म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका रविन विक विगत डेढ दशकदेखि काठ कुँदेर परम्परागत सामग्री बनाउँदै आउनुभएको छ। जंगलमा पाइने गिठेदार काठबाट विभिन्न कलात्मक सामग्री उत्पादन गरेर बिक्री गर्ने उहाँलाई पछिल्लो समय भ्याइनभ्याई छ।
प्लास्टिकजन्य भाँडाकुँडाको बढ्दो प्रयोगका कारण पुर्ख्यौली पेसा नै लोप हुने अवस्थामा पुगेपछि विकले यसलाई व्यावसायिक रूपमा अघि बढाउनुभएको हो। उहाँले उत्पादन गरेका काठका सामग्री अहिले स्वदेशका विभिन्न ठाउँसँगै विदेशसम्म पनि पुग्ने गरेका छन्।
बेनी नगरपालिका–७ मंगलाघाटमा उद्योग स्थापना गरेर विकले सहरी तथा ग्रामीण क्षेत्रमा प्रयोग हुने काठका सामग्री उत्पादन गर्दै आउनुभएको छ। पछिल्लो समय बजार क्षेत्रमा बस्ने उपभोक्ताले समेत साना आकारका दही जमाउने काठका ठेकी माग गर्न थालेपछि उहाँ थप उत्साहित हुनुभएको छ।
‘दही जमाउने काठको ठेकी विदेशमा पनि पठाएको छु। प्लास्टिक तथा स्टिलका भाँडाको प्रयोगले चुनौती भए पनि यही व्यवसायबाट सफल हुन संघर्षरत छु,’ विकले भन्नुभयो।
उहाँका अनुसार काठको ठेकी वर्षौँसम्म टिकाउ हुन्छ। ठेकीमा दही जमाउन र मोही पार्न सहज हुनुका साथै स्वादसमेत राम्रो हुने भएकाले यसको माग अझै रहेको उहाँको अनुभव छ।
ग्रामीण क्षेत्रबाट गिठेदार काठ खरिद गरी बेनीमा ल्याएर ग्राहकको मागअनुसार विभिन्न सामग्री बनाउने गरेको विकले बताउनुभयो। उहाँले पुचै आरी, माना–पाथी, तुम्बा, थाल, कचौरा, गिलास, खुर्पेटालगायत सामग्री बनाउँदै आउनुभएको छ।
घरबाट बिक्री नभएका सामग्रीलाई मेला–पर्व, सहरबजार तथा ग्रामीण क्षेत्रमा लगेर बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार न्यूनतम २ सय रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका काठका सामग्री उत्पादन हुँदै आएका छन्।
पछिल्लो समय युवा पुस्ता पुर्ख्यौली पेसा छाडेर वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका बेला आफूले भने आधुनिक प्रविधिको प्रयोग गर्दै पुर्ख्यौली पेसालाई निरन्तरता दिएको विकले बताउनुभयो।
बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले युवा व्यवसायीलाई प्रोत्साहन गर्न सामग्री खरिददेखि बिक्री र प्रविधि हस्तान्तरणसम्म सहयोग गर्ने बताउनुभयो।
म्याग्दीमा विगतमा सञ्चालनमा रहेका कतिपय घरेलु उद्योग उत्पादन भएका सामग्री बिक्री नहुँदा बन्द हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ। अनुदान, तालिम तथा उत्पादित सामग्रीको बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्न सके नयाँ पुस्तालाई समेत पुर्ख्यौली सीप र पेसातर्फ आकर्षित गर्न सकिने काठका सामग्री बनाउने कालिगढहरू बताउँछन्।
ध्रुवसागर शर्मा












