---Advertisement---

उपहार र चिट्ठाको लोभमा म्याग्देलीको झण्डै ९० लाख स्वाहा !

On: September 5, 2026 9:51 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–९ की एक महिलाले विदेशबाट आर्कषक उपहार तथा डलर उपहारको प्रलोभनमा सात लाख ४८ हजार गुमाउनुभयो । विदेशबाट सामान पठाएपछि भन्सार शुल्क भन्दै पटक–पटक गरी पैसा पठाएपनि अहिलेसम्म फिर्ता भएको छैन ।

मालिका गाउँपालिका–४,महवीरकी महिलाले फेसबुकबाट भएको कुराकानीको आधारमा आर्कषक लट्री परेको म्यासेज आएपछि ६ लाख ६६ हजार रुपैयाँ पठाउनुभयो । अपरिचित व्यक्तिले कल्पनै नगरेका कुरा सुनाउँदा सापटी समेत खोजेर सुटुक्क पैसा पठाएको उहाँले हिमालय टाइम्ससँग बताउनुभयो । पटक–पटक फोन गर्ने ब्यक्ति एक्कासी सम्पर्कविहिन भएपछि मात्रै आफू ठगिएको भन्दै ती महिलाले प्रहरीलाई निवेदन दिनुभयो ।

चालु आर्थिक बर्ष २०८३/०८४ सालमा म्याग्दीमा अनलाइनको माध्यमबाट ठगिएको रकम फिर्ता गरी ठग्ने व्यक्तिलाई कारबाही गरी पाउँ भन्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ७ जना पीडितले ५ लाख १२ हजार १६० रुपैयाँ बराबरको उजुरी दिएका छन् । गत आव २०८२/०८३ सालमा समाजिक सञ्जाल ठगी, बैङ्किङ ठगी, अनलाइन सपिङ तथा पेमेन्ट, चिट्ठा, स्क्याम, विभिन्न अनलाइन गेममा ठगिएका ८४ जनाले ८४ लाख ३५ हजार ५१० रुपैयाँ गुमाएको प्रहरीको अभिलेखमा छ । त्यस्तै आव २०८१/०८२ मा ३४ जनाले डिजिटल ठगीको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो ।

‘डिजिटल माध्यमबाट ठगिनेको संख्या ग्रामिण क्षेत्रमा अधिक देखिन्छ, अधिकांस शिक्षित नै प्रलोभनमा फसेको देखिन्छ’प्रहरी निरीक्षक तिमिल्सिनाले भन्नुभयो । गत आवमा उजुरीको आधारमा अनुसन्धान तथा कारबाही पश्चात ठगिएको १२ लाख ३५ हजार ७२० रुपैयाँ फिर्ता गरिसकेको र थप अनुसन्धान जारी रहेको तिमिल्सिनाको भनाई छ । समाजिक सञ्जालसँगै विभिन्न माध्यमबाट चिट्ठा परेको भन्दै ठगिने धेरै छन् भने फेसबुक एकाउण्ड ह्याक, अनलाइनबाट सामान खरिद, माकेर्टिङ, सपिङ,वैदेशिक रोजगारी, चिठ्ठा प्राप्त भएको, ओटीपी कोडको प्रयोग गरी खाता रित्तै बनाइदिएको जस्ता प्रहरीमा उजुरी दर्ता छन् । जिल्लामा अनलाइन ठगीमा संलग्नको निशानामा ब्यक्तिसँगै संस्थाहरूपनि परेको देखिन्छ । ठगीमा संलग्नले एउटा बैंकबाट पैसा निकालेर अन्य बैंकमा ट्रान्सफर गर्ने गरेकाले अनुसन्धान जटिल बन्ने गरेको छ ।

व्यक्तिगत रूपमा ठगिएका धेरैले परिवारका सदस्यहरूबाट गाली खाने र समाजले थाहा पाउने भन्दै लुकाउने गरेकाले म्याग्दीमा डिजिटल माध्यमबाट ठगिनेको संख्या अधिक रहेको अनुमान प्रहरीले गरेको छ । केही पीडितले मोवाइल एप प्रयोग नगरेको र चेकबाट मात्रै कारोबार गर्दै आए पनि कोडबाटै खाताको पैसा निकालेको गुनासो गरेका छन् । ‘मेरो मोवाइल एक्कासी बन्द भयो, लामो समयपछि खुलेपछि हेर्दा खाताको ३ लाख गायब थियो’ एक पीडितले भन्नुभयो । पछिल्लो समय मोवाइल नै ह्याक गरेर समेत खाताबाट पैसा चोरी हुने गरेको उजुरी समेत आउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीमा फेसबुक, भाइबर तथा ह्वाट्सएप, म्यासेन्जरबाट विभिन्न बहाना देखाएर रकम ठगी गर्ने मात्र नभई सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग साथी बन्ने र कुराकानी गर्दा नग्न र अश्लील तस्बिर तयार गरी रकम असुली गर्ने क्रम बढेको भएपनि समाजमा बदनाम हुने डरले गुपचुप राख्ने गरेको गुनासो समेत भेटिन्छ ।

सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग साथी नबन्न र उनीहरूबाट आएका जुनसुकै सन्देशलाई भेरिफाइ नहुन्जेल कुनै पनि कारोबार र विवरण आदानप्रदान नगर्न प्रहरीले अनुरोध गरेको छ । बैंकर्स क्लव म्याग्दीका अध्यक्ष नारायण सापकोटाले डिजिटल ठगीबाट जोगिन सबैभन्दा पहिला प्रयोगकर्ता नै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले बैंकले ब्यक्तिगत रुपमा फोन गरेर ओटीपी कोड नमाग्ने, तत्काल शंका लागेमा आधिकारिक नम्बरमै फोन गनुपर्ने बताए । खाता ह्याक गरेर रकम झिकिएको गुनासो बैंकमा आउने गरेकोमा प्रक्रियागत रुपमा सहयोग गर्ने गरेपनि म्याग्दीका वित्तिय संस्थाका प्रतिनिधिले ग्राहक सचेत भएमा ठगिनबाट जोगिने जानकारी दिनुभयो ।

फोन, सामाजिक सञ्जालबाट मागेकै आधारमा मोबाइल एप्सको लगइन र पासवर्ड, खाता नम्बर, ओटीपी कोड लगायतका कुनै पनि बैंकसम्बन्धी विवरण नदिन समेत बैंकर्स क्लव म्याग्दीले अनुरोध गरेको छ । सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग साथी नबन्न र उनीहरूबाट आएका जुनसुकै सन्देशलाई भेरिफाइ नहुन्जेल कुनै पनि कारोबार र विवरण आदानप्रदान नगरेमा ठगीबाट जोगिन सकिन्छ । सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म चिट्ठा परेको भन्दै मोबाइल वालेटको ओटीपी (वान टाइम पासवर्ड) मागेर ठगी गर्ने गुनासोको आधारमा विभिन्न सचेतनामुलक अभियान सञ्चालन गरेपनि थोरै लगानीमा धेरै पैसा कमाउने सपना देखेर ठगिने क्रम रोकिएको छैन ।

सापटी लिएको पैसा गुमेपछि…

लट्रीको लोभमा परेकी अन्नपूर्ण गाउँपालिका–३, दानाकी एक महिलाले सापटी लिएर पठाएको १ लाख ८९ हजार गुमाउनुभयो । करिब २५ लाख रुपैयाँ चिठ्ठामा परेको सन्देश आएपछि खुसी भएर आफन्तलाई मागेको पैसा गुमेपछि अहिले तनावमा हुनुहुन्छ । ह्वाट्सएपमा लट्री अर्थात् चिठ्ठा पर्यो भन्दै हिन्दी भाषामा फोन र म्यासेजमा ३० लाखसम्म चिठ्ठा परेको भन्दै बधाई दिए । मख्ख पर्दै उहाँले आफ्नो साथमा रहेको ५० हजार बाहेक आफन्तलाई सापटी मागेर पैसा पठाउनुभयो ।

चिठ्ठा परेको भन्दै विभिन्न डकुमेन्ट देखाउने, अरूलाई चिठ्ठाको पैसा दिएको तस्बिर देखाउने गरेपछि विश्वासमा उहाँले पैसा पठाउनुभएको थियो । अहिले पैसा गुमेको छ । म्याग्दीमा लट्री परेको बहानामा सर्वसाधारण मात्रै नभई शिक्षक, कर्मचारी तथा सामाजिक संघसंस्थामा सक्रिय पनि ठगिएको पाइएको छ । ठगिनेमा सामाजिक सञ्जालको नियमित प्रयोगकर्ता धेरै छन् । पछिल्लो समय भने विदेशी नागरिकको नामबाट फेसबुकमा साथी हुने, बोल्दै जाँदा बिहे गरेर विदेश लाने भन्ने र त्यसपछि उपहार पठाएको छु भन्दै उक्त उपहारलाई नेपाल प्रवेश गराउन भन्सारबापत् रकम चाहिने भनी रकम पठाउन लगाएर ठगी गर्ने नयाँ शैली ठगहरूबाट म्याग्दीकी एक स्वास्थ्यकर्मीले समेत ठूलो नोक्सानी भोग्नुभएको थियो । लट्रीको लोभमा परेर ठगिने गरेको घटनाहरू आइरहेको अवस्थामा पनि शिक्षित नै ठगिनु लापरवाही भएको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुबेदीले बताउनुभयो । ‘अहिलेसम्मको ट्रेन्ड हेर्दा लोभ गर्ने मानिसहरू ठगिएको देखिन्छ, अपरिचित ब्यक्तिको लोभ नै ठगिने सुरुवात हो, आफै नजिककाले समेत सामाजिक सञ्जालबाट पैसा मागेमा सचेत हुनुपर्छ’ क्याम्पस प्रमुख सुबेदीले भन्नुभयो । कसैले चिठ्ठा परेको खबर पठाए तत्काल सामाजिक सञ्जालमै सार्वजनिक गर्न वा प्रहरीलाई खबर गरेमा ठगिनबाट बच्न सकिन्छ ।

Leave a Comment