः१५ बजे उहाँको शव फेला पारेको हो।
सशस्त्र प्रहरीको टोलीले रोप–रेस्क्यु विधिमार्फत करिब १३० मिटर तल रहेको भिरबाट झन्डै ३५ मिनेटको प्रयासपछि शव बाहिर निकालेको थियो। प्रारम्भिक जानकारीअनुसार सामान्य घरायसी विवादका कारण उहाँले भिरबाट हाम फालेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिनुभयो।
















