नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले सुरु गरेको राहत संकलन अभियानमा मोना कतारले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । मोना अन्तर्राष्ट्रियको अभियानमा विश्वभर रहेका दुई दर्जनभन्दा बढी मोना संस्थाहरू तथा विभिन्न देशमा रहेका नेपालीहरूले समेत सहयोग गरिरहेका छन् ।
मोना कतारका अध्यक्ष बाबुराम भण्डारीका अनुसार संस्थाको हालै सम्पन्न १९औं मासिक बैठकको निर्णयअनुसार मोना अन्तर्राष्ट्रिय कार्यसमितिमार्फत सञ्चालन भइरहेको राहत संकलन अभियानमा ५० हजार रुपैयाँ सहयोग गरिएको हो ।
मोना कतारले स्थापनाकालदेखि नै कतारमा रहेका नेपाली समुदायसँगै नेपालका विभिन्न विपद् तथा सामाजिक समस्यामा सहयोग गर्दै आएको छ । पछिल्लो समय नेपालमा आएको बाढी पहिरोका कारण ठुलो जनधनको क्षति भएपछि मोना अन्तर्राष्ट्रियले राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग जुटाउने अभियान अघि बढाएको हो ।
मोना अन्तर्राष्ट्रियले विश्वभरका मोना तथा नेपाली समुदायबाट विभिन्न माध्यममार्फत आर्थिक सहयोग संकलन गरिरहेको जनाएको छ । अभियानबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढी पहिरो प्रभावितको राहत तथा पुनस्र्थापनामा उपयोग गरिने जनाइएको छ । राहत संकलन अभियान अहिले पनि जारी रहेको छ ।
मोना कतारले नेपालमा परेको विपत्तिको यस कठिन घडीमा कतारमा रहेका सम्पूर्ण म्याग्देली तथा नेपाली समुदायलाई आफ्नो क्षमताअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा मोना अन्तर्राष्ट्रियले सञ्चालन गरिरहेको राहत अभियानमा जोडिएर सहयोग गर्न आह्वान गरेको छ ।
मोना कतारले विपत्तिको समयमा आर्थिक सहयोग मात्र नभई मानवीय एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ ।














