कक्षाकोठा व्यवस्थापन, विद्यार्थीको सिकाईलाई प्रभावकारि बनाउने तरिका तथा विकसित प्रविधि अनुसार शिक्षण सिकाईलाई कसरी अघि बढाउने भन्ने विषयमा पछिल्लो समय अन्योल उत्पन्न हुँदै गएको छ। त्यही अन्योललाई चिर्न सकिने उपायबारे पोखरामा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाले गहन छलफल गरेका छन्।
काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशन र पोखराको प्रतिभा माविको आयोजनामा भएको छलफलमा पोखरा क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक सहित शिक्षा क्षेत्रमा सक्रिय पदाधिकारी सहभागि छन्। दुईदिनसम्म चल्ने छलफलले शिक्षण विधिलाई अगाडि बढाउने तरिकाबारे छलफल गर्नेछन। विद्यार्थीको क्षमता अनुसारको सिकाईलाई प्रभावकारी बनाउने तरिकाबारे छलफल गर्नेछन।
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक उक्त कार्यक्रमको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राडा बालचन्द्र लुइँटेल र प्रतिभा माविका संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए। कार्यक्रममा मुख्य वक्ताको रुपमा रहेका काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राडा. बालचन्द्र लुइँटेल मुख्य वक्तका रुपमा थिए।
कार्यक्रममा प्रतिभा माध्यमिक विद्यालयका प्राचार्य किरण सापकोटाले अहिलेको शिक्षा समय अनुसार परिवर्तन भएकोले हिजोको दिनको जस्तो नरहेको बताए। ‘समय परिवर्तन भएको छ, विद्यार्थी परिवर्तन भएका छन्, प्रविधि परिवर्तन छ, समाज परिवर्तन भएको छ, तसर्थ सिकाइका आवश्यकता पनि परिवर्तन भएका छन्,’ सापकोटाले भने, ‘एकजना शिक्षकले कक्षाकोठामा गरेको शिक्षण सिकाईको अभ्यासको अवधि लामो भएको छ, शिक्षकका ती अभ्यास उत्कृष्ट पनि होलान, तर, अब सुधार गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’
उनका अनुभवमा शिक्षण क्षेत्रमा वास्तविक अनुभव दुईवर्षको मात्र हुन्छ, त्यसपछिको समय निरन्तरता मात्र बन्ने गरेको छ। ‘हामीले आफूलाई समय अनुसार परिवर्तन गर्न सकेनौ भने दुईवर्षपछिको समय ‘अनुभवको निरन्तरता’ मात्र हो,’ उनले भने। एउटै कक्षाकोठामा फरक क्षमता, रुचि, सिकाइ, गति र पारिवारिक पृष्ठभूमिका विद्यार्थी हुने भएकाले विद्यार्थीलाई एउटै तरिकाले मात्र सिकाउन नहुने उनले बताए।
‘मलाई लागेको सबैभन्दा उत्तम तरिका यही नै हो भनेर त्यही तरिकाबाट सिकाउने अवस्था छैन,’ उनले भने, ‘प्रत्येक बालबालिकाले उनीहरुमा रहेको आफ्नो क्षमता र आवश्यकता अनुसार बुझ्न पाउनुपर्छ, सिक्न पाउनुपर्छ, त्यो सिकाइ माध्यम हामीले तयार गर्नुपर्छ।’ हरेक बालबालिकाले विद्यालयमा कक्षाकोठामा आफूलाई सुरक्षित, सम्मानित र स्वीकार गरिएको महसुस गर्ने ठाउँको रुपमा अनुभव गर्नुपर्ने उनले बताए। पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा जस्ता प्रविधिका कुराले शिक्षाको क्षेत्रमा नयाँ सम्भावना उजागर गरिरहेकोले ती प्रविधिलाई सिर्जनात्मक र जिम्मेवार ढंगले प्रस्तुत गर्नुपर्ने प्राचार्य सापकोटाको भनाई छ।
शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षण सिकाईका तरिका परिवर्तन गरेर विद्यार्थी सामु प्रस्तुत गर्न नसकेमा असफल शिक्षक बन्ने अवस्था सिर्जना भएको बताए। सरकारले थुप्रै तालिम सन्चालन गर्ने, संस्थागत विद्यालयले थुप्रै खालका यस्ता कार्यक्रम गरेको भएपनि तालिममा सिकेका कुरालाई कक्षाकोठामा प्रस्तुत हुन नसकेको उनले बताए। ‘शिक्षक उत्कृष्ट छन। तर, कक्षा कोठामा त्यो उत्कृष्टता छिर्न सकेन,’ उनले भने, ‘कम्तिमा सिकेका सिकाइलाई कक्षाकोठामा प्रस्तुत गरिदिने हो भने त्यसले नयाँ ज्ञान दिलाउनेछ।’
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राडा. बालचन्द्र लुइँटेलले पछिल्लो समय बालबालिका समुदायसँग भिज्नै नपाएको बताए। अझ पछिल्लो समय त बौद्धिक तह नै कमजोर बन्दै गएको उनले बताए। ‘हामी अहिले अत्यन्तै अनिश्चित समयबाट गुज्रिरहेका छौं। विश्वका विभिन्न ठाउँमा भइरहेका राजनीतिक, सामाजिक, आर्थिक र वातावरणीय परिवर्तनले भोलि कहाँ के हुन्छ भन्ने अनुमान गर्नसमेत कठिन बनाएको छ,’ उनले भने, ‘अबको शिक्षालाई पनि यही बदलिँदो सन्दर्भबाट हेर्नुपर्ने आवश्यकता छ।’
यस्तो अवस्थामा शिक्षा प्रणालीको उद्देश्य केवल ज्ञान हस्तान्तरण गर्नु मात्र नभई शिक्षाले ज्ञानसँगै सीप, कल्पनाशक्ति, आलोचनात्मक सोच, समस्या समाधान गर्ने क्षमता र नागरिक चेतना विकास गर्नुपर्ने उनले बताए। ‘अबको संसारले केवल एउटा जागिरका लागि तयार भएको जनशक्ति होइन, परिवर्तनसँगै आफूलाई रुपान्तरण गर्न सक्ने मानिस पनि खोजिरहेको छ,’ उनले भने।
विद्यालयले एक्लै सीप विकास गर्न नसक्ने उनले बताए। त्यसका लागि परिवार, समुदाय, उद्योग, विश्वविद्यालय, स्थानीय सरकार, पुस्तकालय र विभिन्न सामाजिक संस्थाबीचको सहकार्य आवश्यक रहेको उनले बताए। ‘हामीले विद्यालयलाई कक्षाकोठामा मात्र राखेर सीप सिकाउने प्रयास गर्नुहुँदैन। विद्यालय र समुदायबीच बलियो सम्बन्ध आवश्यक छ। त्यसका लागि समुदाय, पुस्तकाल, सार्वजनिक पुस्तकालय, प्रयोगशाला, सीप विकास केन्द्रमा पुग्नेगरि अवसर निर्माण गर्नुपर्छ,’ उनले भने।
अहिलेको शिक्षा प्रणालिबारे उनले प्रश्न पनि उठाए। ‘हामी विद्यार्थीलाई भविष्यका लागि तयार गर्दैछौं कि केवल परीक्षाका लागि?’ उनको प्रश्न थियो। शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम बन्यो भने ज्ञान त दिन सकिन्छ, तर जीवनका जटिल समस्या समाधान गर्न सक्ने नागरिक बनाउन नसक्ने उनले बताए।
प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले शिक्षालाई अझ गुणस्तरीय, समयसापेक्ष र जीवनोपयोगी कसरी बनाउने भन्ने विषयमा सामूहिक रुपमा सोच्ने, सिक्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रयास गरेको बताए। शिक्षालाई कक्षाकोठाभित्र मात्र शिक्षकले विद्यार्थीलाई पढाउने विषयका रुपमा मात्र बुझ्न नहुने उनले बताए।
‘शिक्षा भनेको भावी पुस्ता कस्तो बनाउने, उनीहरुमा कस्तो सोच, सीप, संस्कार र दृष्टिकोण दिने भन्ने व्यापक विषय बनेको छ,’ उनले भने, ‘शिक्षालाई सुधार गर्न यस्ता छलफल हुनुपर्छ। सुधार केवल सोचाइबाट सम्भव हुँदैन। सिकेका कुरालाई व्यवहारमा लागु गर्न सके मात्र त्यसको वास्तविक अर्थ हुन्छ।’ nagariknews.com













