म्याग्दीमा शुक्रबारदेखि पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिसँगै पसलबाटै उपभोक्तालाई वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार भित्रिएको ग्यासलाई सम्बन्धित डिलरको समन्वयमा साविककै स्थानबाट ग्यास वितरण गर्ने तयारी थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बेनीअनलाइनलाई बताउनुभयो ।

बजारमा देखिएको ग्यासको अभावलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय तथा ब्यापारीलाई नाम टिपाएकाहरुलाई साविककै स्थानबाट वितरण गरिने सहमति भएको सहायक प्रजिअ आचार्यको भनाई छ । शुक्रबार १ सय ७७ थान ग्यास बेनीमा भित्रिएको छ । उपभोक्ताको गुनासो र बजारको वास्तविक अवस्था बुझ्न प्रशासनले स्थलगत अनुगमनलाई समेत तीव्रता दिएको छ । पुरानै स्थानबाट वितरण हुँदा उपभोक्तालाई समेत सजिलो हुने र बजारमा एकैजनाले धेरै लैजान नपाउने ब्यापारीको समेत भनाइ छ ।
अब लगातार जिल्लामा ग्यास भित्रिने भएकाले घरमा भएपनि लाइनमा बसेर कृतिम अभाव नबनाउन समेत उपभोक्तालाई अनुरोध गरिएको छ।बेनीमा ग्यासको अभाव भएपनि लाइन बसेर माग गर्नुपर्ने अवस्था भने नरहेको म्याग्दी उद्योग वाणिज्य संघका सचिव एवम् ग्यास वितरणका फोकलपर्सन मोतिलाल पौडेलको बताउनुभयो । एउटा ग्यास भएकाले अर्को खोज्ने र घरमा भएका सबै खाली सिलिन्डर भरेर राख्ने उपभोक्ताका कारण समेत समस्या भएको पौडेलको भनाई छ । अति समस्या भएकाहरुलाई सहजीकरण गरी वितरण समेत गरिएको छ ।












