म्याग्दीको सदरमुकाम बेनीबजारमा विभिन्न कम्पनीको मुङ दालमा रंगको प्रयोग गरिएको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको टोलीले गरेको अनुगमनका क्रममा अधिकांस पसलमा मुङ दालमा बाह्य वस्तु (रंग) को अत्याधिक प्रयोग भएको हो ।
भेटिएको हो। बजार अनुगमनको क्रममा ६० किलोग्रामभन्दा बढी जफत गरी नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत सुमन लामिछानेले बताउनुभयो । ‘आर्कषक देखाउन पहेंलो रंग प्रयोग गरेको भेटियो, ल्याब परीक्षणका लागि लगेका छौ, आयातित दाल प्रयोग गर्दा सचेत हुन अनुरोध छ, रंग प्रयोग गरेको दाल हानिकारक हुन्छ’ अधिकृत लामिछानेले भन्नुभयो ।

अनुगमनको क्रममा खुद्रा र होलसेल बिक्रेताको पसलमा म्याद गुज्रिएका सामानसँगै प्रयोग गर्न मिल्ने मुङ दालमा अत्याधिक रंग भेटिएपछि जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइएको छ । बाह्य रंगको उपस्थिति भेटिएको मुङ दाल सहित अन्य आयातित दालहरुमा समेत मापदण्डअनुसार उपयुक्त नदेखिएको अनुगमन टोलीको भनाई छ ।
खाद्यान्न सामानमा मिसावटले पेट दुख्ने र पाचन प्रणालीमा समस्या आउने, रंगको प्रयोगले कलेजो (लिभर) र मिर्गौलामा नराम्रो असर पार्ने तथा लामो समयसम्म प्रयोग गर्दा क्यान्सर जस्ता गम्भीर रोगको जोखिम बढ्ने जानकारहरु बताउँछन् । सामान खरिद गर्ने क्रममा लेबल, म्याद र गुणस्तर हेरेर मात्रै प्रयोग गर्नखाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले अनुरोध गरेको छ । म्याग्दीको सदरमुकाम बेनी तथा ग्रामिण क्षेत्रमा अखाद्य बस्तु छ्यापछ्याप्ती भेटिने गरेको छ ।












