---Advertisement---

म्याग्दीमा राति १० बजेपछि देउसी-भैलो खेल्न रोक, जबरजस्ती चन्दा असुल्न नपाइने

On: November 6, 2026 10:04 PM
Follow Us:

म्याग्दीमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार तिहार पर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन देउसी–भैलोसहितका सांस्कृतिक कार्यक्रम सञ्चालनमा ११ बुँदे सुरक्षा निर्देशन जारी देउसी–भैलोमा सहभागी हुनेले मादक पदार्थ सेवनमा रोक लगाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यद्धारा जारी सन्देशमा कुनै पनि घर, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा देउसी–भैलो खेल्न जानुअघि सम्बन्धित घरधनी वा सञ्चालकको पूर्वस्वीकृति लिनुपर्ने नियम बनाइएको छ । ठूलो आवाजमा माइक तथा लाउडस्पिकर प्रयोग गरी ध्वनि प्रदूषण गर्न, सडक तथा सार्वजनिक स्थानमा सवारी आवागमन र पैदलयात्रीलाई अवरोध पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न पनि रोक लगाइएको सहायक प्रजिअ आचार्यले बताए ।


देउसी भैलोमा तोकेरै पैसा असुल्ने गतिविधिलाई रोक्न आफ्नो इच्छा अनुसार दान दिनुहोला,कसैको इच्छा विपरित र समाजमा असोभनीय कार्य गरेको पाइएमा कानुनी कारवाही हुन्छ’ सहायक प्रजिअ आचार्यले भने । तिहारमा प्रयोग हुने भुइँचम्पा, आतिशबाजी, रकेट, पटाका लगायतका विस्फोटक पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण र भण्डारणमा समेत पूर्ण प्रतिबन्ध लगाइएको छ ।

बालबालिकालाई जोखिमपूर्ण गतिविधिमा संलग्न नगराउन र उनीहरूको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ ।जातजाति, धर्म, भाषा, संस्कृति तथा समुदायबीच घृणा, द्वेष र अपमान फैलाउने गीत, नारा तथा गतिविधि गर्न नपाइने सूचनामा उल्लेख छ ।


देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने समूह, क्लब तथा संघसंस्थाले आवश्यकताअनुसार स्थानीय तह र नेपाल प्रहरीसँग समन्वय गर्नुपर्नेछ । कुनै विवाद, आगलागी वा शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ ।

यसैगरी, तिहारको अवसरमा जुवा, तास, कौडा लगायतका जुआजन्य गतिविधि खेल्ने, खेलाउने वा सहभागी हुने कार्य नगर्न निर्देशन दिइएको छ ।जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनविपरीत गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ । प्रशासनले तिहारलाई आपसी सद्भाव, भाइचारा र उल्लासपूर्ण वातावरणमा मनाउन सम्पूर्ण जिल्लावासी तथा सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ ।

Leave a Comment